खेम सेन्चुरी र लुमा केसीको आवाजमा ‘नहेर टुलुटुलु…’ विमोचित

काठमाडौं । चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र नवगायिका लुमा केसीको आवाजमा नयाँ गीत ‘नहेर टुलुटुलु…’ सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित एक समारोहमा उक्त गीतको भिडियो विमोचन गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतको भिडियो विमोचन गरिएको हो ।

उक्त गीतको भिडियो विमोचन कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कलाकारहरुका अभिभावकका रुपमा लिइने पृथ्वी थकाली, लोकदोहोरी व्यवसायी विनोद श्रेष्ठ, गायक खेम सेन्चुरी र गायिका लुमा केसीसहित विभिन्न अतिथिहरुको सहभागिता रहेको थियो ।

गीत विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि शिव हमालले गीतकी गायिका केसी नयाँ कलाकार भए पनि आवाजमा पूर्ण शक्तिले भरिएको भन्दै तारिफ गरे । उनले खेम सेन्चुरी जस्तो लोकप्रिय गायकको साथमा गायिका केसीको आवाज राम्रोसँग भिजेको बताए । साथै, हमालले देशको कलाकार भएपछि जुन कलाकारले पनि राम्रो गीत बजारमा ल्याउँदा रिस–डाह गर्न नहुने उल्लेख गर्दै सबैले समर्थन गरेर अघि बढ्नुपर्ने तर्क गरे ।

‘हाम्रो कलाकार समाजमा पनि विभेद छ, कोही कलाकारले बजारमा राम्रो गीत ल्याएर सफलता प्राप्त गर्यो भने केहीले डाह गर्छन्, तर त्यस्तो गर्नु कलाकारमाथि नै घाटा हो, गायिका लुमा केसी नयाँ गायिका भए पनि यस गीतमा मैले राम्रो मौलिकता पाएको छु,’ उनले भने, ‘गीतले फरकपन ल्याएको छ, करोडौँ क्लबमा पुगेको हेर्न चाहन्छु ।’

त्यसैगरी लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाले राम्रा तथा मौलिक गीतहरुलाई विमोचन गरेर कलाकारहरुमा हौसला प्रदान गर्दै आइरहेको बताए । उनले मौलिक लोक संस्कृतिलाई बचाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै यस नयाँ गीतले पनि मौलिकतालाई कदर गरेको बताए ।

त्यसैगरी, लोकदोहोरी व्यवसायी विनोद श्रेष्ठले आफूले नयाँ–नयाँ कलाकारहरु उत्पादन गर्दै आएको बताउँदै यस नयाँ गीतले पनि एक इँटा थपेको बताए । कलाकारहरुले मौलिक संस्कृतिमा रहेर आफ्नो करिअर अघि बढाउनुपर्ने श्रेष्ठको भनाई थियो । गायक खेम सेन्चुरीले गायिका केसी नयाँ गायिका भए पनि आवाजमा दम भएको बताए ।

‘बहिनीले मलाई आवाजमा राम्रोसँग साथ दिनुभयो, मान्छे हेर्दा सानी तर आवाजमा भने परिपक्क हुनुहुँदो रहेछ’, गायक सेन्चुरीले भने, ‘आगामी दिनमा पनि बहिनीसँग सहकार्य गरेर गीत निकाल्न चाहन्छु ।’ गायिका लुमा केसीले गायक सेन्चुरीसँग आवाज मिलाएर गीत बजारमा ल्याउन पाउँदा आफू उत्साहित भएको बताइन् ।

विमोचित उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने नन्दु परियारको संगीत रहेको छ । त्यसैगरी भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने नायक पल शाह र प्रिती गुरुङको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियो गायिका लुमा केसीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया