रित्तिँदा हिमाल, औपचारिकतामै सीमित नारा र दिवस

‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’ भन्ने मूल नाराका साथ आइतबार विश्व पानी दिवस मनाइएको छ । यसैको निरन्तरता स्वरूप ‘समुद्र, हाम्रो जलवायु र मौसम’ भन्ने नाराका साथ सोमबार विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २२ र २३ मा मनाइने यी दिवसहरूको उपादेयताका सन्दर्भमा कुनै द्विविधा छैन । तर, हरेक वर्ष विभिन्न आकर्षक नाराका साथ मनाइने दिवस औपचारिकतामै सीमित छन् कि नाराअनुसार ठोस काम पनि भए ? भन्ने प्रश्नको उत्तर भने निराशाजनक छ । विश्व पानी दिवस मनाउन थालिएको ३५ वर्ष र विश्व मौसम विज्ञान दिवस मनाउन थालिएको ६५ वर्ष भइसकेको छ ।

यतिका समय दिवस मनाउँदै गर्दा पनि जलवायु परिवर्तनको असर न्यूनीकरणमा सार्थक पहल हुन सकेको छैन भन्ने कुरा पछिल्ला नतिजाहरूले पुष्टि गरेका छन् । उदाहरणका लागि हिन्दुकुश हिमालय क्षेत्रमा भइरहेको पानीको भण्डारण ह्रासलाई लिन सकिन्छ । विश्वको ८ अर्ब जनसंख्यामध्ये २ अर्बभन्दा बढी मानिस आश्रित रहेका कारण हिन्दुकुश क्षेत्रमा घट्दो पानीको स्रोत अहिलेको सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ ।

त्यसमा पनि हाम्रो देश नेपाल त शतप्रतिशत हिमालयकै पानीमा आश्रित छ । हिमालयमा हिउँ रित्तियो भने नेपालमा मानव जीवनको अस्तित्व सम्भव छैन । दुर्भाग्यवश, ती भयावह दिनहरू अब धेरै टाढा नभएको इसिमोडको पछिल्लो प्रतिवेदनले देखाउँछ । उक्त प्रतिवेदनअनुसार सन् १९९० देखि २०२० को ३० वर्षमा हिन्दुकुश क्षेत्रका हिमनदीहरूले आफ्नो कुल क्षेत्रफलको करिब १२ प्रतिशत र अनुमानित हिउँ भण्डारको ९ प्रतिशत हिस्सा गुमाइसकेका छन् । ३० वर्षमा १२ प्रतिशत हिउँ रित्तियो भने शतप्रतिशत हिउँ सकिन अब कति वर्ष लाग्ला ? यो प्रश्नको उत्तरले मात्रै पनि हाम्रो आङ जिरिंग हुनु स्वाभाविक छ ।

वास्तवमा मौसम र जलस्रोत एउटै सिक्काका दुइटा पाटा हुन् । जब मौसमको चक्र बिग्रिन्छ, त्यसको प्रत्यक्ष र पहिलो असर पानीका स्रोतहरूमा पर्छ । समयमा वर्षा र हिमपात नहुँदा हाम्रा सेता हिमालहरू कालापत्थरमा परिणत हुँदै छन्, जसले नदीहरूको बहाव घट्दो छ र ऐतिहासिक पानीका मुहानहरू सुक्दै गएका छन् । यस्ता गम्भीर संकटका बीच यी र यस्ता दिवसहरू वार्षिक रूपमा औपचारिकता पूरा गर्न र राज्यको ढुकुटी रित्याउन मात्र मनाइनु ज्यादै दुर्भाग्यपूर्ण हो ।

