लोपोन्मुख किसान जातिलाई संस्कार हराउने पिरलो

झारफुक गर्दा काँसको थालमा थोरै अक्षता (चामल), मृगको सिङ, स्यालको पुच्छर र हनुमाने ढ्याक हुनैपर्छ । जोगीसँग भएको हनुमानको तस्बिर अंकित ढ्याकमा श्री श्री १००८ लेखिएको छ । यदाकदा मात्रै पाइने यो निकै पुरानो र दुर्लभ ढ्याक हो । यसले पनि किसान जातिमा झारफुक पुरानो उपचार पद्धति भएको पुष्टि हुन्छ

झापा मेचीनगरका जोगी किसानलाई यतिबेला कुनै चिन्ता छ भने त्यो हो— गुडी लोप हुने चिन्ता । उनलाई ‘देउठन’ लोप हुने चिन्ताले पनि त्यत्तिकै पिरोल्छ । धामी सिक्ने ठाउँलाई किसान भाषामा गुडी र देउताको थानलाई देउठन भनिन्छ । देउठनलाई उनीहरू पर्वका रूपमा पनि लिन्छन् । देउठन बडे र छोटे २ प्रकारका हुन्छन् । किसान भाषा, धर्म–संस्कारका जानकार भीम किसानले रहस्य खोले, ‘हाम्रो संस्कार, संस्कृतिअनुसार देउठन पर्व पनि हो ।’ गुडी र देउठन लोप हुँदै गएको सुनाउँदै भीमले भने, ‘बडे देउठन लोप भइसक्यो, छोटे देउठन मात्रै बाँकी छ ।’ धामी तन्त्रमन्त्र सिकाउने–सिक्ने ठुलो स्थान देउठन हो । गुडी भने मन्दिरजस्तो सानो ठाउँ हो ।

धामीलाई किसान भाषामा देवइर भनिन्छ । धामी पेसामा दशक लामो अनुभव भएका जोगीले धेरैलाई झारफुक (फुकफाक) गरेका छन् । कति जाती भए, जाती नभएका अस्पताल गए । मेचीनगर नगरपालिका–९ मागुरमाडीका ७६ वर्षीय जोगीले भने, ‘ १० वर्षअघि हामी १० जना धामी थियौँ, अहिले ५ जना मात्रै छौँ ।’ देउठन लोप भइसकेको छ । गुडी थोरै संख्यामा छन् । सोही कारण धामीको संख्या पनि ह्वात्तै घटेको हो । सँगै देउठन पर्व पनि लोप भएको हो ।


धामीको फुकफाक गर्ने विधि हुन्छ । विधिअनुसार फुकफाक गर्दा निको नभए उनीहरू बिरामीलाई तत्काल अस्पताल जान सुझाउँछन् । किसान समुदायको धारणा अन्य जातिको भन्दा फरक छ । झारफुक नगरी उनीहरू अस्पताल नै जाँदैनन् । समय बदलिएको छ । धामी मात्र होइन, झारफुकमा विश्वास गर्ने संख्या पनि क्रमश घट्दो छ । फुकफाक किसान जातिको संस्कारजस्तै थियोे । आधुनिक चिकित्सा पद्धतिको विकास र विस्तार भएपछि यो पेसा ओझेलमा परेको छ ।

किसान समुदायकै युवा पुस्ताले यसलाई खासै रुचाउँदैनन् । नरुचाउनुको कारण अविश्वास भन्दा पनि व्यक्तिगत बानी हो । देवइर पेसामा जाँडरक्सी बर्जित हुन्छ । तर, किसान समुदायका अधिकांश पुरुष युवाले जाँडरक्सी सेवन गर्छन् । ‘देवइरले जाँडरक्सी खान नहुने भएकाले युवा पुस्ताको यसमा चासो नै छैन,’ जोगीले तथ्य खोले । देउठन नहुँदा धामी विद्या सिकाउन नसकिएको उनले बताए । ‘केही युवाले सिक्छु भनेका थिए, ठाउँ नहुँदा सिकाउन सकिएन,’ जोगीले भने, ‘कम्तीमा १२ जनालाई एकसाथ सिकाउनुपर्छ, उनीहरू अट्ने ठाउँ नै छैन ।’

जोगी किसान सो समुदायका चल्तीका देवइर हुन् । उनको घरआँगनमा गुडी छ । सिमेन्ट निर्मित सानो पक्की संरचनाको माथिल्लो भागमा देवताको आकृति कुँदिएको शिला राखिएको छ । शिलाको बीचमा रुद्राक्षको मालाको फन्को छ । साथमा देवदेवी अंकित धातुको प्रतिमा राखिएको छ । त्यसमा महादेव, पार्वतीको तस्बिर छ । जोगीले सो गुडीमा प्रत्येक शनिबार पूजा गर्छन् । भ्याउँदा मंगलबार पनि पूजा गर्ने गरेको उनले सुनाए । पूजा गर्न नुहाइधुवाइ र चोखोनितो हुनुपर्ने नियम नै हो । पूजाको पहिरन पनि फरक हुन्छ । पूजा गर्दा उनले लाउने धोती पहेँलो र कमिज सेतो छ । पूजाका लागि सोही पहिरन निर्धारण गरिएको उनले सुनाए ।

झारफुक गर्ने विधि पनि फरक छ । काँसको थालमा थोरै अक्षता (चामल), मृगको सिङ, स्यालको पुच्छर र हनुमाने ढ्याक हुनैपर्छ । जोगीसँग भएको हनुमानको तस्बिर अंकित ढ्याकमा श्री श्री १००८ लेखिएको छ । यदाकदा मात्रै पाइने यो निकै पुरानो र दुर्लभ ढ्याक हो । यसले पनि किसान जातिमा झारफुक पुरानो उपचार पद्धति भएको पुष्टि हुन्छ । आफ्नो जातिको पहिचान बोकेको गुडी, देउठन लोप हुँदै गएको र युवा पुस्ताले धामी तन्त्रमन्त्र सिक्न नमानेकामा उनी औधी दुःखी छन् । धामी नसिकेकैले गुडी र देउठन मासिएको उनको ठम्याइ छ ।

अन्य धामीझाँक्रीको भन्दा झारफुक गर्ने मन्त्र पनि बेग्लै छ । टागिनाथ, गाजीसिक्रिया, पश्चिमा देवी, बुढीमाई, सम्लैमाई, हिम्लाज, दशबुजी, कालीमाई, देवीदुर्गा नाम पुकारेर फुक्ने गरिन्छ । उनले भने, ‘बिमार चिनेर फुक्ने गर्छौं, बतासबाट सर्ने रोग र घाउखटिरा आउने रोग नचिने फुक्दैनौँ ।’ देवीदेउतालाई पुकारेर बिरामीलाई झारफुक गर्ने गरेको उनले बताए । देवीदेउता पुकारेपछि रोग निको हुने जनविश्वास छ । विगतको कोरोना महामारीलाई उनले बतास (हावा) बाट सर्ने रोग भएको बताए । सामान्य लेखपढसम्म नगरेका उनलाई देवीदेउता र विभिन्न खोलानदीको नाम फरर आउँछ । यसलाई उनले देवीदेउताबाट प्राप्त शक्तिका रूपमा अथ्र्याए ।

अहिले जोगीबाहेक पुसा, कदुँवा, कहरू र सुन्दरलाल किसान धामी पेसा गर्छन् । जोगी किसान समुदायकै मुख्य धामी हुन् । उनीहरूले नै सो समुदायको संस्कार धानेका छन् । भदौ महिनाको शुक्लपक्षको एकादशीमा उनीहरू धुमधामले पूजा गर्छन् । त्यसलाई उनीहरू उपास भन्छन् । सो पूजामा नरिवल, पान–सुपारी, कोला (केरा), तरुल, सुठुनी, विभिन्न प्रकारका फलफूल गुडीमा चडाइन्छ । जुहार–जुहार आवाज गुन्जयमान हुन्छ । त्यसरी गरिने पूजामा मयुरको प्वाँख जरुरी हुने जोगीले सुनाए ।

किसान समुदायको संस्कार, संस्कृति, भाषा लिपिको खोज अनुसन्धानमा सक्रिय भीमले भने, ‘देउठन पर्व लोप हुनुको मुख्य कारण बढी खर्चिलो हुनु नै हो । उनले सो पर्व मनाउन बोका, पाठी, कुखुरा, सुँगुर चाहिने बताए । गरिबीले पिल्सिएको किसान समुदायको जीविकोपार्जनको आधार ज्यालादारी हो । किसान समुदायका केही युवा वैदेशिक रोजगारीमा समेत गएका छन् । अधिकांशचाहिँ छरछिमेक, फर्निचर उद्योग तथा चिया बगानमा ज्यालामजदुरी गर्छन् ।


‘नयाँ पिँढीलाई संस्कार, संस्कृतिका बारेमा जानकारी दिन सकिएको छैन, आधुनिकताको बढ्दो प्रभाव र जनविश्वासमा आएको कमीले पनि समस्या निम्त्याएको हो,’ भीमले भने, ‘संस्कृति मासिनु कुनै पनि जातिको पहिचान गुम्नु हो, लोपोन्मुख जातिको चाडपर्व संरक्षणमा राज्य नै जुट्नुपर्छ ।’ संस्कार, संस्कृति जगेर्नामा सम्बन्धित समुदाय नै सक्रिय हुनुपर्ने मत राखेका भीमले देउठन र गुडी निर्माणका लागि बजेट विनियोजन स्थानीय सरकारको दायित्व भएको बताए । उनले भने, ‘अयन्त्र ठुलो रकम खर्च गरिन्छ, लोपोन्मुख समुदायको संस्कार, संस्कृति जगेर्नामा चासो नै छैन ।’

गुडी घर छुट्टै बनाउन सके संस्कार, संस्कृति र परम्परागत पेसा व्यवसायको जगेर्ना गर्न सम्भव हुने उनीहरूको भनाइ छ । नगरपालिकाले बजेट दिएर देउठन बनाउन सहयोग गरे धामी पेसा सिकाउने आधार तयार हुने देवइर जोगी बताउँछन् । उनले लोपोन्मुख समुदायका लागि ५ लाख रुपैयाँ छुट्याउन नसक्नु स्थानीय सरकारको उदासीनता भएको कटु टिप्पणी गरे । लोपोन्मुख समुदायप्रति राज्यको नीति हेपाहा र संवेदनहीन भएको किसान समुदायको साझा निष्कर्ष छ ।

संस्कार, संस्कृतिमा धनी यो जातिको जनसंख्या निकै न्यून छ । जनगणनाअनुसार यो जातिको संख्या १ हजार ४७९ हो । यो संख्या पनि घटेर १ हजार २०० हाराहारीमा पुगेको भीमको भनाइ छ । बेलाबेला गाउँगाउँको जनसंख्या गणना गर्ने गरेको उनले बताए । किसान समुदायमा पनि पुरुषको भन्दा महिलाको संख्या बढी छ । यो जातिका १ हजार १७८ जना आफ्नो भाषा बोल्न सक्छन् ।

किसान जातिको बसोबास सुदूर पूर्वी झापामा छ । सबैभन्दा बढी मेचीनगर नगरपालिका विभिन्न स्थानमा ६० देखि ७० घर, बुद्धशान्ति गाउँपालिकामा १३–१४ घर र बिर्तामोड नगरपालिका–६ मा ३–४ घरपरिवारको बसोबास छ । मेचीनगर–९, १०, ११, ७, ५, ३ र १ नम्बर वडामा किसान जातिको बसोबास छ । आफ्नो पुर्खा भारतको छत्तिसगढबाट नेपाल आएको हुन सक्ने जोगीले सुनाए । भारत सरकारले सन् १९५० मा अनुसूचित गरेका २९ जनजातिमा किसान पनि रहेकाले उनीहरू भारतबाट नेपाल आएको एउटा आधार हो । यद्यपि, किसान जाति आफूलाई यही क्षेत्रको भूमिपुत्र भएको दाबी गर्छन् । बहिष्करणमा परेको यो जाति ५९ आदिवासी जनजातिमध्ये लोपोन्मुख समूहमा छ ।

प्रतिक्रिया