नवौँ निफको तयारी

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी १९ देखि २३ चैतसम्म राजधानीमा नवौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) हुने भएको छ । आयोजकका अनुसार महोत्सवमा दर्शकहरूले ५ दिनसम्म ४० देशका ८८ फिल्म हेर्नसँगै फिल्मकर्मीहरूसँग अन्तरक्रिया गर्नेछन् । यो वर्ष आयोजकले ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा राखेका छन् । महोत्सव २१ फागुनमा हुने पूर्वनिर्धारित समयतालिकामा निर्वाचन परेपछि चैतमा गर्न लागिएको हो ।

निफका अध्यक्ष केपी पाठकले महोत्सवमा यसपटक युवापुस्ता केन्द्रित फिल्मलाई प्राथमिकता दिएको बताए । ‘निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ । युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई फिल्म मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौँ । फिल्मबाट युवा दर्शकहरूलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ,’ उनले भने । उनका अनुसार यो वर्ष ८० बढी देशबाट ८०० बढी फिल्मले महोत्सवका लागि आवेदन दिएका थिए । अध्यक्ष पाठकले पहिलाका संस्करणको तुलनामा यसपटक बढी फिल्म सहभागी भएको बताए ।
विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत फिल्म महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर फिल्म, सर्टे फिल्म, एआईबाट बनेका फिल्म र डकुमेन्ट्रीहरू महोत्सवमा छानिएका छन् ।

महोत्सवमा ‘सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधाको विजेतालाई १ हजार ५०० अमेरिकी डलरको ‘गौतम बुद्ध अवार्ड’, ‘सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र’का विजेतालाई १ लाख रुपैयाँ र डकुमेन्ट्री फिल्म विधामा उत्कृष्ट फिल्मले ‘माउन्ट एभरेस्ट अवार्ड’ सहित १ हजार अमेरिकी डलर, ‘सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र’ विधामा विजेता फिल्मले ५०० अमेरिकी डलर र ट्रफी, एआई फिल्म विधाका विजेताले ‘मञ्जुश्री अवार्ड’सहित ५०० अमेरिकी डलर र ट्रफी, ‘अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्म’का विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी, ‘राष्ट्रिय सर्ट फिल्म’ विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ सहित ५० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् ।

त्यस्तै ‘राष्ट्रिय डुकुमेन्ट्री’ विधाका विजेताले ‘वेस्ट नेसनल डकुमेन्ट्री’ अवार्डसहित ५० हजार रुपैयाँ र ट्रफी तथा ‘राष्ट्रिय फिचर फिल्म’तर्फ ‘सर्वोत्कृष्ट निर्देशक’, ‘अभिनेता’, ‘अभिनेत्री’, ‘पटकथा लेखक’ र ‘छायाकार’ विधामा ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया