रेजिनले फेर्दै छ नेपाली कला र इन्जिनियरिङको स्वरूप

माटोको सुगन्ध र ढुंगाको कठोरताबाट सुरू भएको नेपाली कलाको सुदूर यात्रा आज रेजिन र थ्रिडी प्रिन्टिङजस्ता अत्याधुनिक वैज्ञानिक उपलब्धिहरूसम्म आइपुगेको छ । यो समयको परिवर्तन र मानिसको अजेय सिर्जनशीलताको एउटा बलियो प्रमाण पनि हो ।

डा. भोला थापा– प्राध्यापक, डा. कुशल श्रेष्ठ– अनुसन्धानकर्ता, मेकानिकल विभाग, काठमाडौँ विश्वविद्यालय

कला सिर्जना गर्नु भनेको कलाकारको मस्तिष्कमा उब्जेको अदृश्य विचारलाई भौतिक रूप दिनु हो । वास्तवमा, कुनै पनि कलाकृतिमा प्रयोग हुने सामग्री केवल माध्यम मात्र नभएर कलाकारको अभिव्यक्ति हो । चित्रकलामा क्यानभास र रङको छनोटले भावनाको कोमलता झल्काउँछ भने मूर्तिकलामा ढुंगा, काठ वा धातुको प्रयोगले शक्ति र स्थायित्व दिन्छ । एउटा कलाकारले जब माटो समात्छ, उसले आफ्नो भावनालाई तुरुन्तै आकार दिने स्वतन्त्रता त पाउँछ, तर माटो जति लचिलो हुन्छ, यसको आयु त्यति नै सीमित हुन सक्छ । यसको ठिक उल्टो, ढुंगामा कुँदिएका कलाकृतिले स्थायित्व त दिन्छन्, तर यसका लागि कलाकारले ठुलो धैर्य र कठोर शारीरिक श्रम खर्चनुपर्छ । कलाकारहरूलाई कार्य सहजता र कृतिको लामो आयुको दौडमा नयाँ सामग्री पछ्याउन परेको छ ।

स्थानीय जग र ऐतिहासिक विरासत

नेपाली कलाको जग यहाँको स्थानीय प्रकृति र स्रोतमा बलियो गरी अडिएको छ । काठमाडौँ उपत्यकाको नेवार कला होस्, तराईको मिथिला वा थारू कला, यी सबैमा प्रकृतिसँगको एउटा गहिरो सम्बन्ध देखिन्छ । अरनिको र उनको टोली तिब्बत र चीन जाँदा उनीहरूले नेपाली माटो, काठ र धातुलाई जीवन्त बनाउने मौलिक सीप बोकेर गएका थिए । हाम्रा मन्दिरका माटो, ढुंगा र काठ, मूर्तिमा तामाको मिश्रण र चित्रकलामा खनिज रङहरूको प्रयोग हुन्थ्यो । नेपाली कलाकारहरूले विभिन्न उद्देश्यका लागि तेल, मैन र लाहा जस्ता प्राकृतिक सामग्रीहरू पनि प्रशस्तै प्रयोग गर्थे । नेपालको पौराणिक सभ्यताको उत्खननमा माटाका भाँडकँुडाका प्रमाणहरू लुम्बिनीको तिलौराकोट र काठमाडौँको चाँगुनारायण वरपर प्रशस्तै भेटिएका छन् ।

हामीले महाभारतमा लाक्षागृहको कथा सुनेका छौँ, जुन युद्ध रणनीतिको रूपमा लाहाबाट बनेको थियो । यी प्राकृतिक सामग्रीहरूमा ताप प्रतिरोधी क्षमता कम हुन्छ, त्यसैले सजिलै जलाउन र क्षति पु¥याउन सकिन्छ । सायद यसैकारण होला यस्ता प्राकृतिक सामग्रीबाट बनेका पौराणिक कलाकृति भेट्टाउन गाह्रो छ ।

