काठमाडौँ । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरको बिहे’को तेस्रो संस्करण सार्वजनिक भएको छ । कृति प्रकाशक एजुकेसनल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ, गजेन्द्र ङाखुसी, रमण राउतलगायतले कृतिको लोकार्पण गरेका थिए । लोकार्पणसँगै काठमाडौँको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको छ ।
कथाकार जितेन्द्रले नेवाः संस्कृति र संस्कार ‘इही’ भित्र रहेको जीवन विज्ञान समेटिएको कृतिमा नेवाः समुदायका बालिकाहरूको इही गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको बताए । नेवारी परम्पराअनुसार ‘इही’ गरिने समयमा बालिकाले दुलाहाका प्रतीक बेलकाबारे जनाएको कुतूहलताबाट सुरु हुने यो कथाको प्रस्तुतिले बालबालिकाहरूलाई मनोरञ्जन दिने प्रकाशन गृहले जनाएको छ ।
‘इही’ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दाबी छ । कथामा नेवारी परम्पराअनुसार कथाबाटै ‘इही’ गर्ने विधिसमेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई फिल्म हेरेजस्तै अनुभूति दिलाउने पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाइ छ । कृतिमा दिवंगत एक्कारामसिंको चित्र छ । कृतिको मूल्य २४५ रुपैंयाँ राखिएको छ ।
साहित्यकार रसिकका ८ बाल साहित्यका कृति र अन्य विधाका १० कृतिसहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदै छन् ।
प्रतिक्रिया