संकटमा मधेसको मौलिक पहिचान

‘पसिना पुछ्ने गीत, थकान मेट्ने कहरवा नाच’

कहरवाको त्यो जादुमयी दृश्य अचेल एकादेशको कथा बन्दै गएको छ । पुरुष कलाकारहरू महिलाको साडी–चोली पहिरिएर, निधारमा ऐना जस्तै चम्किने टीका टाँसेर जब कम्मर मर्काउँथे, तब दर्शकलाई छुट्याउन मुस्किल पथ्र्यो— यी पुरुष हुन् कि महिला !

जब चैतको तातो लू चल्न थाल्छ र गहुँबारीमा सुनौला बालाहरू हावासँगै झुल्छन्, ७५ वर्षीय वृद्ध रामऔतार कोहरका खुट्टाहरू अझै पनि एउटा विशेष लयमा थर्किन थाल्छन् । हातमा हुँडका वा मजीरा नभए पनि उनका चाउरिएका औँलाले शून्याकाशमै ‘धा–गे–ना–ति’ को ताल समात्छन् । उनको यो केवल शारीरिक कम्पन होइन; यो त तराई–मधेसको त्यो पुस्ताको रगतमा दौडिरहेको सांस्कृतिक ढुकढुकी हो, जसले काँधमा डोली र मनमा कहरवाको भाका बोकेर जुगौँ काट्यो । तर आज, आधुनिकताको कोलाहलमा मधेसको यो मौलिक ‘थाप’ बिस्तारै मधुरो हुँदै गइरहेको छ ।

कहरवाको उत्पत्ति कुनै बन्द कोठाको रियाजबाट भएको होइन, यो त कठोर श्रमको उपज हो । यसको प्राविधिक पक्षबारे सम्मरीमाई–२ का कलाकार रामऔतार कोहारले बडो रोचक अनुभव सुनाए । उनले भने, ‘जब ४ जना कहारले काँधमा डोलीको भारी बोकेर हिँड्छन्, उनीहरूको सास र पाइलाको ताल मिल्न जरुरी हुन्छ । त्यो लय नमिले डोली हल्लिन्छ र बोक्नेलाई झन् गाह्रो हुन्छ ।’

उनले भने, ‘अगाडिको नाइकेले ‘कोह’ भन्दा पछाडिकाले ‘कोह’ भन्दै एउटै तालमा खुट्टा बजार्थे । डोलीे बोक्दा निस्कने त्यही ‘कोह–कोह’ को आवाज नै बिस्तारै संगीतको ‘कहरवा ताल’ मा परिणत भयो, त्यही लय आज संगीत शास्त्रमा ८ मात्राको एउटा ऊर्जावान् तालका रूपमा चिनियो ।’ ‘जब नर्तकले ‘कोह–कोह’ को लयमा कम्मर मर्काउँछ, हुँडका र झाँझ (मजीरा) ले त्यसलाई ‘धा–गे–ना–ति, ना–के–धि–ना’ को भाषामा अनुवाद गर्छ,’ कहरवा गायक अयोध्या कहारले भने, जब गहुँ सोहोरेर सकेपछिको खाली खलिहान वा गाउँको चोकमा जब कहरवा नाच सुरु हुन्छ, कलाकारका पाइला जमिनमा यसरी ठोकिन्छन, लाग्छ त्यहाँको माटोले पनि संगीतको भाषा बोलिरहेको छ ।’

‘रामऔतार कोहर जस्ता पुराना कलाकारहरूले शून्याकाशमा औँला नचाउनुको कारण पनि यही हो’, सम्मरीमाइ गाउँपालिका–७ हर्दीका राधेश्याम कहाँर (६५) ले भने, ‘उनीहरूको नशा–नशामा त्यो ‘कोह–कोह’ को धड्कन आज पनि जीवित छ ।’ उनका अनुसार, ‘कुनै समय जब हुँडकाको ताल ठोकिन्थ्यो, दिनभरिको कडा परिश्रम र खेतबारीको थकाइ पलभरमै हराउँथ्यो । त्यो केबल नाच मात्र थिएन, मधेसको माटोको सुगन्ध, श्रमको सम्मान र आममानिसको जीवन्त कथा थियो ।’

कहरवाको त्यो जादुमयी दृश्य अचेल एकादेशको कथा बन्दै गएको छ । पुरुष कलाकारहरू महिलाको साडी–चोली पहिरिएर, निधारमा ऐना जस्तै चम्किने टीका टाँसेर जब कम्मर मर्काउँथे, तब दर्शकलाई छुट्याउन मुस्किल पथ्र्यो, यी पुरुष हुन् कि महिला ? हातमा लाठी वा रुमाल नचाउँदै, आँखा झिम्काउँदै नाचिने त्यो कहरवामा एउटा यस्तो आकर्षण हुन्थ्यो, जसले हेर्नेलाई मन्त्रमुग्ध बनाउँथ्यो ।
ती ऐतिहासिक कलाकारका पहिरनहरू कि च्यातिएका छन्, या पुराना बाकसभित्र धुलो लागेर थन्किएका छन् । हँुडकालगायत वाद्ययन्त्रका छालाहरू सुकेका छन् र तिनको स्वर सुस्ताएको छ । ७५ वर्षीय वयोवृद्ध कलाकार बनारसी कहार भावुक हुँदै भने, ‘हातमा सीप त अझै छ, तर त्यसको कदर गर्ने आँखा र सुन्ने कानहरू हराएका छन । यो हाम्रो सभ्यताको एउटा बलियो खम्बा हो । धोबिया र कठघोडवा जस्तै कहरवा पनि मधेसको मुटु हो, तर आज मुटुको त्यो धड्कन कमजोर हुँदै छ ।’

