
काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको चर्चित नियात्रा कृति ‘यात्राको लय’ को दोस्रो संस्करण बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, डा. सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली तथा स्वयं नियात्राकार सापकोटाले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा गौतमले सापकोटाको नियात्रा सरल, सहज र पाठकलाई यात्रा गराइरहने सामर्थ्य भएको उल्लेख गरे । उनले लेखनमा इमान्दारिता अपरिहार्य हुने भन्दै सापकोटाको नियात्रामा लेखकको इमान्दार अनुभूति स्पष्ट देखिने धारणा व्यक्त गरे ।
कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘यात्राको लय’ लाई द्वन्द्वकालीन समयको जीवन्त चित्रण गर्ने कृति भएको बताए । ‘निजात्मक अनुभूति र जानकारीमूलक विवरणलाई सन्तुलनमा राख्दै सापकोटाले स–साना दृश्यलाई पनि अनुभूतिमय ढंगले प्रस्तुत गर्नुभएको छ,’ प्रधानले भने ।
लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्यिक यात्राप्रति गर्व व्यक्त गर्दै सापकोटाको विद्यालय जीवनदेखि साहित्यप्रतिको रुचिको स्मरण गरे । यस्तै, डा. सृजना शर्माले कृतिमा यात्राका क्रममा भोगिएका दुःख–पीडा, राष्ट्रियताको सवाल र छिमेकी मुलुकका हेपाहा प्रवृत्तिमाथि सशक्त चर्चा गरिएको बताइन् ।
‘पूर्वदेखि सुदूर पश्चिमसम्मका भौगोलिक र सामाजिक दृश्यमा पाठकलाई सँगै लैजान सक्ने सामर्थ्य यो कृतिमा छ,’ उनले भनिन् । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने विधा भएको उल्लेख गर्दै सापकोटा नियात्रा मात्र नभई निजात्मक निबन्धमा पनि सक्रिय र सक्षम स्रष्टा भएको बताए ।
कार्यक्रममा सभापतित्वसमेत रोदनले नै गरेका थिए । नियात्राकार स्वयं सापकोटाले आफू लेख्न रुचाउने व्यक्ति भए पनि पहिला असल पाठक भएको अनुभव सुनाउँदै पाठककै कारण लेखन यात्रामा निरन्तर अघि बढ्न प्रेरणा मिलेको बताए ।
कार्यक्रममा नियात्राकार पवन आलोक, साहित्यकार किशोर पहाडी, साहित्यिक पत्रकार संघका प्रतिनिधि राधेश्याम लेकालीले पनि सापकोटाको व्यक्तित्व र कृतिको चर्चा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई परिवारकै सदस्य जस्तै मानेको उल्लेख गरे ।
कार्यक्रमको सहजीकरण सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले व्यक्त गरेका थिए । भुँडीपुराण प्रकाशनबाट प्रकाशित ‘यात्राको लय’ दोस्रो संस्करणको मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया