प्रतिशोधको राजनीतिको अन्त्य र समृद्धिको बाटो

हरेक आमनिर्वाचन र त्यसपछि बन्ने सरकार आफैँमा नयाँ इतिहास हो । त्यसमा पनि यसपटकको आमनिर्वाचनले देशको राजनीतिक इतिहासमा अनेकौँ नयाँ नजीरहरू कायम गरेको छ । मुलुकको लोकतान्त्रिक इतिहासमै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा शुक्रबार पदभार ग्रहण गरेका बालेन्द्र शाहले सक्रिय राजनीतिमा संलग्न भएको छोटो समयमै निर्वाचित प्रधानमन्त्री बनेको इतिहास मात्रै कायम गरेका छैनन्, समुदायगत हिसाबले पनि उनले अर्को इतिहास रचेका छन् । मुलुकको कुल जनसंख्याको करिब एकतिहाइ हिस्सा ओगटेको मधेसी समुदायको व्यक्ति इतिहासमै पहिलोपटक देशको कार्यकारी प्रमुख बनेको नजीर उनले कायम गरेका छन् ।

त्यसो त संसद्मा हासिल गरेको सिट संख्याका हिसाबले २०१६ सालमा बनेको बिपी कोइराला नेतृत्वको सरकारपछि नवनियुक्त प्रधानमन्त्री शाह सबैभन्दा बलिया देखिन्छन् । चुनावमा पार्टीलाई प्राप्त जनमतका हिसाबले अहिलेको सरकार झन् बलियो छ । किनकि, एउटै पार्टीले करिब ४८ प्रतिशत मत प्राप्त गरेर चुनाव जितेको रेकर्ड मुलुकमा अहिलेसम्म थिएन । पार्टी स्थापनाको यति छोटो समयमा यति ठुलो जनमत र संसदीय सिटसहित सरकार गठन गर्ने सौभाग्य प्राप्त भएको नजीर नेपालको इतिहासमा त छैन नै, यस्ता उदाहरण विश्व इतिहासमा पनि अत्यन्तै कम छन् । नवगठित मन्त्रिपरिषद्मा महिला तथा युवा सहभागिताका हिसाबले पनि नयाँ मापदण्ड कायम भएको छ । आमजनतामा सकारात्मक सन्देश प्रवाह गराएका र अब मुलुकमा केही न केही सुधार हुन्छ कि भन्ने आशा जगाएका यी नयाँ नजीरहरूले निरन्तरता पाउँदै जानुपर्छ ।

नयाँ इतिहास तथा नयाँ नजीर आफैँमा उत्साह त हुन्, तर यी नै अन्तिम साध्य भने होइनन् । नजीरभन्दा महत्वपूर्ण पक्ष नतिजा हो । र, नजीर कायम गर्नुभन्दा नतिजा निकाल्नु झन् चुनौतीपूर्ण हुन्छ । त्यसैले नयाँ सरकारले अब मुख्य ध्यान नतिजामै केन्द्रित गर्नु पर्दछ । नेपाली जनताले कस्तो नतिजा चाहेका छन् भन्ने कुरा २००७ सालयता जनअधिकारका लागि भएका हरेक क्रान्ति तथा आन्दोलनले पुष्टि गरिसकेकै छ । गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलन पनि विगतका तिनै क्रान्ति तथा आन्दोलनको जगमा उभिएको निरन्तरता हो । नेपाली जनता के चाहन्छन् भन्ने पछिल्लो कडी उक्त ‘जेनजी’ जनआन्दोलन नै हो ।

त्यसैले नेपाली जनताको चाहना के हो भन्ने कुरामा नयाँ सरकार र यसको जन्मदाता रास्वपा अनभिज्ञ छैन । यो कुरा उसले सम्पन्न आमनिर्वाचनका क्रममा जनतासँग भोट माग्न जाँदा सार्वजनिक गरेको ‘वाचापत्र’ ले नै पुष्टि गरेको छ । वाचापत्रमा प्रकट गरिएका प्रतिबद्धताहरू पूरा गर्न एकलव्य ढंगले जुट्नु नै नयाँ सरकारको मुख्य जिम्मेवारी हो । सौभाग्यले मुलुकले अहिले भाषणमा भन्दा काममा ध्यान दिने छवि बनाएका युवा इन्जिनियर शाहलाई प्रधानमन्त्रीका रूपमा पाएको छ । यो छविलाई उनले कुनै पनि हालतमा धुमिल हुन दिनु हुँदैन । नवनियुक्त प्रधानमन्त्री शाहमाथि गरिने अबको मूल्यांकन उनले कति नयाँ नजीर कायम गरेर पदमा पुगे भन्ने विषयमा मात्र सीमित हुने छैन । इतिहासकै सर्वशक्तिमान् प्रधानमन्त्रीका रूपमा उनले प्राप्त गरेको ताकत देश र जनताको हितमा कति प्रयोग हुन सक्यो र त्यसलाई कति सदुपयोग गर्दै जनतालाई के ‘डेलिभरी’ दिए भन्ने विषयमा अबको कसी घोटिनेछ ।

सिंहदरबारमा यसअघि नै ४२ जना प्रधानमन्त्रीका तस्बिरहरू टाँगिसकिएका छन् । यदि तस्बिरको मात्रै निरन्तरता हुने हो भने उनले कायम गरेका यी नजीरहरू स्वयंको उपहास हुनेछन् । यी नयाँ नजीरहरू ‘अब गल्ती तथा कमी–कमजोरी गर्ने छुट छैन’ भन्ने चेतावनीसमेत हुन् भन्ने ख्याल प्रधानमन्त्री शाहले राख्नुपर्छ । किनकि प्रधानमन्त्री शाह असफल हुनु भनेको उनी व्यक्तिका रूपमा मात्र असफल हुनु होइन, उनको पार्टी र मुलुकको लोकतन्त्रसमेत असफल हुनु हो । र, लोकतन्त्र असफल हुनु भनेको सिंगो मुलुक असफल हुनु हो । यसको विपरीत, उनी सफल हुनु भनेको मुलुक सफल हुनु हो । त्यसैले प्रधानमन्त्री शाहले गरेका राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामको खबरदारी गर्नु प्रतिपक्षी दलको मात्र नभई आमजनताको समेत जिम्मेवारी हो । अब विरोधका नाममा विरोध र प्रशंसाका नाममा अन्धप्रशंसा गर्ने संस्कृतिको अन्त्य हुनुपर्छ ।

जनताको आकांक्षा र आवश्यकताको तुलनामा मुलुकको साधन–स्रोत अत्यन्त सीमित छ । सीमित साधन–स्रोतले असीमित आवश्यकता पूरा हुन नसकेकै कारण जनतामा असन्तुष्टि पैदा भएको हो । तसर्थ, राज्यका साधन–स्रोतको दुरुपयोग रोक्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । राज्यको स्रोत दुरुपयोग र प्रतिशोधको राजनीतिले देशलाई कहाँ पु¥याउँछ भन्ने नजीरलाई सधैँ मनन् गर्दै अघि बढ्ने प्रेरणा नयाँ प्रधानमन्त्रीलाई मिलोस् । नवनियुक्त प्रधानमन्त्री शाहलाई हार्दिक शुभकामना ।

प्रतिक्रिया