पूर्वाधार विकासमा गति लिँदै महाबै-१

कालिकोट । कालिकोटको महाबै गाउँपालिका–१ मा पछिल्लो समय विकास निर्माणका गतिविधिले तीव्रता पाएका छन् । बस्तीभित्र खानेपानीका धारा, सिँचाइ कुलो, विद्यालय भवन मर्मत र सुरक्षा पर्खाल निर्माणजस्ता कार्यले गाउँको स्वरूप बदल्न थालेको हो ।

वडाका विभिन्न बस्तीमा व्यवस्थित ढुंगा–सिमेन्टको पर्खाल (रिटेनिङ वाल) र सिँचाइका लागि पक्की कुलो निर्माण भइरहेकाे छ । स्थानीयस्तरमा खानेपानी आपूर्तिलाई सहज र स्थायी बनाउन सार्वजनिक धाराहरू निर्माण गरिएको छ । यसबाट स्थानीय बासिन्दाले स्वच्छ खानेपानीमा पहुँच पुग्नुका साथै दैनिकीमा समेत सहजता आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

विकास निर्माणमा स्थानीयको सक्रियता पनि उत्तिकै देखिएको छ । खेतबारीसम्म पानी पुर्याउन निर्माण भइरहेको सिँचाइ कुलोका लागि स्थानीय नागरिकले श्रमदानसमेत गर्दै आएका छन् ।

सिँचाइ सुविधा विस्तार भएपछि बाँझो जमिन उपयोगमा आउने र कृषि उत्पादन वृद्धि भई किसानको आर्थिक अवस्था मजबुत हुने अपेक्षा गरिएको छ । स्थानीय तहको योजना र प्राविधिक सहयोगमा जनसहभागितामूलक विकासको संस्कृति फस्टाएको स्थानीयको भनाइ छ ।

महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह ‘भिजन’ ले वडास्तरीय योजनाहरूलाई दिगो विकासको आधारका रूपमा अघि बढाइएको बताए । ‘पूर्वाधार विकासबिना समृद्धि सम्भव छैन,’ अध्यक्ष सिंहले भने, ‘हामीले शिक्षा, खानेपानी, सिँचाइ र प्रशासनिक संरचनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। यो केवल संरचना निर्माण मात्र नभई गाउँको भविष्य निर्माणको आधार पनि हो ।’

उनका अनुसार हाल वडा नं. १ मा १० लाख रुपैयाँको लागतमा सिँचाइ कुलो, २० लाखमा विद्यालयमा खानेपानी योजना, १२ लाखमा वडा कार्यालयको सुरक्षा पर्खाल र ४ लाख रुपैयाँको लागतमा विद्यालय भवन मर्मत कार्य भइरहेको छ । यी योजनाहरूले प्रत्यक्ष रूपमा जनजीवन सहज बनाउने र महाबैलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया