कांग्रेसको विशेष महाधिवेशनले दिएको सन्देश

सभापति शेरबहादुर देउवाको चाहना विपरीत मात्रै होइन, असफल बनाउने प्रयासका बाबजुद नेपाली कांग्रेसको विशेष महाधिवेशनमा करिब ६० प्रतिशत सहभागिता जुट्नु महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सफलता मात्रै होइन, नेपाली कांग्रेस यथास्थितिमा अघि बढ्न सक्दैन भन्ने सन्देशसमेत हो । झट्ट हेर्दा महामन्त्रीद्वयको नेतृत्वमा अघि बढेको विशेष महाधिवेशन नेपाली कांग्रेसको आन्तरिक मामिलाजस्तो देखिए पनि यसको सफलता वा असफलतासँग मुलुकको लोकतन्त्रको भविष्यसमेत जोडिएको छ ।

किनकि बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले शासन सञ्चालन गर्ने भएकोले दलहरूमा आन्तरिक लोकतन्त्र संस्थागत भयो भने मात्रै मुलुकको समग्र लोकतन्त्र बलियो हुन्छ । यसर्थ नेपाली कांग्रेसको विशेष महाधिवेशन आन्तरिक लोकतन्त्रको बिगुल फुक्न सफल भएको छ । सकेसम्म रोक्ने, यदि आयोजना भइहाल्यो भने कुनै पनि हालतमा बहुमत पुग्न नदिने अभियानका साथ सभापति देउवा तथा उनको टिम ३–४ महिनादेखि अहोरात्र जुट्दा पनि यति ठुलो सहभागिताका साथ विशेष महाधिवेशन अघि बढ्नु भनेको एकप्रकारको विद्रोह हो ।

विधान तथा कानुनका छिद्रको हवाला दिएर विशेष महाधिवेशनको वैधतामाथि संस्थापन पक्षले कुरा उठाउनु स्वाभाविक हो । तर राजनीतिक रूपमा सभापति देउवाको औचित्य समाप्त भइसकेको छ । विधानतः महाधिवेशन भनेको नेपाली कांग्रेसको संसद् हो । जसरी संसद्मा बहुमत गुमेपछि प्रधानमन्त्रीको बैधता समाप्त हुन्छ, त्यसरी नै बहुमत महाधिवेशन प्रतिनिधिहरू विपक्षमा खडा भएपछि सभापतिको बैधता पनि समाप्त हुन्छ । त्यसैले विशेष महाधिवेशनले साविकको केन्द्रीय समिति विघटन नगर्दै सभापति पदबाट राजीनामा दिनु स्वयंका लागि, पार्टीका लागि र मुलुककै लागि हितकर हुने सुझावलाई देउवाले अवलम्वन गर्नु नै अहिलेका लागि सुल्टो बाटो हो ।

बहुमतका साथ विशेष महाधिवेशन आयोजना भइसकेपछि नीति तथा नेतृत्व परिवर्तन प्रक्रिया स्वाभाविक हो । नेतृत्व परिवर्तनका लागि सहज रूपमा बाटो खोल्न विशेष महाधिवेशनद्वारा भएको आग्रहलाई सभापति देउवाले स्वीकार नगरेको अवस्थामा उत्पन्न हुने परिस्थितिलाई लिएर कांग्रेसलाई एक ढिक्का भएको देख्न चाहनेहरू यतिबेला चिन्तित छन् । किनकि आमनिर्वाचनको मिति सन्निकट आइसकेको छ । यो अवधिमा नयाँ दल दर्ता प्रक्रिया अघि नबढ्ने भएकोले नेपाली कांग्रेस विधिवत रूपमा विभाजित नहोला, तर स्थापित पक्ष र विस्थापित पक्षबीचको अविश्वासको प्रत्यक्ष असर आमनिर्वाचनमा पर्ने चिन्ता स्वाभाविकै हो । विशेष महाधिवेशनमा बहुमत पुर्याउने चुनौतीलाई सामना गर्दै लक्ष्यमा पुर्याउन महामन्त्रीद्वय सफल भएका छन् । तर यो भन्दा ठुलो चुनौती पार्टी पंक्तिलाई एक ढिक्का राख्नु हो ।

निर्वाचन आयोगले कस्तो निर्णय देला ? भन्ने प्रश्नको उत्तर केही दिनभित्र आउने नै छ, तर विशेष महाधिवेशनको सहभागिताले वर्तमान संस्थापन पक्ष अल्पमतमा परेको र विशेष महाधिवेशन अभियानको बहुमत पुष्टि भइसकेको छ । बहुमत पक्षले अल्पमत पक्षलाईसमेत सँगै लिएर अघि बढ्ने नेपाली कांग्रेसको हालसम्मको संस्कार हो । यही संस्कारले नै नेपाली कांग्रेसलाई जीवित बनाएको छ । आजभन्दा करिव साढे ७ दशकअघि १ वर्षको अन्तरालमा स्थापना भएका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीमध्ये आजको दिनसम्म नेपाली कांग्रेस किन निरन्तर एउटै पार्टीका रूपमा छ ? किन कम्युनिस्टहरू दर्जनाँै पार्टीका रूपमा छन् ? भन्ने प्रश्नको उत्तर भनेकै बहुमत पक्षले अल्पमत पक्षको कदर गर्दै अघि बढ्ने कांग्रेसको संस्कार हो । यो संस्कार जीवित रहेसम्म कांग्रेस पार्टी फुट्दैन ।

एकप्रकारले विद्रोहका रूपमा आयोजना भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनले युग अनुसारको परिवर्तन तथा दलभित्रको आन्तरिक लोकतन्त्र थुन्ने प्रयास गर्नेहरू दण्डित हुने युग आइसकेको सन्देश दिएको छ । यो सन्देशलाई आत्मसात गर्दै जानु अब नेपाली कांग्रेसका प्रतिस्पर्धी पार्टीहरूका लागि पनि बाध्यता बन्नेछ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने ठाउँ जबसम्म रहन्छ, तबसम्म संगठनभित्र अल्पमत पक्षले समेत हैसियत अनुसारको भूमिका पाउँछ । कांग्रेसका वर्तमान सभापति देउवा कतिपय मामिलामा आलोचित छन्, तर पार्टीभित्र अल्पमत पक्षलाई पनि यथोचित भूमिका दिने मामिलामा उनले आफ्ना पूर्ववर्तीहरूको पदचापलाई धेरै हदसम्म अनुकरण गरेका छन् ।

यदि देउवाले पनि केपी शर्मा ओलीले नेकपा एमाले चलाएकै शैलीमा कांग्रेस चलाएको भए विशेष महाधिवेशनको प्रयास गर्नेहरूलाई कारबाहीको घोषणा गरिएको समाचार एक–डेढ महिनाअघि नै मिडियामा आइसक्ने थियो । यतिबेलासम्म नेपाली कांग्रेस सग्लो रूपमा नरहन पनि सक्थ्यो । यदि विशेष महाधिवेशनको म्यान्डेटलाई चुनौती दिँदै सभापति देउवाले थप कदम चाले भने बेग्लै कुरा हो, होइन भने नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्ने सम्भावना अझै जीवित छ । अल्पमत पक्षको कदर गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने मामिलामा चुकेनन् भने कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले मुलुकको लोकतन्त्र सुरक्षित राख्छन् भन्ने जनविश्वास बढ्दै जानेछ । यो जनविश्वासले नेपाली कांगेसलाई मुलकको मियो पार्टीको भूमिकामा फेरी स्थापित गर्नेछ ।

प्रतिक्रिया