आधुनिकतातिर रूपान्तरण

समयको गतिसँगै परम्परागत सामग्रीका केही व्यावहारिक सीमाहरू पनि देखिन थाले । धातुका मूर्तिहरू महँगा र भारी हुने, उता काठ र माटोमा मौसमको प्रभाव छिटो पथ्र्याे । लैनसिंह बाङ्देल युरोपबाट फर्केर नेपाली क्यानभासमा प्राकृतिक रङको विकल्पमा आयल पेन्टिङ र आधुनिक अमूर्त कलाको नयाँ लहर भित्र्याए । आजका कलाकारहरू, जस्तै अस्मिना रञ्जित वा सुनिता महर्जन, इन्स्टालेसन आर्टका लागि पुराना कपडा, तार र फलामका टुक्राजस्ता वैकल्पिक सामग्रीहरू प्रयोग गरेर समाजका जटिल विषयहरू बुनिरहेका छन् । सिसाजस्तो पारदर्शी तर फलामजस्तो बलियो सामग्रीका खोजीमा अहिलेका कलाकारहरू ‘रेजिन’ वा ‘फाइबरग्लास’ रोज्न थालेका छन् । यसरी परम्परागत माटोदेखि आधुनिक रेजिनसम्मको यात्राले नेपाली कलालाई नयाँ उचाइ दिएको छ, जहाँ सामग्रीले नै जीवनको कथा सुनाउँछ ।

समयसँगै नेपाली कलाको रूप फेरिएको छ र यसलाई आधुनिक बनाउन मुख्यतया ३ वटा सामग्रीले ठुलो भूमिका खेलेका छन् । पहिलो हो – एक्रिलिक, नफुट्ने सिसाजस्तै, तर धेरै हलुका र बलियो ! त्यस्तै, मूर्तिकलाको दुनियाँमा फाइबरग्लास र रेजिनको जोडीले एउटा ठुलो क्रान्ति ल्याएको छ । काँचलाई पगालेर बनाइएका फाइबरग्लास अत्यन्तै मसिना र बलिया रेसाहरू हुन्, जसलाई कपडा जस्तै बुन्न सकिन्छ । जब यो फाइबरग्लासको जालोलाई रेजिनकोे चोपमा डुबाइन्छ, यसले सुकेपछि ढुंगाकोजस्तै शक्ति प्राप्त गर्छ । यसमा फलाममा जस्तो खिया लाग्ने डर पनि हुँदैन । यही कारणले गर्दा नै आजका कलाकारहरूले आफ्ना ठुला र अजंगका सिर्जनाहरूलाई वजन र सुरक्षाको चिन्ता नगरी संसारको जुनसुकै कुनामा सजिलै पठाउन सकेका छन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानका लागि स्थापित २२ वटा फाइबरग्लास यतिका मूर्तिहरू विवादमा आएको थिए । नयाँ सामग्रीको प्रयोगभन्दा पनि पर्यटक मस्कटको रूपमा डिजाइन गरिएका मूर्तिहरू पौराणिक यतिको सट्टा जापानी सुमो पहलवानहरू जस्तो देखिएकाले आलोचना भएकोे थियो ।

रेजिनको रसायन : प्रकृतिबाट साभार, प्रयोगशालामा निखार

रेजिनको यो आधुनिक यात्रा वास्तवमा २०औँ शताब्दीको सुरुआततिर अमेरिका र युरोपबाट सुरू भएको हो । सन् १९०७ मा बेल्जियमका रसायनशास्त्री लिओ बेकेल्यान्डले पहिलोपटक प्रयोगशालामा बनेको ‘बेकलाइट’ तयार पारेपछि आधुनिक रेजिनको जग बस्यो । त्यसपछि सन् १९३० को दशकतिर जर्मनी र अमेरिकाका वैज्ञानिकहरूले इपोक्सी रेजिनको विकास गरे । दोस्रो विश्वयुद्धको समयमा विमानका पुर्जाहरू बलियो बनाउन प्रयोग गरिएको यो पदार्थ सन् १९५० को दशकदेखि कलाकारहरूको कार्यशालामा प्रवेश गरी सिर्जनाको नयाँ माध्यम बन्यो ।

