
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी निर्वाचनमा उम्मेदवारका लागि खोलिने बैंक खाताको सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भई आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म ‘इलेक्सन क्याम्पेनिङ’ प्रयोजनका लागि खोलिने बैंक खाताको सञ्चालनमा सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
उक्त निर्देशनअनुसार राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका लागि खोलिने यस्ता खातामा आवश्यक विशेष छुटको व्यवस्था लागू हुनेछ । निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले खोल्ने निर्वाचन खर्च खातामा लागू हुने गरी यो छुट प्रदान गरिएको हो । राष्ट्र बैंकका अनुसार निर्वाचन अभियान सञ्चालनका क्रममा आम्दानी–खर्चको कारोबार गर्न प्रत्येक दल वा उम्मेदवारले एउटा मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् ।
आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा आमनिर्वाचन अभियान सञ्चालनका क्रममा हुने आम्दानी–खर्च कारोबार नेपाली मुद्रा (रुपैयाँ–पैसा) मा गर्न सकिने गरी उक्त बैंक खाता खोल्न पाइने व्यवस्था गरिएको हो । यसका लागि ‘इलेक्सन क्याम्पेनिङ’ समूह वा सोही प्रकृतिका अन्य खातामार्फत कारोबार गर्न सकिने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई सो व्यवस्था कार्यान्वयनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्वाचन खर्चको वित्तीय कारोबारलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
निर्वाचन आयोगले उक्त खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि यस व्यवस्थामा विशेष छुट प्रदान गरिएको जनाउँदै सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया