
काठमाडौँ । सरस्वतीनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था रिलायन्स इन्टरनेशनल एकेडेमीले आगामी माघ २८ गतेदेखि तीन दिने बृहत् विज्ञान प्रदर्शनी तथा मेलाको पाँचौं संस्करण आयोजना गर्ने भएको छ । ‘युग सुहाउँदो प्रविधि र व्यावहारिक क्रियाकलाप’ भन्ने मूल लक्ष्यका साथ आयोजना हुन लागेको यो मेला माघ २८, २९ र फागुन १ गतेसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुनेछ । प्रदर्शनीको उद्घाटन त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्र तथा ब्रह्माण्ड विज्ञानका विशिष्ट विद्वान एवं वैज्ञानिक प्रा.डा. उदयराज खनालको प्रमुख आतिथ्यमा हुनेछ ।
यस वर्ष प्रदर्शनीमा विज्ञान र सूचना प्रविधिसँग सम्बन्धित कुल ६१ वटा प्रदर्शन कक्ष (स्टल) हरू रहनेछन् । मेलामा विद्यार्थीहरूले आफ्नै मौलिक खोज र अनुसन्धानबाट तयार पारेका सामग्रीहरू प्रदर्शन गर्नेछन् ।

मेलामा प्रविधि अन्तरगत बुद्धिमानी शिरस्त्राण (स्मार्ट हेल्मेट), अनुहार चिनारीबाट खुल्ने ढोका र विमानको विपद् व्यवस्थापन नमूना सामग्रीहरू प्रदर्शन गरिनेछन् । त्यस्तै, पुतली सङ्ग्रह, लोपोन्मुख चरा ‘खरामुजुर’ को संरक्षणसम्बन्धी परियोजना, चित्रकला, दन्त शिविर, शैक्षिक पुस्तक प्रदर्शनी, लेखकसँग अन्तर्क्रिया र विभिन्न खाद्य परिकारका कक्षहरू राखिनेछन् ।
यस प्रदर्शनीबाट काठमाडौँ उपत्यकाका करिब ५,००० विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । विद्यार्थीहरूमा वैज्ञानिक खोज, आविष्कार र अनुसन्धान गर्ने बानीको विकास गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। मेलाको दोस्रो दिन ‘व्यापारिक अवधारणा प्रस्तुतीकरण’ (Business Idea Pitching) कार्यक्रम समेत सञ्चालन गरिनेछ ।
विज्ञान प्रदर्शनीको समापनको अवसरमा फागुन १ गते साङ्गीतिक प्रतिभा प्रस्फुटनका लागि ‘रिलायन्स गायन तारा’ (Reliance Singing Idol) को छैटौँ संस्करणको अन्तिम प्रतिस्पर्धा समेत आयोजना गरिनेछ। रिलायन्स शिक्षा सञ्जालले आफ्ना विद्यार्थीहरूलाई राष्ट्रको असल र सभ्य नागरिक बनाउन पठनपाठनका साथै यस्ता अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
प्रतिक्रिया