
काठमाडौँ । नेपाली कृषि क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ७ महिना (साउन–माघ)को तथ्यांकअनुसार कृषि क्षेत्रका उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता उच्च छ । उद्योग विभागका अनुसार ४० अर्ब २८ करोड ३३ लाख ८० हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त हुँदा कृषिमूलक उद्योगमा मात्रै २१ अर्ब ९० करोडको प्रतिबद्धता आएको छ । ७ महिनाको अवधिमा ५२४ उद्योगमा लगानीको योजना स्वीकृत भएकामा कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका ३५ उद्योगमा २ अर्ब ४० करोड, पर्यटनमूलक क्षेत्रका १५० उद्योगमा १० अर्ब ८६ करोड र सेवामूलक क्षेत्रका ३४ उद्योगमा ३ अर्ब ५४ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, सेवामूलक ३४ वटा परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सूचना प्रविधिमूलक २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । संख्यात्मक हिसाबले सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।
जसमध्ये सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २८८ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा ८ वटा ठुला, ८ वटा मध्यम र ५०७ वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार माघमा मात्र ४८ वटा साना उद्योग तथा एउटामात्र ठुलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार यस अवधिमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३५१ उद्योगका लागि ३ अर्ब २५ करोड ९ लाख तथा अप्रुभल रुटबाट १७३ उद्योगमा ३७ अर्ब ३ करोड २४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योगहरूबाट २० हजार ८९६ रोजगारी सिर्जना हुने आकलन गरिएको छ । सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् ३४ उद्योगका लागि ४ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ३३ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ । हालसम्म विभागले कुल ७ हजार ७६२ वटा उद्योगमा ६ खर्ब ७६ अर्ब ४८ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।
माघमा मात्रै ४९ उद्योगका लागि १ अर्बको प्रतिबद्धता
माघमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३७ उद्योगमा ४४ करोड ९ लाख रुपैयाँ र अप्रुभल रुटबाट १२ उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । माघ महिनामा कुल ४९ उद्योगका लागि १ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ ।
लाभांश र रोयल्टी साढे २० अर्ब फिर्ता
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले ७ महिनाको अवधिमा १६ अर्ब २६ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५३ करोड रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो । गत माघ महिनामा मात्रै ५ अर्ब ९३ करोड लाभांश फिर्ता लैजान स्वीकृति पाएका छन् । ७ महिनाको अवधिमा ४ अर्ब १९ करोड २५ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको हो । रोयल्टीबापत ७ लाख ९३ हजार १८३ अमेरिकी डलर, १५ करोड ९८ लाख भारु बाहिर लैजान स्वीकृत गरिएको छ । चालु आर्थिक वर्षको माघमा मात्रै रोयल्टीबापत २८ करोड ८८ करोड फिर्ता दिन स्वीकृत दिएको छ ।
प्रतिक्रिया