नवलपरासीका कहरवा नर्तक ७८ वर्षीय राम अवध कहारले आफ्नै ठेट भोजपुरी लवजमा कहरवाको मर्मलाई यसरी पोखेका छन् । काँधे पे डोलिया उठाई के सजनवा, चलले डगरिया जोह के हो । कहरवा के ताल पे पाँव परला से, सगरो टोला जाला गूँज हो ।। बाजेला हुँडका, नाचेला कहरवा, पुर्खा के रितिया करि याद हो । आपन ई कला जे छुटि जाई मोर भैया, त कइसे होई जिअरा अजोर हो ।।

हुँडकाको ‘धा–धिन–ता’ सँगै जब नर्तकको पाइला चल्थ्यो, लाग्थ्यो समय ठिंग उभिएको छ । कहार जातिका सामाजिक अगुवा निरहु कहारका अनुसार, पहिचान, पसिना र प्रेमको संगम कहरवा नाचमा गाइने गीतहरूमा जीवनको सिंगो यथार्थ हुन्छ । यसमा कहिले सासू–बुहारीको चुलुबुले झगडा, कहिले परदेश गएको पतिको अन्तहीन प्रतीक्षा त कहिले खेतीपातीको उल्लास समेटिएको देखिन्छ ।

तराई–मधेसका गाउँबस्तीमा कुनै समय गुञ्जिने यो मौलिक कला अहिले ‘डिजिटल अतिक्रमण’ को चपेटामा छ । हुँडका बादक घनश्याम कहारका अनुसार, आजभोलि गाउँका विवाह र उत्सवहरूमा डिजे एवं ब्यान्ड बाजाको कर्कश आवाज र आरकेस्ट्रले कब्जा जमाएको छ । मोबाइलको सानो स्क्रिनमा अल्झिएको नयाँ पुस्तालाई आफ्नै पुर्खाको गौरवशाली कला बेकार लाग्न थाल्नु विडम्बनापूर्ण छ ।

कहरवा नाच तराई–मधेस क्षेत्रको एक लोकप्रिय र जीवन्त परम्परागत लोकनृत्य हो । यो विशेषगरी सांस्कृतिक मेला, विवाह, र धार्मिक कार्यक्रमहरूमा प्रस्तुत गरिन्छ । संगीतको शास्त्रीय विधामा कहरवा ताल ८ मात्राको ऊर्जावान् ताल मानिन्छ । यस नाचमा २ जना गायक, १ हुँडार, २ जना झाँझ–मजिरा बजाउने र १ जना डमरु जस्तो देखिने ‘हुँडका’ बाजा बजाउने कलाकार रहने गर्छन् ।

‘संगीतको यो शास्त्रीय विधामा विशेष गरेर माया–प्रेम, सामाजिक विसंगति, कृषि जीवनका जीवन्त गाथाहरू र हास्य–ब्यंग्य नाटकहरू गीतका माध्यमबाट प्रस्तुत गरिन्छ’, लुम्बिनी सांस्कृतिक बिरहा समूहका अध्यक्ष राधेश्याम पालले भने, ‘कहरवाको त्यो विशिष्ट ताल सुनेर मानिसहरू आफ्ना सारा दुःख बिर्सन्छन् । यसले जात–धर्म भन्दैन, यो त केवल समाजको एकता र भाइचारालाई जोड्छ ।’

कहारको मुख्य जातीय पहिचान र श्रमसँग जोडिएको यो नाचको जरा निकै गहिरो छ । पहिले–पहिले बिहेबारीमा दुलहीलाई डोली (पालकी) मा बोकेर लैजाँदा ४ जना कहारहरूले थकाइ मेटाउन र कदम (पदचाँप) मिलाउन जुन विशिष्ट किसिमको लय निकाल्थे, त्यही लय नै पछि ‘कहरवा संगीत’ को रूपमा विकसित भएको भोजपुरी साहित्यकार÷संस्कृतिकर्मी÷अभियन्ता शिवनन्दन जयसवालले बताए ।

भोलिका दिनमा हाम्रा सन्ततिले कहरवाको ताल सुन्न पाउनेछन् कि छैनन ? यो प्रश्न आज प्रत्येक लोक संस्कृति प्रेमीको मनमा उब्जिएको छ । पहिचान, संस्कृति र कलालाई आधुनिकताको मारबाट जोगाउनु नै अबको मुख्य चुनौती हो । संस्कृतिविद्हरूका अनुसार ‘कहरवा’ शब्द ‘कहार’ र ‘कोहार’ जातिसँग जोडिएका छन । अभियन्ता जयसवालले कहरवालाई श्रम–संस्कृतिको उपज मान्दछन् ।

सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडका अनुसार, कहरवा केवल मनोरञ्जनको साधन मात्र होइन, यो एकताको कडी पनि हो । यसले जात र धर्मको पर्खाल भत्काएर गाउँ–समाजलाई एउटै सूत्रमा बाँध्दछ । धार्मिक दृष्टिकोणले पनि कतिपय समुदायमा कुल देवताको पूजा वा दसैँ–तिहार जस्ता चाडपर्वमा कहरवा नाच नचाउँदा गाउँघरमा शुभ हुने र देबी देउता पनि खुसी हुने जनविश्वास रहेको छ । कहरवा नाचमा प्रयोग हुने लोकभाकाले तराई–मधेसको माटोको सुगन्ध महसुस हुन्छ ।

यसले नर्तक र दर्शक दुवैलाई तुरुन्तै उत्तेजित र आनन्दित तुल्याउँछ । यसमा प्रयोग हुने हुडका जस्ता वाद्ययन्त्रको पनि आफ्नै महŒव हुन्छ । सामाजिक अभियन्ता बेचु गौडले भने, ‘यसमा कलाकारहरूले परम्परागत लुगा लगाएर हातमा रुमाल वा लठ्ठी लिएर नाच्ने गर्छन् ।’ कहरवा भाका र नाच संरक्षण–प्रवद्र्धनका लागी विशेषगरी कहाँर जातिको युवा पुस्ता नै जागरुक हुन जरुरी रहेको उनले बताए ।

अनेकौँ लोकवार्ताविद्हरूले कहरवा नाचका गीतहरूमा सामाजिक यथार्थ र माया–प्रेमका गाथाहरू भेटिने उल्लेख गरेका छन् । विशेषगरी लुम्बिनी, कपिलवस्तु र रूपन्देहीको मार्चवार क्षेत्रमा यसको छुट्टै मौलिक स्वरूप पाइन्छ । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा.त्रिभुवन बरई जस्ता अध्येताहरूले यसको संरक्षणका लागि स्थानीय निकाय र युवा पुस्ताहरूसमेत जुर्मुराउनुपर्ने कुरामा जोड दिए ।

यसैगरी कहरवा नाचको संरक्षण तथा प्रवद्र्धनका लागि राज्य वा स्थानीय तहबाट कुनै ठोस प्रोत्साहन वा आर्थिक सहयोग प्राप्त हुन सकेको छैन । केही स्थानीय क्लब र सांस्कृतिक संस्थाहरूले मेला–महोत्सवमा कहरवा नाचको प्रतियोगिता गराएर यसलाई जीवित राख्ने प्रयास त गरेका छन्, तर त्यो पर्याप्त छैन । गौड (कहार) उत्थान संस्था, परासीका अध्यक्ष शिवनाथ गौडका अनुसार, ‘नाचको एउटा टोली तयार गर्न र पोसाक तथा बाजागाजा व्यवस्थापन गर्न ठुलो खर्च लाग्छ, जुन जोहो गर्न समस्या नै छ ।’

उनले पीडा पोख्दै भने, ‘पहिलाको समयमा गाउँगाउँमा कहरवा नाचको रोचक प्रतिस्पर्धा हुन्थ्यो । अहिले न त नाच्ने मान्छे छन्, न कसैलाई हेर्ने नै फुर्सद छ । सबै आधुनिक आर्केस्ट्रा र मोबाइलको स्क्रिनमै रमाउन थालेका छन् । सरकारले बिस्थापित हुँदै गरेको कहरवा जस्ता मौलिक कलालाई पाठ्यक्रममा समावेश गर्ने एवंं नियमित सांस्कृतिक महोत्सव गर्ने हो भने मात्र यो जोगिन सक्छ ।’

यसमा हुँडकाले बोल्छ र मजीराले त्यसलाई पछ्याउँछ । यसका शब्दहरूमा लुकेका ‘सैयाँ गइले बिदेशवा…’ जस्ता सुस्केरले वैदेशिक रोजगारीको पुरानो व्यथा आज पनि उत्तिकै सान्दर्भिक बनाउँछन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक मेयर कल्पना हरिजन पनि स्वीकार्दै भन्छिन्, ‘स्थानीय पाठ्यक्रममा यसलाई स्थान नदिए पुराना कलाकारहरूसँगै यो कला पनि माटोमा हराएर जानेछ ।’

प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले भने, ‘संस्कृति मरे मान्छेको परिचय पनि मर्दछ ।’ उनका अनुसार, ‘आधुनिकताको वेगमा आफ्नो परम्परागत पहिचानको जरा काट्नु आत्मघाती कदम हो । हुँडका र मजीराको त्यो मर्मस्पर्शी ताललाई फेरि गाउँको चोकमा फर्काउनु हामी सबैको साझा दायित्व हो । त्यसैले तराई–मधेसको माटोको सुगन्ध बोकेको कहरवालाई ‘जिन्दावाद’ राख्ने बेला आएको छ ।’

प्रतिक्रिया