रेजिनको यो आधुनिक शक्ति वास्तवमा हाम्रा पहाडमा पाइने सल्लो जस्ता रूखहरूले आफैँलाई बचाउन निकाल्ने प्राकृतिक चोपको रहस्यलाई प्रयोगशालामा परिष्कृत गरेर तयार पारिएको हो । आदिम कालमा रूखको बोक्रा काटिँदा निस्कने चोपले घाउ पुर्ने र किराहरूबाट बचाउने काम गथ्र्यो । तर, मानिसले जब प्रकृतिको यो ‘सुरक्षा कवच’लाई प्रयोगशालामा लगे, तब जन्म भयो सिन्थेटिक रेजिन । यो केवल एउटा तरल पदार्थ मात्र होइन, यो स–साना अणुहरूको एउटा लामो र बलियो साङ्लो हो, जसलाई विज्ञानको भाषामा ‘पोलिमराइजेसन’ भनिन्छ ।

यसको जादु तब सुरू हुन्छ, जब तरल रेजिनमा ‘हार्डनर’ भनिने अर्को रसायन मिसाइन्छ । यी दुई तरल पदार्थबीचको मिलनले एउटा रासायनिक प्रतिक्रिया सुरु गर्छ, जसले तरललाई ठोस बनाउँदै लैजान्छ । यो प्रक्रियामा अणुहरू एक–अर्कासँग यति कसिलो गरी जोडिन्छन् कि यसले एउटा अटूट जालो बनाउँछ । यही ‘जालो’का कारण रेजिन सुकेपछि ढुंगाजस्तै कडा हुन्छ, तर सिसा जस्तै पारदर्शी देखिन्छ ।

रेजिनको सबैभन्दा ठुलो विशेषता यसको अद्भुत आयु हो । यो सजिलै कुहिँदैन, खिया लाग्दैन र धेरैजसो रसायनहरूले यसलाई असर गर्दैन । इन्जिनियरिङको दृष्टिकोणबाट हेर्दा यसको ‘शक्ति–तौल अनुपात’ निकै उच्च हुन्छ । रेजिनभित्र जैविक वस्तुलाई थुनेर शताब्दीयौँसम्मका लागि सुरक्षित राख्न सकिन्छ ।

आजको कला र निर्माण क्षेत्रमा रेजिनका विभिन्न स्वरूपहरू प्रयोग हुन्छन् । सबैभन्दा बढी रूचाइएको इपोक्सी रेजिन हो, जुन दुई रसायनहरू (रेजिन र हार्डनर) मिलाएपछि अत्यन्तै कडा र पारदर्शी बन्दछ । त्यस्तै, युभी रेजिन परावैजनी किरणको सम्पर्कमा आउनासाथ तुरून्तै कडा हुन्छ, जुन साना गहना र क्राफ्टिङका लागि उपयोगी छ । परम्परागत रूपमा प्रयोग हुने सल्लाको खोटोजस्ता प्राकृतिक रेजिनदेखि औद्योगिक क्षेत्रमा प्रयोग हुने पोलिएस्टर र पोलियुरेथिनजस्ता सिन्थेटिक रेजिनसम्म यसका अनेकौँ रूप छन् ।

नेपालका ४० भन्दा बढी जिल्लाहरूबाट वार्षिक हजारौँ मेट्रिक टन खोटो संकलन हुने र निकासी हुने गर्दछ, तथापि रेजिन प्रशोधनको विविधिकरण र त्यसको बहुआयामिक उपयोगबारे हामीलाई न्यून ज्ञान छ । तर यो आफ्नै देशमा उपलब्ध सम्भावनायुक्त सामग्री हो । यस्तै नवीन सामग्रीहरूको विकास र उपयोग गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ विषयको पठनपाठन नेपालमा पहिलोपटक सुरू गरिएको छ ।

