मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या नेपालको जनसंख्या हाराहारी

नेपाली बैंकिङ क्षेत्रमा डिजिटल क्रान्ति

काठमाडौँ । नेपालमा डिजिटल बैंकिङको आकर्षण उत्साहजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ पुसको मासिक प्रतिवेदनअनुसार डिजिटल बैंकिङप्रति उत्साहजनक आकर्षण देखिएको हो । पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९० लाख २ हजार ९८४ पुगेको छ । मोबाइल बैंकिङ प्रयोग कर्ताको संख्या करिब नेपालको कुल जनसंख्यासँग बराबर पुग्न लागेको हो ।

नेपालको जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार रहेको थियो । मोबाइल बैंकिङ प्रयोग कर्तामध्ये वाणिज्य बैंकका मात्रै २ करोड ४८ लाख ५३ हजार ३०, विकास बैंकहरूमा ३८ लाख ३० हजार ६०९ र वित्त कम्पनीहरूमा ३ लाख १९ हजार ३४५ ग्राहक रहेका छन् ।

कोभिड–१९ को कारण लागू गरिएको लकडाउनका कारण मानिसहरू घरमै बस्नुपर्ने भएपछि डिजिटल कारोबारमा ह्वात्तै वृद्धि भएकोले आर्थिक वर्ष २०७६/०७७ नेपालमा मोबाइल बैंकिङका लागि एउटा विशेष समय मान्छि । उक्त आवको सुरुआततिर मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब १ करोड १० लाख हाराहारी थिए ।

डिजिटल भुक्तानीको अर्को माध्यम डेबिट कार्ड (एटिएम) प्रयोगकर्ताको संख्या पनि १ करोड ३९ लाख ९७ हजार ५४९ पुगेको छ । यसैगरी, क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या ३ लाख २६ हजार ४५७ रहेको छ, भने प्रिपेड कार्ड प्रयोगकर्ता २ लाख ७१ हजार ६६८ पुगेको छ । इन्टरनेट बैंकिङतर्फ भने ग्राहकको संख्या २३ लाख २८ हजार ३४३ रहेको छ । हाल देशभर ५ हजार २७७ वटा एटिएम सञ्चालनमा छन्, जसले ग्राहकलाई भौतिक रूपमा बैंकसम्म नपुगी नगद कारोबार गर्न सहज बनाएको छ । वाणिज्य बैंकहरूले मात्रै ४ हजार ८९९ वटा एटिएम सञ्चालन गरिरहेका छन् ।

नेपाल क्यासलेस (नगदरहित) अर्थतन्त्रतर्फ उन्मुख भइरहेको संकेत देखिएको विज्ञहरू बताउँछन् । वित्तीय संस्थाहरूले ल्याएका विभिन्न डिजिटल अफरहरू, क्युआर कोड भुक्तानीको बढ्दो प्रयोग र सर्वसाधारणमा आएको चेतनाका कारण डिजिटल बैंकिङमा आकर्षण बढेको विज्ञहरूको धारणा छ । बढ्दो प्रविधिसँगै हुनसक्ने वित्तीय जोखिम र साइबर सुरक्षाका चुनौती पनि उत्तिकै बढेको हुँदा समयमै सचेत नभए दुर्घटना निम्तिनेतर्फ विज्ञहरूले सचेत गराएका छन् । पछिल्लो समय साइबर अपराधका मुद्दामध्ये सबैभन्दा बढी डिजिटल ठगीका मुद्दा रहेको प्रहरीको भनाइ छ । अनुसन्धानको पाटोसमेत एकदमै जटिल रहेको र विश्वको जुनसुकै कुनाबाट अपराध हुन सक्ने भएकाले डिजिटल कारोबारमा सुरक्षाका उपाय अपनाउन प्रहरीले सचेत गराउँदै आएको छ ।

देशभर साढे ६ हजार शाखा, निक्षेप खाताको संख्या ६ करोड १७ लाख

बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको संख्या ६ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ । वाणिज्य बैंकहरूमा मात्र ५ करोड ३० लाखभन्दा बढी निक्षेप खाता सञ्चालनमा छन् । यसैगरी, चालु आर्थिक वर्षको कर्जा खाताको संख्या २० लाख २४ हजार २८० पुगेको छ । देशभर बैंक तथा वित्तिय संस्थाहरूका ६ हजार ५११ शाखा सञ्चालनमा छन्, जसमा वाणिज्य बैंकहरूको संख्या सबैभन्दा बढी छन् ।

प्रतिक्रिया