भुइँमान्छेले सुन्नै नसक्ने भयो सुनको भाउ !

नेपाली बजार सुनसान, रोजीरोटी गुम्ने चिन्तामा साढे ३ लाख कामदार

दियशरत्न शाक्य

बिहेको सिजन आउँदा भरिभराउ हुने पसलमा अहिले सुन किन्नेको संख्या नगन्य छ । बरु चाँदी, क्रिस्टल तथा अन्य गरगहना खरिद गर्ने बढेका छन् । व्यवसायी त केही दिन टिक्न सक्लान् । तर, कालिगढ भने पलायन हुन थालेका छन् । यही गतिमा भाउ बढ्ने र सुनबजार यसरी सुनसान हुँदै जाने हो भने करिब साढे ३ लाख जनाको रोजीरोटी गुम्ने खतरा छ । – दियशरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष – नेपाल सुनचाँदी व्यवसायी महासंघ

काठमाडौँ । सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यमा नभई नहुने पहेँलो धातु सुन अधिकांश नेपालीले खरिद गर्नै नसक्ने अवस्थामा पुगेको छ । नेपालमा बिहेको सिजन नजिकिँदै गर्दा सुनको भाउ अकासिएपछि भूइँमान्छेको पहुँचभन्दा धेरै टाढा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकै दिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य ९ दिनमा मात्रै ३३ हजार ३०० रुपैयाँले बढेको छ । माघ १ गते प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य माघ ९ गते हालसम्मकै उच्च ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिअऔँस ४ हजार ९५० अमेरिकी डलर पुगेको छ ।

विवाह, व्रतबन्ध तथा अन्य सामाजिक कार्यमा ठुलो महत्व भए पनि सुन किन्न अधिकांश नेपालीको क्रयशक्तिले नभ्याउने अवस्था आएको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यको भनाइ छ । शाक्यले नेपालीको क्रयशक्तिले नै नभ्याउने अवस्थामा सुनको मूल्य पुग्दा सुनचाँदी पसलहरू सुनसान बनेको र कालिगढहरू बेरोजगार भएर बस्नुपरेको बताए । उनले भने, ‘विवाहको सिजन आउँदा भरिभराउ हुने पसलमा अहिले सुन किन्नेको संख्या नगन्य छ । बरु चाँदी, क्रिस्टल तथा अन्य गरगहना खरिद गर्ने बढेका छन् ।’ सुनको मूल्य निरन्तर बढ्दै जाँदा सुनचाँदीको क्षेत्रमा काम गर्ने साढे ३ लाख जनशक्तिको रोजगारी प्रभावित हुन सक्ने चिन्ता उनको छ । शाक्यले भने, ‘व्यवसायी त केही दिन टिक्न सक्लान् । तर, काम गर्ने मजदुरहरू भने विगतदेखि नै काम नहुने अवस्था आएकाले पलायन हुन थालेका छन् । अब यो झन् बढ्न सक्छ ।’

०००

आयात र खपत न्यून

मूल्य बढेर उच्च विन्दुमा पुगेपछि पुस महिनामा ३ अर्ब ११ करोड २५ लाख ४८ हजार रुपैयाँ बराबरको १५० किलो सुन आयात भएकामा जम्मा ७ किलोमात्र खपत भएको महासंघले जनाएको छ । तिहारपछि सुन आयात ठप्प भएको थियो । मंसिरमा जम्मा १ किलो मात्रै सुन आयात भएको छ । चालु आवको पहिलो ६ महिनामा १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ बराबरको १ हजार ५३ किलो सुन आयात भएको छ । चालु आवको साउनमा १०० किलो, भदौमा १०१ किलो, असोजमा ४०० किलो, कात्तिकमा ३०१ किलो र मंसिरमा १ किलो सुन आयात भएको सरकारी तथ्यांक छ । गत आर्थिक वर्ष २०८१÷८२ मा १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँको सुन आयात भएको थियो ।

०००

किन बढिरहेको छ भाउ ?

विश्वका शक्तिशाली राष्ट्रहरूबीचको तनाव र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँदै लगेका कारण सुनको मूल्य अकासिएको विज्ञहरू बताउँछन् । अमेरिकी अर्थतन्त्रमा समस्या आएका कारण सुनको मूल्य बढेको उनीहरूको तर्क छ । मध्यपूर्व र युक्रेन–रुस युद्धका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन् । शक्ति राष्ट्रका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुनको मात्रा बढाउँदै लगेका कारण पनि सुनको मूल्य बढिरहेको छ । विश्वका उदीयमान अर्थतन्त्र भएका ५ वटा देशको शक्तिशाली अन्तर्राष्ट्रिय समूह ब्रिक्सले अमेरिकी डलरको विकल्प खोज्दा सुनमा लगानी बढिरहेको विज्ञहरू बताउँछन् । नेपालमा सुन आयतमा भन्सार÷कर र डलरको विनिमय दर महँगो हुँदा झन् महँगो भएको व्यवसायी बताउँछन् । शाक्यले नेपालमा सुनचाँदी व्यवसाय जोगाउन तथा साढे ३ लाखको रोजगारी गुम्न नदिन भरपुर प्रयास गर्नुपर्ने बताए । उनले भने, ‘तत्काल भन्सार दर घटाउनु, सुनका गरगहनामा लगाइएको विलासिता कर हटाउनुपर्छ ।’

प्रतिक्रिया