रेजिनको प्रयोग औद्योगिक कोटिङ, टाँस्ने पदार्थ र बलियो भुइँ बनाउनसमेत प्रयोग गरिन्छ । रेजिन क्युरिङको समयमा हुने रासायनिक प्रतिक्रियाले ग्यास र ताप पैदा गर्छ । सही मात्रा र सुरक्षा सतर्कता अपनाउँदै, रेजिन कलालाई शताब्दीयौँसम्म सुरक्षित राख्न सकिन्छ । यो रसायनले घर्षण र रासायनिक असरलाई पनि पचाउन सक्छ, जसले गर्दा यसबाट बनेका मूर्ति वा गहनाहरूको आयु दीर्घकालसम्म सुरक्षित रहन्छ । कलाकारले यसलाई जुनसुकै साँचोमा ढाल्न, रंगीन पिग्मेन्ट मिसाउन वा प्राकृतिक फूलहरूलाई भित्रै थुनेर आकर्षक वस्तुहरू सजिलै बनाउनका लागी सिसाको विकल्प भएको छ ।

सिलिकन, हेर्दा रेजिनजस्तै लाग्ने लचिलो र ताप प्रतिरोधी इलास्टोमर (रबर जस्तो) हो, जुन मोल्ड गर्न सकिन्छ, तर त्यसमा मसिना बुट्टा बनाउन सकिँदैन । सिलिकन र रेजिनमा मानिसहरू प्रायः झुक्किन्छन् । यी दुबै सामग्रीहरू शिल्पमा प्रयोग गर्न सकिन्छ, तर तिनीहरूले विपरीत कार्यहरू गर्छन् । सिलिकन–अक्सिजन ब्याकबोन भएको पोलिमर हो, जबकि रेजिनले सामान्यतया जैविक तरल यौगिकहरू (जस्तै इपोक्सी)लाई जनाउँछ जुन ठोस थर्मोसेटमा कडा हुन्छ । सिलिकनको नरमपनाले गर्दा, खेलौना निर्माणमा, विशेष गरेर यौन खेलौना निर्माणमा प्रख्यात छ ।

कला र इन्जिनियरिङ पार्टपुर्जा

कलाबाहेक रेजिनको उपयोगिता ठुला कलकारखाना र जलविद्युत्का मेसिनहरूमा समेत छ । पानीको तीव्र वेगमा घुम्ने हाइड्रो टर्बाइनको भित्री भाग, टर्बाइनभित्र पानीको बहाब र त्यसको प्रभाव हेर्न अब फलामको पर्खाल बाधक बन्दैन । गाइड भेन र ड्राफ्ट ट्युब कोन जस्ता जटिल मेसिनका भागहरूलाई रेजिनको मद्दतले पूर्ण रूपमा पारदर्शी बनाउन सम्भव भएको छ । यसले इन्जिनियरहरूलाई फ्लो भिजुअलाइजेसनको सुविधा दिन्छ, जसको अर्थ हो मेसिन चलिरहेकै बेला मेसिनभित्र आँखाले प्रत्यक्ष देख्न सकिन्छ ।

यो प्रविधि केवल परीक्षणका लागि मात्र होइन, मेसिनका वास्तविक पुर्जाहरू बनाउनसमेत उत्तिकै प्रभावकारी छ । रेजिन र फाइबरग्लासको मिश्रणबाट बन्ने पम्प इम्पेल्लर वा साना टर्बाइनका रोटरहरू तौलमा निकै हलुका तर धातुजस्तै बलिया हुन्छन् । तथ्यांकका अनुसार, धातुको तुलनामा रेजिनबाट बनेका परीक्षण मोडेलहरू झण्डै ६० देखि ७० प्रतिशतसम्म सस्तो र बनाउन छिटो हुन्छन् । यसरी एउटा कलाकारको हातमा सुन्दरता भर्ने रेजिन, इन्जिनियरको हातमा पुगेर जलविद्युत् र मेसिनरी क्षेत्रको भविष्य कोर्ने एउटा आधुनिक र वैज्ञानिक आधार बनेको छ ।

