नेपाली बजारमा पोकोको कमब्याक : एक्स७ प्रो, एफ७ र एफ८ प्रो सार्वजनिक

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीको स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको ब्रान्ड नेपाली बजारमा औपचारिक रूपमा कमब्याक गरेको छ । गेमिङ र बहुकार्य स्मार्टफोनको रूपमा युवामाझ लोकप्रिय रहेको पोकोको कमब्याकले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ ।

तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै पोकोले तीनवटा अत्याधुनिक स्मार्टफोनसमेत सार्वजनिक गरेको हो । नयाँ विशेषतासहित सार्वजनिक गरिएको पोको एक्स७ प्रो ५जी, पोको एफ७ ५जी र पोको एफ८ प्रो ५जी मोडेलमा छिटो र तीव्र रूपमा काम गर्ने चिपसेटहरू, धेरै लामो समयसम्म टिक्ने ब्याट्री र आधुनिक विशेषताहरू समावेश छन् । यसले ब्रान्डको ‘प्रदर्शन पहिलो’ अर्थात् ‘प्रदर्शन सर्वोत्कृष्ट’ भन्ने दर्शनलाई जीवन्त बनाउने विश्वास छ ।

तीन मोडेलहरू सार्वजनिक भएपछि आफ्नो धारणा व्यक्त गर्दै टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले भने– ‘हामी पोकोलाई फेरि नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएका छौं। बलियो र छिटो काम गर्न सक्ने चिपसेटहरू र लामो समय टिक्ने ब्याट्रीसँगै नयाँ विशेषतासहित डिजाइन गरिएका छन्। यसले बिना कुनै सम्झौता खेल खेल्ने, एकैपटक धेरै कार्य गर्ने र निरन्तर जडित रहने सुविधा प्रदान गर्नेछन् ।’ नेपालीको दैनिकीलाई सहज र सरल बनाउनु नै पोकोको मूल मर्म भएको बताउँदै उनले उत्कृष्ट अनुभव प्रदानका लागि सधैं प्रतिबद्ध रहने बताए ।

फ्ल्यागशिप मोडेल पोको एफ८ प्रोमा क्वालकम एसएम८७५०–एबी स्न्यापड्रागन ८ एलिट प्रोसेसर (३ एनएम) छ, जसमा अष्ट–कोर ४.३२ गिगाहर्ज कन्फिग्रेसन छ । यसमा ६.५९ इन्चको आँखा–सुरक्षा एमोलेड डिस्प्ले छ, जसको रिफ्रेस दर १२० हर्ज छ । ६२१० एमएएच ब्याट्रीसँग १०० वाट द्रुत चार्जिङ समर्थन, १२ जीबी र्याम +५१२ जीबी रोम र एन्ड्रोइड १६ सञ्चालन प्रणालीमा आधारित हाइपर ओएस ३ रहेकाले यो स्मार्टफोनले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ ।

ध्वनि गुणस्तरका लागि स्टेरियो स्पिकरहरूमा डल्बी एटमस, बोसद्वारा ट्युन गरिएको र उच्च–रिजोलुसन अडियो समर्थन छ । क्यामेरामा वाइड, टेलिफोटो र अल्ट्रावाइड लेन्सहरूको त्रि–सेटअप छ, जसले अनेक प्रकारका बहुउपयोगी फोटोग्राफीलाई सम्भव बनाउनेछ । यसमा आईपी६८ स्तरको सुविधा छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ। यो फोन टाइटेनियम सिल्भर, निलो र कालो रङहरूमा उपलब्ध छ ।

त्यस्तै अर्को मोडेल पोको एक्स७ प्रो ५जीमा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट (४ एनएम) छ, जसमा अष्ट–कोर ३.२५ गिगाहर्ज प्रोसेसर छ। ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले (१२० हर्ज रिफ्रेस दर) सँगै ६००० एमएएच ब्याट्री र ९० वाट हाइपरचार्ज विशेषता छन् । एन्ड्रोइड १५ र हाइपर ओएस २ मा आधारित यो फोन १२ जीबी र्याम +५१२ जीबी रोम सँगै आउँछ । स्टेरियो स्पिकरहरू र उच्च–रिजोलुसन अडियो समर्थनसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरूको द्वि–सेटअपको सुविधा छ । यो कालो, हरियो र पहेंलो रङहरूमा उपलब्ध छ । यसमा पनि आईपी६८ स्तर छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ ।

त्यसैगरी पोको एफ७ ५जीमा क्वालकम एसएम८७३५ स्न्यापड्रागन ८एस जेन ४ प्रोसेसर (४ एनएम) छ, जसमा अष्ट–कोर ३.२१ गिगाहर्ज छ । ६.८३ इन्चको १.५ के एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले (१२० हर्ज) सँगै ६५०० एमएएच ब्याट्री, ९० वाट तारयुक्त चार्जिङ र २२.५ वाट रिभर्स तार चार्जिङ विशेषता छन् । एन्ड्रोइड १५ मा आधारित यो फोन १२ जीबी र्याम +५१२ जीबी रोम सँगै आउँछ ।

स्टेरियो स्पिकरहरूसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरू छन् । सिल्भर रङमा उपलब्ध यो मोडेलमा पनि आईपी६८ स्तरको सुविधा भएकाले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ ।

यी तीनै मोडेलहरूमा अगाडि एकल सेल्फी क्यामेरा छन्, जसले उच्च गुणस्तरको सेल्फी र भिडियो कलिङ सुविधा प्रदान गर्छ। टेलिटक प्राइभेट लिमिटेडसँगको साझेदारीले पोकोका उत्पादनहरू देशभरका बजारमा सहज रूपमा उपलब्ध हुने र बिक्रीपछि भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

कम्पनीले पोको एक्स७ प्रोको बजार मूल्य रु. ५५,९९९ तोकेको छ । त्यस्तै पोको एफ७को मूल्य रु. ६९,९९९ र पोको एफ८ प्रोको रु. ९९,९९९ मूल्य तोकिएको छ ।

पोकोले ९ महिनासम्म किस्ताबन्दी सुविधा पनि दिएको छ, भने सबै मोडेलहरूमा १ वर्षको ब्रान्ड वारेन्टी सुविधासमेत छ । पोकोका यी नयाँ स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरूम तथा आउटलेटहरूमा उपलब्ध छन् ।

प्रतिक्रिया