
गोरखा । हरेक चुनावमा उम्मेदवारहरू मझुवा पुग्छन्, गोरखकाली रबर उद्योगको गेट अगाडि उभिएर भाषण गर्छन्— “यो उद्योग पुनः सञ्चालन गर्नेछौँ ।” तर, चुनाव सकिन्छ, नेताहरू फर्कन्छन्, केवल फर्कँदैन त उद्योगको त्यो पुरानो रौनक ।
विस २०४१ जेठ ३० गते उद्योग विभागमा दर्ता भई २०४२ सालमा तत्कालीन राजा वीरेन्द्रबाट शिलान्यास गरिएको गोरखा नगरपालिका–१३, मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेड अहिले कङ्काल जस्तै बनेको छ । नेपालको एक मात्र रबर उद्योगका रूपमा स्थापित यसले २०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । छिमेकी मुलुक चीनको प्राविधिक तथा आर्थिक सहयोगमा निर्मित यो उद्योग कुनै समय देशको औद्योगिक सान र राष्ट्रिय पुँजी वृद्धिको बलियो खम्बा थियो ।

निर्यातको त्यो सुनौलो युग
सरकारी र निजी साझेदारीमा सञ्चालित यस उद्योगले वार्षिक १ लाख २० हजार थान टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । आफ्नो सफल कालखण्डमा यसले वार्षिक ८८ हजार थानसम्म उच्च गुणस्तरका टायर उत्पादन गर्थ्यो। ट्रकका लागि १२ प्रकारका, जिप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यहाँ बन्थे ।

त्यसबेला नेपाली टायरको माग स्वदेशमा मात्र सीमित थिएन। यहाँ उत्पादित टायरहरू भारत, बंगलादेश र श्रीलङ्का जस्ता दक्षिण एसियाली मुलुकहरूमा निर्यात हुन्थे । काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान र वीरगन्जसहित देशका ३० ठूला सहरमा यसका आफ्नै डिपोहरू थिए। करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएको यस उद्योगले मुलुकको कुल टायर र ट्युब मागको ४० प्रतिशत हिस्सा एक्लै धान्ने गर्थ्यो ।

१० अर्बको सम्पत्तिमा खिया र झाडी
विगत १० वर्षदेखि यो उद्योग पूर्ण रूपमा बन्द छ। करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको यो विशाल औद्योगिक क्षेत्र अहिले झाडी र बुट्यानले भरिएको छ । सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम र हिमाल सिमेन्ट जस्ता संस्थाहरूको लगानी रहेको झन्डै १० अर्ब बराबरको राज्यको सम्पत्ति अहिले कौडीको भाउमा नष्ट भइरहेको छ ।
करोडौँ मूल्यका मेसिनहरूमा खिया लागेको छ। कुनै समय मेसिनको गडगडाहट सुनिने मझुवा अहिले सुनसान छ । उद्योगको रेखदेख र सुरक्षाका लागि केही सुरक्षागार्डहरू मात्र खटिएका छन् ।



प्रतिक्रिया