यही कारणले काठमाडौँ विश्वविद्यालयको टर्बाइन टेस्टिङ ल्याब र डिजाइन ल्याबका इन्जिनियर र अनुसन्धानकर्ताहरूले धातुमात्र होइन, रेजिनसँग पनि मित्रता गाँसेका छन् ।

रेजिनको सबैभन्दा लोभलाग्दो प्रयोग अहिले हाम्रा बैठक कोठा र सजावटका सामग्रीमा देखिन थालेको छ । पारदर्शी वा रंगीन रेजिनबाट बनेका बुद्ध मूर्तिहरूले शान्तिको आभास दिन्छन्, जसमा स–साना विवरण भर्न सजिलो हुनुका साथै खस्दा पनि नफुट्ने मजबुती हुन्छ ।

फर्निचरको दुनियाँमा रिभर टेबलले एउटा छुट्टै तहल्का पिटेको छ । लाखौँ वर्ष लागेर बनेको सुन्दर ओपलाइज्ड काठको प्रतीरूप पुराना काठका टुक्राहरूको बीचमा रंगीन पिगमेन्ट सहितका रेजिन भरेर काठका आकर्षक बस्तु बनाइन्छ । प्राकृतिक चिरा भएका काठका फ्ल्याकमा घाँसपातसहित निलो रंगको रेजिन भरेर बनाइने टेबल ठ्याक्कै जंगलको बीचबाट नदी बगेको जस्तै देखिन्छ । काठ र रेजिनका घडीलगायत थुप्रै आकर्षक सजावटी सामान भेटिन्छ । अहिलेका युवापुस्ता माझ प्रिजभ्र्ड फ्लावर ज्वेलरी निकै लोकप्रिय छ, जहाँ प्राकृतिक फूललाई रेजिनभित्र सधैँका लागि ताजा राख्न सकिन्छ ।

रेजिनको अद्भुत गुण, परदर्शी विशेषतालाई उपयोग गर्दै अहिले रेजिनका शिवलिंगहरू निकै लोकप्रिय बन्न थालेका छन् । परम्परागत ढुंगाका शिवलिंगभन्दा फरक, रेजिनबाट बनेका यी सिसा जस्तै कञ्चन र सफा देखिन्छन्, जसकोभित्र एलइडी लाइट जडान गरिन्छ । यसले पूरा शिवलिंग भित्रैदेखि जगमगाउँछ । यस्तो लाग्छ कि भगवान् शिवको ज्योति साक्षात् प्रकट भइरहेको छ ।

रेजिनबाट सिसा वा मार्बल जस्तै देखिने हलुका र मौसम प्रतिरोधी आकर्षक कलाकृतिहरू बनाउन सकिने हुँदा यसबाट ठुला सार्वजनिक स्मारक निर्माण भइरहेको छ । टोरन्टो, क्यानाडाकोमा ८.५ मिटर अग्लो मूर्ति स्पेनिस कलाकार जुमे प्लेन्साले पोलिएस्टर रेजिन र मार्बलको धुलो मिसाएर निर्माण गरेका छन् ।

