
चितवन । भारतमा दुधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दुधको मूल्य विगतको तुलनामा बढेर नेपाली दुधसरह भएपछि नेपाली किसानले दुधको मूल्य पाएका हुन् । भारतीय दुध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठुलो मात्रामा नेपालमा दुध आउने गर्दथ्यो ।
विगतका वर्षमा यो मौसममा भारतबाट अवैध दुध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गर्दथ्यो । यससँगै यहाँ उत्पादन भएको दुधलाई बिक्री गर्न नसकेपछि प्रशोधन गर्न बाध्य हुनुपथ्र्यो । यस वर्ष भारतमा दुधको मूल्य बढेपछि यहाँको दुध सीमा क्षेत्रबाट अवैध रूपमा भारतका बजारमा जान थालेको छ । जसका कारण नेपाली उत्पादनले बजार पाएको छ ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दुधको मूल्य नेपालको भन्दा ४६ पैसा मात्र बढी छ । जसका कारण भारतीय बजारबाट विगतमा अवैध रूपमा आउने गरेको दुध यस वर्ष आएको छैन । उनले भने, ‘ढुवानी जोड्दा नेपालीभन्दा महँगो पर्ने भएपछि भारतबाट दुध आएको छैन, यहाँको लुकीछिपी सीमा क्षेत्रबाट भारत लगिएको छ ।’ यहाँको सीमा क्षेत्रबाट भारतको पटनालगायत सीमा क्षेत्रमा लुकाइ–छिपाइ दुध गएको सूचना आएको उनी बताउँछन् । यससँगै भुक्तानी समयमा नपाउँदा किसानले पशुपालनमा रुचि कम गरेका कारण उत्पादन पनि घटेको उनको भनाइ छ ।
यो मौसममा यकिन तथ्यांक नभए पनि दैनिक ४५ लाख हाराहारी लिटर दुध उत्पादन हुने गरेको उनको दाबी छ । गत वर्षको तुलनामा १ लाख हाराहारी लिटर दुध घटेको उनको भनाइ छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले यस वर्ष भारत तर्फबाट दुध नआउँदा यहाँ उत्पादित दुधले बजार पाएको बताउँछन् । उनको भनाइमा मंसिर, पुस र माघ महिना दुधको खपत कम हुने भएकाले उत्पादनको व्यवस्थापन जटिल हुने गर्दछ । जाडो महिनामा दही, आइसक्रिमजस्ता दुग्धजन्य उत्पादन खपत नहुने उनी बताउँछन् ।
उनले भने, ‘भारततर्फबाट दुध नआउँदा हामीलाई ठिक भएको छ, यहाँको बजार मिलेको छ ।’ विगतका वर्षमा मिल्क होलिडे पनि गर्नुपरेको भन्दै उनले अहिले बजारमा उत्पादित दुध खपत भइरहेको बताए ।
दुध बिक्री नभएपछि प्रशोधनका लागि यहाँको चितवन मिल्कमा यो समयमा धेरै दुध आउने गर्दथ्यो । विगतका वर्षमा ३ दिनसम्म कन्टेनर सडकमा लाइन बस्ने गरेको भन्दै चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले यो वर्ष त्यस्तो अवस्था नरहेको बताए । गत वर्षमा दैनिक २ लाख लिटर दुध आउने गरेकामा यो वर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको उनी बताउँछन् ।
असार, साउनमा यहाँ प्रशोधनका लागि दुध आउँदैन । भदौदेखि जेठसम्म प्रशोधनका लागि दुध आउने गर्दछ । यो वर्ष भदौ, असोजमा महिनाको ४ लाख लिटर हाराहारी, कात्तिकमा १० लाख हाराराहारी, मंसिरमा १५ लाख हाराहारी र पुसमा २० लाख हाराहारी दुध आएको भन्दै उनले गत वर्षको तुलनामा निकै कम भएको बताए ।
उनले स्मरण गरे, ‘गत वर्षमा नौनी र दुध पाउडर राख्ने ठाउँ नभएर उद्योग बन्द गर्नुपर्ने अवस्था हुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन ।’ भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क अहिले सहकारी र डेरीहरूले शुल्क तिरेर प्रशोधन गर्न दुध ल्याउने गर्दछन् । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ ।
प्रतिक्रिया