अस्वीकृत हुँदा सुहानाको रोदन

मुम्बई । अभिनेता शाहरूख खानकी छोरी सुहानाले जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट ओटिटी डेब्यु गरेकी थिइन् । अब उनी चाँडै नै पिताका साथ फिल्म ‘किङ’मार्फत ठुलो पर्दामा डेब्यु गर्दैै छिन् । सुहानाका अनुसार बाल्यकालमा उनलाई अभिनयमा कुनै चासो थिएन । त्यो समयमा उनलाई कसैले जबरजस्ती फिल्म क्षेत्रमा धकेल्दै गरेको लाग्थ्यो ।

तर बोर्डिङ स्कुलमा नाटकमा काम गर्न थालेपछि अभिनयप्रति उनको हेर्ने दृष्टिकोण नै फेरियो । उनी एकपटक अस्वीकृत भएको अवस्थामा रोएकी पनि थिइन् । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई आमाबाबुले सानैदेखि रचनात्मक र अनुशासनबीच सन्तुलन राख्न सिकाएको खुलाएकी छन् । ‘विद्यालयको नाटकमा अभिनय गरिरहँदा मलाई अनौठो र असहज लाग्थ्यो । तर मलाई स्कुलमा अभिनयको चासो त्यो बेला बढ्यो जुन समयमा म कुनै नाटकमा भूमिका पाउनका लागि इच्छुक थिए र त्यसका लागि अडिसन पनि दिएको थिएँ । यति गर्दा पनि मैले मनपर्दो भूमिका पाइनँ । मलाई कोरसमा नै राखियो’, उनले भनेकी छन् ।

सुहानाका अनुसार यो कुराले उनी निकै दुःखी भएकी थिइन् । त्यसकारण उनी एक्लै कोठामा रोइन । ‘यो अस्वीकार आश्चर्यजनक किसिमको थियो । तर यो अनुभवलाई अभिनयप्रति मेरो लगाव कति छ भन्ने प्रष्ट भयो । म धेरै उदास र निरास थिएँ । त्यही बेला मैले सम्झिएँ कि म साँचो रूपमा त्यो भूमिका गर्न चाहन्छु र स्टेजमा प्रस्तुती दिएर रोमाञ्चित बन्छु । मलाई सबैभन्दा बढी मोटिभेट कुनै प्रोजेक्टको क्रिएटिभ प्रक्रियाले गर्छ । जहाँ कुतूहलता, उद्देश्य र सबैभन्दा धेरै चाहना हुन्छ’, उनी भन्छिन् ।
सुहानाले आफू ठुलो भएर पनि हरेक निर्णय आमा गौरी र पिता शाहरूखबाटै गर्ने खुलाइन् । ‘अन्तिम निर्णय उहाँहरूबाटै आउँछ । म उहाँहरूलाई सोधेर नै केही गर्छु । अन्तिम उत्तर उहाँहरूकै हुन्छ’, सुहानाले भनेकी छन् ।

प्रतिक्रिया