चिकित्सा र दन्त सेवामा रेजिनको कमाल

रेजिनको यात्रा केवल घर सजावटका सामानमा मात्र सीमित छैन, यो अनुुहार शृंगारसम्म पुगेको छ । दाँतमा प्रयोग गरिने सेतो र बलियो पदार्थ ‘डेन्टल कम्पोजिट रेजिन’ हो । दाँत भर्न प्रयोग गरिने धातुको विकल्प रेजिनले दाँतको प्राकृतिक रङसँग दुरुस्तै मिल्ने गरी उपचार गर्न सम्भव भएको छ । आधुनिक दन्त चिकित्सामा झन्डै ९० प्रतिशत ‘फिलिङ’ रेजिनकै माध्यमबाट गरिन्छ, किनकि यो दाँतसँग यति बलियो गरी टाँसिन्छ कि चपाउँदाको ठुलो दबाब पनि यसले सजिलै झेल्न सक्छ ।

चिकित्सा विज्ञानको अर्को चमत्कार भनेको प्रोस्थेटिक्स अर्थात् कृत्रिम अंगहरूमा रेजिनको प्रयोग हो । हात वा खुट्टा गुमाएका व्यक्तिहरूका लागि बनाइने कृत्रिम अंगहरूमा रेजिन र फाइबरग्लासको मिश्रण प्रयोग गरिन्छ । यसले गर्दा ती अंगहरू निकै हलुका तर स्टिल जत्तिकै बलिया हुन्छन् ।

इन्जिनियरिङ र मेडिकल साइन्सको यो फ्युजनले गर्दा अब थ्री–डी प्रिन्टिङमार्फत व्यक्तिको शरीरको आकार अनुसार ठ्याक्कै मिल्ने हड्डीका मोडेल वा दाँतको सेट मिनेटभरमै तयार पार्न सकिन्छ । रेजिनको ‘बायो–कम्प्याटिबल’ गुणले गर्दा यसले मानव शरीरसँग कुनै नकारात्मक प्रतिक्रिया गर्दैन, जसले गर्दा यो सुरक्षित र भरपर्दो सावित भएको छ । यसरी एउटा कलाकारको क्यानभासबाट सुरू भएको रेजिनको कथा आज अस्पतालका शय्यासम्म पुगेर मानव सेवाको एउटा बलियो आधार बनेको छ ।

रेजिन थ्रिडी प्रिन्टिङ

रेजिनको कथामा सबैभन्दा आधुनिक र उत्साहजनक अध्याय हो थ्रिडी प्रिन्टिङ । परम्परागत रूपमा कुनै पनि वस्तु हातले बनाउने वा मोल्डमा ढाल्ने गर्नुपथ्र्यो, तर थ्रिडी प्रिन्टिङले कम्प्युटरको डिजाइनलाई सिधै भौतिक वस्तुमा बदलिदिएको छ । यस प्रविधिमा विशेष प्रकारको युभी रेजिन प्रयोग गरिन्छ, जुन प्रकाशको सम्पर्कमा आउनासाथ तुरुन्तै ठोस बन्दछ ।

‘फोटो–पोलिमराइजेसन’ भनिने यो पक्रियामा पत्र–पत्र थपिँदै जान्छ । एउटा तह जम्नका लागि मात्र २ देखि १० सेकेन्ड जति समय लाग्छ । यसरी पत्र–पत्र थपिँदै जाँदा केही घण्टाभित्रै जटिल र मसिनो बुट्टा भएको बस्तुहरू जस्तै मूर्ति, मेसिनको पुर्जा, दन्त चिकित्साका मोडेल, गहनाका नमुना र इन्जिनियरिङका प्रोटोइप वा पुर्जाहरू तयार हुन्छ ।

नेपालमा पनि यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ । जहाँ हातले बनाउँदा कैयौँ दिन लाग्ने काम थ्रिडी प्रिन्टरले ९२ प्रतिशतसम्मको शुद्धता र कपाल जत्तिकै मसिना विवरणका साथ तुरुन्तै तयार पारिदिन्छ । यसरी प्रविधिको यो फड्कोले अब एउटा कलाकार वा इन्जिनियरले आफ्नो सपनालाई कम्प्युटरमा कोरेर केही घण्टामै रेजिनमार्फत एक ठोस र जीवन्त स्वरूपमा उतार्न सफल भएको छ ।