संकटबारे गम्भीरतापूर्वक सोच्ने, मानवीय कार्यशैली सुधार्ने र नयाँ पुस्तालाई प्रकृति संरक्षण सिकाउने प्रयोजनका लागि यस्ता दिवसहरू मनाइनु पर्छ । खासगरी जल र मौसमको महत्वबारे आमनागरिकलाई सुसूचित गर्न, विद्यमान समस्या समाधानका लागि सरकार र नीति निर्माताहरूको ध्यानाकर्षण गराउन अनि विगतका गल्तीहरूबाट सिकेर आगामी दिनका लागि ठोस योजना र संकल्प गर्न यस्ता दिवसको सान्दर्भिकता अत्यन्त उच्च हुन्छ । तर, के नेपाल सरकारले यी दिवसहरू मनाइरहँदा यसको सान्दर्भिकतालाई मूर्त रूप दिने प्रयास गरेको छ त ? भन्ने प्रश्नको उत्तर भने ज्यादै निराशाजनक छ ।

विश्व पानी दिवस र विश्व मौसम विज्ञान दिवस नेपालका सन्दर्भमा अन्य मुलुकको तुलनामा अझ धेरै महझवपूर्ण छन्, किनकि विशाल हिमालय पर्वत शृंखलाको ठूलो हिस्सा नेपालमै पर्छ । जलवायु परिवर्तनको यो वैश्विक चुनौती सिर्जना गर्नमा नेपालको कुनै भूमिका नभए पनि यसको चर्को मूल्य हामीले नै चुकाउनुपरेको छ । यो संकटसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य छ । त्यसका लागि विश्व जगतलाई निरन्तर घचघच्याइरहने र दबाब दिने भूमिका निर्वाह गर्न हाम्रो देशले कुनै पनि कसर बाँकी राख्नु हुँदैन । अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले आफ्ना मुद्दाहरूलाई थप सशक्त रूपमा राखेर जलवायु न्याय र क्षतिपूर्ति लिन सक्ने कूटनीतिक क्षमता देखाउनु अहिलेको मुख्य आवश्यकता हो ।

पानी जोगाउनु भनेको पर्यावरण जोगाउनु हो र पर्यावरण जोगिनु भनेको अनुकूल मौसमको सुनिश्चितता हुनु हो । जलवायु परिवर्तनको असर तथा त्यसले निम्त्याएको मुख्य समस्या ‘पानीको संकट’ नेपालका लागि अहिले दोहोरो चुनौती बनेको छ । पहाडका गाउँहरू रित्तिँदै जानुका पछाडि धेरै कारणहरू होलान्, तर त्यसमध्येको एउटा प्रमुख कारण पानीका मुहानहरू क्रमशः सुक्दै जानु नै हो । विश्वका धनी तथा विकसित भनिएका देशहरूले कार्बनको बढ्दो उत्सर्जन गरेका कारण निम्तिएको यो वैश्विक चुनौतीको सामना नेपालको एक्लो प्रयासले मात्र सम्भव छैन । यसका लागि नेपालले अपनाउनुपर्ने मुख्य रणनीति भनेको अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर र सशक्त खबरदारी गर्नु नै हो । यसका अतिरिक्त नेपाल आफैँले अपनाउनुपर्ने आन्तरिक सचेतनाका पाटाहरू पनि कम महत्वपूर्ण छैनन् । हिउँद लाग्नासाथ जंगलमा डढेलो लागेका दुःखद् समाचारहरू सुन्नु नपरोस् भन्नेतर्फ सरकारले गम्भीर ध्यान दिनैपर्छ ।

ढुंगा, गिट्टी र बालुवा निकासीका नाममा चुरे क्षेत्रको दोहन र पहाडहरूमा जथाभावी डोजर चलाउने पर्यावरण विरोधी कार्यलाई सरकारले अझै रोक्न सकेको छैन । यस्ता गतिविधिले गर्दा जमिनमुनिको पानी पुनर्भरण हुन पाएको छैन, जसले मरुभूमीकरणलाई प्रश्रय दिइरहेको छ । अब प्रत्येक पालिकामा मौसम पूर्वानुमान प्रणाली र पानी पुनर्भरणका विशेष योजनाहरू अनिवार्य गरिनुपर्छ । विपद् आइसकेपछि मात्र सक्रिय हुने पुरातन प्रवृत्ति त्याग्दै पूर्वसावधानी र पूर्वतयारीमा केन्द्रित हुनु नै आजको आवश्यकता हो ।

प्रतिक्रिया