कोसीमा गुञ्जियो हेर्दै हिमाल अग्लो

झापा । कोसी प्रदेशको झापास्थित बिर्तामोडमा ‘रश्मि गजल गुञ्जन’ सम्पन्न भएको छ । गजलकार रश्मि असफलका गजलहरूलाई संगीतकार तथा गायक सन्तोष श्रेष्ठले झापाली दर्शकमाझ सुनाइरहँदा वातावरण मन्त्रमुग्ध बनेको थियो ।

रश्मिको रचना ‘हेर्दै हिमाल अग्लो, कोसी घुमेर जाऊ, आऊ रमाइलो यो, कोसी घुमेर जाऊ’ लाई सन्तोषले आफ्नै संगीतमा सुनाइरहँदा स्रोता तथा दर्शकले कोसीको सुन्दरतालाई स्मरण गरे । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजना तथा अनाममण्डली र सप्तक संगीत विद्यालय, बिर्तामोडको सहआयोजनामा गत आइतबार भएको कार्यक्रममा श्रेष्ठले असफलका विविध भावका ५ वटा गजल गाएका थिए ।

कोसी प्रदेशका प्रबुद्ध व्यक्तित्व, साहित्यकार तथा संगीतकर्मीको उपस्थिति रहेको कार्यक्रममा भारतको दार्जिलिङका संगीत साधक जीवनप्रकाश प्रधानको पनि सहभागिता थियो । कार्यक्रममा स्रष्टा विवश बलिभद्र कोइरालाले रश्मि आफैँमा कुशल शब्दशिल्पी भएकी र उनका गजलमा संगीतकार सन्तोषले भरेको धुन र दिएको गला सुमधुर भएको बताए ।

दार्जिलिङका संगीतकार प्रधानले अहिले नेपाली गजल गायन फैलिइरहेको अवस्थामा आफूले पनि एलबम ‘मतला’ तयार पारेको र त्यही एल्बमका लागि नेपाल आएको सुनाए । ‘नेपाली गजल गायनको स्वर्ण दशक, २०८०–२०९०’का एक अभियन्ता तथा अनेगमका अध्यक्ष घनेन्द्र ओझाले गजल गायन अभियान १० वर्षभित्र सातै प्रदेशमा सञ्चालन गर्ने योजना अर्का अभियन्ता संगीतकार तथा गायक सन्तोष र आफ्नो रहेको बताए । उनले २ वर्षभित्रै ३ वटा प्रदेशमा अभियान सम्पन्न भइसकेको र अब चाँडै मधेस र लुम्बिनीमा पनि गायन गरिने जनाए ।

अभियानअन्तर्गत नै राधा कणेल र आफ्ना शब्दमा सन्तोषकै संगीत र स्वरमा एलबम ‘नसोधी’ आइसकेको र ३ माघमा जीवनप्रकाश प्रधानको संगीतमा भारतको दार्जिलिङबाट प्रकाशित राधा, रश्मि र आफ्ना शब्द रहेको एलबम ‘मतला’ पनि सार्वजनिक हुने बताए । ओझाले गजलकार असफल र संगीतकार श्रेष्ठको परिचय दिँदै नारी गजलकारका एकल गजलको प्रत्यक्ष गायन कोसी प्रदेशमै सम्भवतः पहिलो भएको बताए ।

साहित्यकार पूर्वमुख्यसचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा.भोजराज घिमिरेले नेपाली गजल गायन अभियानमा आफू पनि संलग्न रहेको र यस अभियानअन्तर्गत झापाको कार्यक्रम भव्य बनेको दाबी गरे ।

प्रतिक्रिया