फोहोरबाट मोहोर : रिसाइकल र रेजिनको पर्यावरणीय नाता

रेजिनको कथा केवल नयाँ सामग्री बनाउनुमा मात्र सीमित छैन, यसले कवाड र फाल्न लागिएका फोहोरलाई समेत नयाँ जीवन दिने क्षमता राख्छ । अहिलेको ‘सस्टेनेबल’ संसारमा रेजिनलाई प्लास्टिक र सिसाको पुनः प्रयोगका लागि एउटा बलियो ‘बाइन्डिङ एजेन्ट’का रूपमा प्रयोग गर्न थालिएको छ । फालिएका प्लास्टिक वा फुटेका सिसाका साना–साना दानामा बदलेर रेजिनसँग मिसाइन्छ । यो मिश्रणबाट बन्ने सामग्री ढुंगा जत्तिकै बलियो हुन्छ, जसलाई हामी ‘सिन्थेटिक मार्बल’ वा ‘रेजिन–ग्लास टायल’ भन्न सक्छौँ ।

निर्माण क्षेत्रमा प्रयोग हुने परम्परागत कंक्रिटको तुलनामा रेजिन र रिसाइकल गरिएका सामग्रीबाट बनेका इँटा वा टायलहरू झण्डै ३० प्रतिशत हलुका र बढी लचिला हुन्छन्, जसले भूकम्पीय जोखिमसमेत कम गर्न मद्दत गर्छ । अहिलेका सचेत कलाकारहरूले त फुटेका सिसाका टुक्राहरूलाई पारदर्शी रेजिनभित्र सजाएर ‘क्रिस्टल’ जस्तै चम्किलो कलाकृति बनाउँदै छन् । यसले एकातिर वातावरण सफा राख्न मद्दत गर्छ भने अर्कोतिर फोहोरलाई बहुमूल्य वस्तुमा बदल्छ । यसरी रसायनशास्त्रको यो जादुले एकातिर नयाँ संरचना निर्माण गर्छ भने अर्कोतिर हाम्रो धर्तीलाई प्रदूषणमुक्त बनाउने एउटा ‘ग्रिन इन्जिनियरिङ’को बलियो आधार खडा गरिदिन्छ ।

परम्परा र प्रविधिको एउटा सुखद् संगम

माटोको सुगन्ध र ढुंगाको कठोरताबाट सुरू भएको नेपाली कलाको यो सुदूर यात्रा आज रेजिन र थ्रिडी प्रिन्टिङजस्ता अत्याधुनिक वैज्ञानिक उपलब्धिहरूसम्म आइपुगेको छ । हामीले देख्यौँ कि सामग्री केवल एउटा माध्यम मात्र होइन, यो समयको परिवर्तन र मानिसको अजेय सिर्जनशीलताको एउटा बलियो प्रमाण पनि हो । हिजो हाम्रा पुर्खाहरूले परम्परागत सीपमा आफ्नो आस्था कुँदेका थिए भने, आजको पुस्ताले इन्जिनियरिङ र रसायनशास्त्रको मद्दतले कलालाई अझ पारदर्शी, हलुका र टिकाउ बनाउँदै छ ।

चाहे त्यो पूजा कोठामा जगमगाउने शिवलिंग होस्, जलविद्युत्का जटिल टर्बाइनका पारदर्शी भाग, वा फोहोर प्लास्टिकलाई मोहोरमा बदल्ने ‘ग्रिन इन्जिनियरिङ’, रेजिनले हरेक क्षेत्रमा एउटा आधुनिक क्रान्ति ल्याएको छ । यसले नेपाली कलाकार र इन्जिनियरहरूलाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने नयाँ हतियार र पखेटा दुवै दिएको छ । कला र विज्ञानको यो जादुमयी मेलले नै हाम्रो मौलिकतालाई आधुनिक युगको मागसँग जोडेको छ, जहाँ निर्जीव पदार्थले पनि मानव स्पर्श र प्रविधिको साथ पाएपछि भविष्यको एउटा नयाँ र सुनौलो कथा सुनाउन थाल्छ ।

इन्जिनियरको मोक्ष यात्रा

काठमाडौँ विश्वविद्यालयको कबाडीकलाको अभियानमा फलामको प्रयोग त उल्लेख्य मात्रामा भइरहेको छ । निर्माणधीन स्टिल स्तम्भको टुप्पोमा पारदर्शी स्फटिकको प्रतिनिधित्व गर्दै इपोक्सी रेजिनको २५ से.मी. गोलो र ७५ से.मी. अग्लो शिबलिंग निर्माण सकिनै लागेको छ । यो विशेष मूर्तिकलाले आधुनिक इन्जिनियरिङ र आध्यात्मिक आस्थाको एउटा अनुपम संगम प्रस्तुत गरेको छ । १ः३ को अनुपातमा रेजिन र हार्डनरको मिश्रण प्रयोग गरी बनाइएको यो सिर्जनाले वस्तुहरूलाई शताब्दीयौँसम्म सुरक्षित राख्ने प्रिजर्भेसन प्रविधिको सफल प्रदर्शन गरेको छ । यस कलाकृतिको माथिल्लो भागमा भगवान् शिवको जटा जस्तो स्वरूप, रुद्राक्षको माला र शिवका आँखाजस्ता प्रतीकात्मक बुट्टाहरूले यसलाई एउटा छुट्टै आकर्षण दिएका छन् ।

यसको अर्को महत्वपूर्ण पक्ष भनेको यसभित्र सुरक्षित राखिएका धेरै प्रकारका सामग्रीहरू हुन् । तीमध्ये विशेष धातुको टुक्रा पनि छ, जुन ई–वेस्ट अर्थात् पुराना विद्युतीय फोहोरलाई गलाएर र ढालिएर बनाइएको हो । यहाँ त्यस्ता धेरै वस्तुहरूलाई स्थान दिइएको छ जुन अन्यथा फालिन सक्थे तर तिनीहरू काठमाडौँ विश्वविद्यालयको जीवित इतिहास हुन् । यस्ता सामग्रीहरूको उचित व्यवस्थापन र संरक्षणले भविष्यमा विश्वविद्यालय भ्रमण गर्ने सरोकारवालाले उनीहरूको इतिहासको लुकेको खजानाको रूपमा गर्व गर्न सकून् । यस मूर्तिको सुन्दरताका लागि यसको भित्री भागमा विशेष लाइटिङ जडान हुँदै छ, जसका कारण मूर्तिले एउटा दिव्य रूप लिनेछ । विश्वविद्यालयमा भइरहेको यो प्रयोगले एकातिर हाम्रा महत्वपूर्ण सांस्कृतिक सामग्री र फोहोर मानिने वस्तुहरूलाई सधैँका लागि ‘टाइम क्याप्सुल’मा झैँ सुरक्षित राख्न सकिन्छ भन्ने पुष्टि गर्छ भने, अर्कोतिर अनुसन्धान र सिर्जनशीलतालाई जोडेर भविष्यका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ ।

यो कलात्मक, रचनात्मक र नवीनताका साथ भविष्यको लागि सुन्दर सम्पदा सिर्जना गर्न निर्जीव प्राविधिक र इन्जिनियरहरूको कामको उदाहरण हो । हामी आशा गरौँ भविष्यमा प्रत्येक इन्जिनियरहरूले आफ्नो प्रत्येक डिजाइनमा परम्परागत वा अतिआधुनिक सामग्री प्रयोग गर्दै कलात्मक उत्कृष्ट कृतिहरू समावेश गर्नेछन् । त्यो मोक्ष र निर्वाणको मार्ग हुनसक्छ ।

प्रतिक्रिया