
मध्यपूर्वका देशमा जारी द्वन्द्वले लगभग विश्वभरी नै प्रभाव पारेको छ । नेपालको चुलोचौकोदेखि खेतका गह्रा र पाखामा त्यहाँको द्वन्द्वको बाछिटा पुगेको छ । झट्ट हेर्दा हाम्रो मुलुकदेखि निकै टाढाको युद्ध त हो नि भन्ने पर्न सक्छ । तर कुरा यतिमा मात्रै सीमित छैन । हाम्रो जस्तो भू–परिवेष्ठित देशका लागि देश बाहिर हुने आन्दोलन, द्वन्द्व र शक्तिको लडाइँले पनि विभिन्न ढंगले असर पुर्याउने गरेको छ ।
खासगरी आपूर्ति एवं निर्यातको शृंखलामा देखिएको अवरोधले आयातमा निर्भर नेपालसहितका देशहरूमा ठुलो असर पुगेको छ । बढ्दो इन्धनसँगै सम्भावित खाद्य संकटलाई लिएर सर्वत्र चिन्ता बढेको छ । अहिले प्रमुख रूपमा नेपालमा खाना पकाउने ग्यासदेखि पेट्रोल, डिजेल जस्ता इन्धनको समस्या देखिएको छ । तर इन्धन संकटले पारेको समस्या निकै परसम्म रहेको देखिन्छ । कृषि प्रधान देश भएर पनि नेपाल धान चामल लगायतका मुख्य खाद्यान्न आयात गर्नुपर्ने बाध्यतामा छ । खपतअनुरूप आन्तरिक उत्पादन नहुँदा मुख्य खाद्यान्नमा भारत लगायतका देशमा निर्भर रहनुपरेको अवस्थामा नेपाल छ ।
यसैले पश्चिम मध्यपूर्वको युद्ध लम्बिँदै गर्दा आयातित वस्तुको ढुवानीमा अवरोधसँगै अभाव र मूल्यवृद्धिले नेपालीले दिनानुदिन खराब अवस्था भोग्नुपर्नेतर्फ विज्ञले सचेत गराएका छन् । कृषिविज्ञ डा.खेमराज भट्टराईका अनुसार अरबको सैन्य तनावले नेपालमा सिर्जित सम्भावित संकट डरलाग्दो हुँदै छ । अनिश्चित युद्धले तत्काल २० लाखदेखि २५ लाख मान्छेको रोजगारीमाथि प्रश्न उठाएको भन्दै उनले युद्धग्रस्त क्षेत्र र त्यस आसपासबाट तेल र रासायनिक मलका आपूर्तिमा अवरोध उत्पन्न गरेको बताए ।
पेट्रोलियम पदार्थ र रासायनिक मल दुवैले नेपालको सिंगो अर्थतन्त्र, सिंगो समाज र सबैभन्दा बढी र छिटो कृषि क्षेत्रलाई प्रभावित गर्ने गरेको छ । मलको आयातमा समस्या हुने र मूल्य बढ्नुले नेपालको कृषि उत्पादनमा असर पर्ने देखिन्छ । नेपालको कृषि रासायनिक मलबिना सम्भव नै छैन । खेतीपातीको याम सुरु हुने बेला चर्किएको द्वन्द्वले यस क्षेत्रका मानिसलाई निकै चिन्तित बनाएको छ । कृषिलाई नेपालको अर्थतन्त्रको बलियो खम्बाका रूपमा मात्रै लिने गरेको छैन । कृषि उत्थानका लागि भन्दै कैयौँ योजना समेत बन्ने गरेका छन् । तर, ती सबै योजनामा मात्रै सीमित हुने गरेका छन् ।
विश्व बजारमा ढुवानीका लागि महत्वपूर्ण मार्ग मानिएको स्ट्रेट अफ द हर्मुजमा इरानले गरेको अवरोधले आपूर्ति प्रणाली प्रभावित भएको छ । यसले निम्त्याएको संकटको प्रत्यक्ष प्रभावका रूपमा नेपालमा आयातित वस्तुहरूको भाउ आकाशिन थालेको छ । त्यसमाथि नेपाल धेरैजसो वस्तुमा भारतसँग निर्भर रहेकाले चेपुवामा पर्ने र अभाव बढ्ने देखिँदै छ । नेपालले कृषिका लागि आवश्यक मल, बिउवीजन, रासायनिक मलदेखि कीटनासक औषधिसमेत बाहिरबाट आयात गर्छ । अहिलेको अवस्थामा यी सबै बस्तुको मूल्य वृद्धि हुँदा नेपालको कृषि प्रणालीमा नै असर पुग्ने देखिन्छ ।
विज्ञका अनुसार मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपालका कृषि अनुसन्धानका परियोजना नराम्ररी प्रभावित हुनेछन् । त्यसो त धेरैजसो वैदेशिक सहयोगमै सञ्चालनमा छन् हाम्रा कृषि परियोजना । धान, मकै, गहुँजस्ता बालीजस्ता बालीहरूको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय संस्थाहरू छन् । विकसित देशहरूको आर्थिक सहायतामा बाली विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् । जब अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व सिर्जना हुन्छ, धेरै देशहरूको ध्यान आत्मसुरक्षा र जित हासिल गर्नेतर्फ केन्द्रित हुन्छ, यसबाट आर्थिक सहायताहरू अवरोध उत्पन्न हुन्छ ।
विज्ञका अनुसार अब बिस्तारै कृषि अनुसन्धानमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । नेपालका कतिपय प्रयोगशाला सहायता (ल्याब सपोर्ट) स्पेसल ट्रेनिङ, वैज्ञानिकलाई अभिमुखीकरण तालिम एवं प्रशिक्षण दिने जस्ता कार्यक्रम अलपत्र पर्नेछन् । अझ नेपालमा अहिलेसम्म मल कारखाना नभएकाले पूर्णरूपमा परनिर्भर रहनुपर्ने बाध्यता छ । राज्यले ठुलो अनुदान दिँदा कृषि मन्त्रालयको आधा बढी बजेट मलमै खर्चनुपरेको अवस्था छ । द्वन्द्वका कारण ऊर्जालगायतका मलको उत्पादन विश्वमा नै कम हुन सक्छ । नेपालजस्तो देशले महँगोमा ल्याएर अनुदानमा कति दिन सक्ला ? यो पनि गम्भीर प्रश्न उठेको छ ।
त्यसैले पश्चिम एसियाको द्वन्द्व बढ्दै गए नेपालको कृषि क्षेत्रमा व्यापक असर पर्ने भन्दै यस क्षेत्रमा लागेकाहरूले चिन्ता जनाएका छन् । अहिलेसम्मको अवस्था हेर्दा राज्यको ठुलो रकम मलखादमा खर्च हुने गरेको छ । त्यसैले द्वन्द्वको पहिलो असर रासायनिक मलको आपूर्तिमा पर्न जाने देखिन्छ । अर्को कुरा अब इन्धन अभावले पनि कृषिमा प्रभाव पार्ने छ । द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेपछि नेपालमा मल आपूर्तिकर्ताहरूले समेत मूल्य बढाउने वा फ्याक्ट्रीमै महँगो पर्न सक्छ । त्यसले गर्दा अनुदानको मल खरिदका लागि छुट्याइएको बजेटले आवश्यकताभन्दा निकै थोरै मात्रामा मात्रै आयात गर्नपर्ने बाध्यता हुनसक्छ । जसको समग्र असर उत्पादकत्वमा ह्रास आउने छ । रासायनिक मलको अभावमा उत्पादकत्व घट्ने र यसले आयात बढाउनुका साथ धेरथोर भइरहेको निर्यातको परिमाण घटाउने देखिन्छ ।
००००
चर्चामै सीमित मल कारखाना
नेपालमा वर्षौंदेखि मल कारखाना स्थापनाको चर्चा चल्ने गरेको छ । हरेक सरकारले यसलाई चर्चा गर्छ, कुरा उठाउँछ । यसबारेमा गोष्ठी छलफल हुन्छ । तर, यसको सम्भाव्यता अध्ययनभन्दा अगाडि बढ्न सकेको छैन । किसान उत्पादन लागतसमेत नउठेर कृषिकर्मबाट टाढिँदै गएका छन् । यस्तो अवस्थामा परनिर्भरता झन् बढ्ने र विश्वमा बेलाबेला उत्पन्न हुने विषम परिस्थितिका कारण नेपालीको दैनन्दिनी नराम्ररी प्रभावित हुनु नौलो होइन । सहज अवस्थामा समेत नेपालका कृषकले रासायनिक मलको अभाव झेल्ने गरेका छन् । कहिलेसम्म यसको चर्चाले मात्रै स्थान पाउने हो टुंगो छैन ।
यसो भनिरहँदा चुनौतीका बीचबाट सम्भावना देख्ने पनि गरिन्छ । मध्यपूर्वको द्वन्द्वले पनि नेपालमा हुने बालीका प्रचलित एवं स्थानीय तथा रैथाने जातहरू, नेपाली किसानका अनुभव, माटो सुहाउँदो प्रविधि, परापूर्वकालदेखि गरिँदै आएको अभ्यास र सुधारिएका प्रविधिहरूको विकासमा जोड दिन सिकाउन सक्ने पनि देखिन्छ । तर, यसमा कति सम्भव होला त्यसबारेमा पनि समीक्षा गरिनु पर्छ । यस्तै यस्तै विपद्मा त हो, सम्भावनाको खोजी गर्ने ।
कृषि प्रधान हाम्रो देशलाई उन्नत बनाउने हो भने सबैभन्दा पहिले कृषिलाई खुट्टा टेकाउन सक्ने बनाउन आवश्यक छ । त्यसका लागि माटो र बिउ जोगाउने, किसानले उत्पादन गरेको कृषिवस्तुलाई लगानीको आधारमा उचित मूल्य र बजारको व्यवस्था गर्नुपर्छ । यसैगरी नयाँ खोज, प्रविधि, तरिकाको विकास गरिनुपर्छ । विश्वमा आइरहन सक्ने यस्ता विपत्तीले नेपालको माटो र यहाँको कृषि उत्पादनमा कुनै असर पुग्दैन भन्ने बनाउन सक्नुपर्छ । त्यसो गर्न सकियो भने, नेपाल आफू आत्मनिर्भर मात्रै हुँदैन त्यसले अरूको पनि पेट भर्न र आर्थिक उपार्जनमा सहयोग पुर्याउँछ ।
००००
नेपालमा कृषिको अवस्था खस्कँदो छ : डा. खेमराज भट्टराई, कृषि विज्ञ

मध्यपूर्वको द्वन्द्वको अहिलेको अवस्थाले नेपालको कृषि प्रणालीको समग्र चक्रमा असर पुर्याउँछ ।
अहिले मध्यपूर्वमा जारी युद्धले नेपालको समग्र कृषि क्षेत्रलाई असर पुर्याउँछ । उदाहरणका लागि भन्ने हो भने, अहिले बजारमा तेल महँगो भएको छ । त्यसले खेत जोत्ने ट्रयाक्टरको भाडा बढ्छ । अहिले त गोरुले हलो जोत्नै छोडिसक्यो । अर्को कुरा नेपालमा १०४ वटा मुलुकबाट खाद्यान्न किन्ने गरिएको छ । त्यहाँबाट आउने खाद्यान्नको पनि अब मूल्य बढेर आउँछ ।
हाम्रो कृषि हरेक वर्ष खस्कँदो अवस्थामा छ । प्रति वर्ष २० अर्ब खाद्यान्न आयातमा जाने गरेको छ । यसरी आउने खाद्यान्नको ढुवानी बढ्दा मूल्य पनि बढ्छ । उत्पादन गर्नेका लागि लागत बढ्न्को साथै ढुवानी पनि बढ्छ ।
मैले दुई हप्ता अगाडि २ हजार ५०० रुपैपाँ प्रतिघण्टा काम गराएको ट्रयाक्टरले आइतबार ३ हजार लियो । यो उदाहरण मात्रै हो । एक ठाउँमा मूल्य बढेपछि त्यसको असर सबै ठाउँमा पुग्छ । हाम्रो देशमा कुनै पनि इन्धनको स्रोत छैन, अरूसँग निर्भर पर्नुपर्छ । हाम्रो मुलुक निर्यात गर्ने भएको भए यसमा असर पुग्दैन थियो । तर, सबै कुरा अन्तबाट ल्याउन पर्ने भएपछि समस्या पर्छ । कालीमाटीको फलफूल पसलमा जाने हो भने, सबै फलफूल बाहिरबाट आएको पाइन्छ । अवस्था यस्तो छ ।
हाम्रो देशमा संसारको सबै हावापानी पाइन्छ, सबै प्रकारको खेती गर्न सकिन्छ भन्ने सत्य हो । तर, व्यावहारिक रूपमा भने त्यस्तो छैन । सानो बिरुवादेखि बिउ किन्न पनि मूल्य बढेको छ । अझ अब खेती गर्ने बेलामा रासायनिक मल आउने अवस्था छैन । आइहाले पनि थोरै मात्रामा मूल्य बढेर आउँछ । जहाँबाट उत्पादन हुँदै छ, त्यहाँ पनि समस्या भएपछि मूल्य बढेर आउँछ । अझ प्रायः फलफूलको बेर्ना पनि बाहिरबाट आउँछ । त्यो बेर्नाको मूल्यसमेत बढेर आउन थालिसकेको छ ।
द्वन्द्वको अहिलेको अवस्थाले नेपालको कृषि प्रणालीको समग्र चक्रमा असर पुर्याउँछ । नेपालभन्दा टाढाको मुलुकमा जारी युद्धको प्रभाव हाम्रो खेतबारी, पखेरा, नर्सरीदेखि गमलामा उत्पादन हुने तरकारी र फलफूलसम्म पुगेको छ । यसको प्रमुख भनेको मूल्य वृद्धि नै हो ।
प्रतिक्रिया