
नेपाली कला क्षेत्र अहिले निकै गर्माएको छ । कारण हो– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव । प्रमुख राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नाम चलेका कलाकार समेटिएपछि कलाकारलाई फोनमा, भेटेर अथवा सामाजिक सञ्जालमार्फत् बधाई तथा शुभकामना दिनेको ओइरो छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारको सूचीमा गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा, अभिनेता तथा निर्माता आसिफ शाह, मोडल तथा डाक्टर रूपक विश्वकर्मा घिमिरे (आयुष्मान), गायिका तथा निर्मात्री सत्यकला राई छन् । यद्यपि आसिफले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

नेकपा एमालेले गायिका तथा राष्ट्रियसभाकी पूर्वसदस्य कोमल वलीलाई पनि समानुपातिक सूचीमा राखेको छ । त्यस्तै आमजनता पार्टीले मोडल तथा नायिका एलिजा गौतमलाई पनि समानुपातिकको सूचीमा राखेको छ । कोमलबाहेक अनुहार नेपाली राजनीतिमा नयाँ हुन् ।
यीमध्ये केहीका लागि समानुपातिक उम्मेदवारी आकस्मिक बनेको छ भने कतिपयलाई पूर्वतयारी जस्तै । गायिका सत्यकलाका लागि राजनीति नयाँ अनुभव जस्तै हो भने डा. आयुष्मानले चाहिँ रास्वपाबाट नै राजनीति सुरु गरेका हुन् ।
आवश्यकता कि बाध्यता ?
स्वदेशदेखि विदेशका स्टेज कार्यक्रममा व्यस्त गायिका सत्यकलालाई रास्वपाले समानुपातिक उम्मेदवार प्रस्ताव गर्दा उनी छक्क परिन् । उनलाई निर्माता तथा कलाकार पति नवल खड्काले उम्मेदवारको प्रस्ताव आएको सुनाएका थिए । ‘मैले राजनीतिमा अवसर र अनुभव लिएको थिइनँ । खोटाङबाट नवलजीलाई रास्वपाबाट प्रत्यक्षमा उठिदिनुप¥यो भनेर प्रस्ताव आएको रहेछ । उहाँले आफू नभ्याउने बताएपछि मेरो नाम लिनुभएछ,’ सत्यकलाले भनिन्, ‘मैले नवलजीलाई ‘तपाईंलाई ठिकै लाग्छ भने म उठ्छु नि त !’ भनेपछि समानुपातिकमा स्वीकृति दिएकी हुँ । यो मेरा लागि बाध्यात्मक अवस्था थियो । किनकि मलाई अहिलेसम्म राजनीतिमा रुचि थिएन ।’

सत्यकला राजनीतिमा आउनुलाई समयको माग मान्छिन् । ‘समय बलवान् हुन्छ । समयले एक पटक आउनु भनेपछि आएको हुँ । हामीकहाँ आफन्तजन, नातावाद, कृपावाद देखिन्छ । नजिकको आफ्ना मान्छेलाई उम्मेदवार बनाउने चलन छ । म आफू प्राध्यापक, संगीतमा स्थापित आदिवासी र माँझकिराँतकी छोरी भएकाले पनि उहाँहरूले मलाई रोजेको हुनसक्छ,’ उनी भन्छिन् । अर्का उम्मेदवार डा. घिमिरे राजनीतिमा आफू आउनु आवश्यकता भएको बताउँछन् । ‘राजनीति मूलतः मूलधारको र अर्को किसिमको हुन्छ । सन् २००६ तिर म काठमाडौँ विश्वविद्यालयमा एमबिबिएस पढ्दाताका स्टुडेन्ट क्लस्टरको अध्यक्ष थिएँ । म नेपाल मेडिकल काउन्सिलको निवर्तमान सदस्य पनि हुँ । तर, साँच्चै राजनीतिमा जाने हो भने बुझेर जानुपर्छ भनेर लागेको चाहिँ लकडाउनको समयमा हो,’ उनी भन्छन्, ‘लकडाउनका बेला नेपालको इतिहासदेखि माक्र्सवादलगायत सिद्धान्त अध्ययन गरेँ । त्यो बेला कापीकिताब किनेर नेपालको अर्थनीति, स्वास्थ्य नीति कस्तो हुनुपर्छ भनेर अध्ययन गर्दै बसेँ ।’
उनी रास्वपामा जोडिएको चाहिँ २०८० साल वैशाखमा तनहुँमा भएको उपनिर्वाचनको समयमा रहेछ । उनको घर पनि तनहुँमै भएकाले उनले त्यस समयमा प्रत्यक्षमा नै उठ्ने निर्णय लिएका रहेछन् । तर, आफ्नो ६ वर्षका जुम्ल्याहा सन्तान भएको र व्यक्तिगत कारणले पनि नउठ्न सुझाव आएपछि उनी पछि हटेका रहेछन् । ‘राम्रो मान्छे आयो भने उठ्दिनँ भन्ने थियो । त्यही बेला स्वर्णिम वाग्ले आउनुभयो । आजको दिनमा पनि समानुपातिक नभएर प्रत्यक्षमा उठ्न पनि तयार छु,’ डा. घिमिरे भन्छन् । अभिनेत्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट राजनीतिमा होमिएकी छिन् । उनको बुझाइमा वैचारिक रूपमा बाहिरबाट उनलाई नेपालमात्र नभई विश्व राजनीतिमा पनि चासो थियो । उनी विश्व नेतृत्व कसरी चल्छ, मान्छेको विचार सिद्धान्त कस्तो छ, कहाँबाट निर्माण/उत्पत्ति हुन्छ र राजनीतिमा किन लाग्छन् ? भन्ने चासो पहिलेदेखि नै थियो ।
‘एउटा विचारले निकास दिन्छ भन्ने ठाउँसम्म मानिस किन पुग्छन् भन्ने कुरामा कुतूहल थियो । मेरो रुचि यति बढी थियो कि– मैले पढाइको विषय पनि त्यही छानेँ । मैले स्नातक र स्नातकोत्तर पनि राजनीतिशास्त्रमै गरेँ । अहिले द्वन्द्व, शान्ति र विकासमा एमफिल गर्दै छु । यसैमा पिएचडी पनि गर्ने योजनामा छु,’ उनी भन्छिन्, ‘म समाजका हरेक गतिविधिमा संलग्न हुन्थेँ । आफ्नोसँगै अरूको अभियानमा पनि सहयोग र सहभागिता हुन्थ्यो । सडकमै गएर पनि सहयोग गरियो । सामाजिक न्याय, समानता र समृद्धिका कुरा, राजनीतिमा राम्रो निकास नहुन्जेलसम्म समय सान्दर्भिक रूपमा अगाडि बढिरहनुपर्छ र राजनीति भनेको यस्तो ठाउँ हो, जहाँबाट १० वर्षसम्मको भिजन राख्न सक्ने मान्छे हुनुप¥यो भन्ने लाग्थ्यो । मेरो लक्ष्य २०८४ थियो, तर अहिले नै राजनीतिमा आउनुप¥यो ।’ निशा पिएचडीसँगै २०८४ मा प्रत्यक्षमा उम्मेदवारी दिन डेटा संकलनको काममा व्यस्त थिइन् । उनको योजनाअनुसार अझै १ वर्ष बाँकी थियो । ‘तर, आन्दोलनपछि माहोल परिवर्तन भयो । अनि अब पछि हट्नुहुँदैन भन्ने लाग्यो,’ उनले भनिन् ।
जेनजी आन्दोलनको प्रभाव
गत २३ र २४ भदौको आन्दोलनले तत्कालीन शासनसत्ता ढालेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारले २१ फागुनमा प्रतिनिधिसभा चुनाव घोषणा गरेपछि निर्वाचन आयोगमा नयाँ दल दर्ताको संख्या ह्वात्तै बढ्यो । राजनीतिमा जेनजी पुस्ताको चासो बढेपछि विभिन्न पेसा अपनाएका मानिसहरू विशेषतः नयाँ पार्टीमा खुलेर नै लागे । गायिका सत्यकला राई जेनजी आन्दोलनकै प्रभावका कारण आफू राजनीतिमा आएको स्विकार्छिन् । ‘राजनीतिमा लागेका व्यक्तिहरू प्रयोग भएर फ्याँकिएका उदाहरण प्रशस्त देखेको र सुनेको छु । त्यही देखेर मैले कहिल्यै पनि राजनीतिमा आउन मानिनँ । मेरो नामलाई क्यास गर्छन् या साँच्चै प्राध्यापक, गायिका मान्छे, सही ठाउँमा ल्याउँछन् भन्ने लागेर नै मैले पनि चासो दिएँ । मलाई अरू पार्टीबाट पनि अफर त आएको थियो, तर मानिनँ । नवलजीले पनि एक पटक प्रयास गर भनेपछि आफूलाई परीक्षण गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘युवाको पलायन बढ्दो छ । पहाडमा बसाइँसराइको क्रम उस्तै छ । घरहरू खण्डहर भइरहेका छन् । तिनलाई कसरी रोक्न सकिन्छ भन्ने कुुरामा चिन्तित थिएँ । बस्तीलाई अग्र्यानिक कृषिको हब बनाउनेदेखि युवालाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने भिजनसहित आएँ । राजनीतिमा मेरो आगमनलाई जेनजीको प्रभाव भन्न मिल्ला ।’
डा. घिमिरे जेनजी आन्दोलनपछि राजनीतिमा देखिने गरी चासो बढेको बताउँछन् । आफू अहिले ४२ वर्ष पुगेको बताउँदै उनले ५० वर्षपछि राजनीतिमा आउन सही समय लाग्ने बताउँछन् । ‘कतिपय मान्छेलाई समानुपातिक सजिलो बाटो लाग्ला । मेरो करियरको पिकमा छु । तर, जेनजी मुभमेन्टपछि अर्को १० वर्ष कुर्नुहुँदैन । अर्को १० वर्षसम्म हात बाँधेर बसेँ भने परिवर्तन गर्न सकिँदैन भन्ने लाग्यो,’ उनी भन्छन्, ‘जेनजी मुभमेन्टले चाँडै गर्नुपर्छ भनेर प्रोत्साहन गरेको हो । मान्छेलाई को आयो भन्ने होला, तर म तयारी गरेरै आएको हुँ ।’ नायिका निशा अधिकारी जेनजी आन्दोलनले राजनीतिक गतिविधि, राजनीतिक उथलपुथलको प्रभाव पनि राजनीतिबाट नै हुनेरहेछ भन्ने देखाएको बताउँछिन् । ‘हामी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक प्राणी भइसक्यौँ । नेपालमा खानेकुरादेखि हरेक कुरामा राजनीतिले प्रभाव पारेको छ । किनभने हामी आफ्नो किसिमले काम गर्छौं भन्ने माहोल त कहिल्यै बनेन नि ! त्यो माहोल मिलाउनकै लागि जेनजी आन्दोलनले बाटो देखाएको छ जस्तो लाग्छ,’ उनी भन्छिन् ।
सेलिब्रेटी अनुहारको फाइदा/बेफाइदा
कलाकारहरू राजनीतिक पार्टीमा आबद्ध भएपछि त्यसको फाइदा वा बेफाइदा हेर्न नहुने बताउँछन् । पार्टीमा आफ्नो योगदान के–कस्तो हुने भन्ने कुराले फाइदा वा बेफाइदा टुंगो लाग्ने उनीहरूको बुझाइ छ । डा. घिमिरे पार्टीमा कलाकारको उपस्थितिलाई रेस्टुरेन्टको उदाहरण दिँदै प्रष्ट्याउँछन् । ‘तपाईं रेस्टुरेन्ट चलाउँदै हुनुहुन्छ भने सबैजना कुक अथवा वेटर त हुँदैनन् । सेलिब्रेटी फेस भनेको चुनावमा जिताउन, जनतामा आवाज पु¥याउन चाहिएला । तपाईं हामीले एउटा कुरा फेसबुकमा लेख्यौँ भने जनताले कति रियाक्ट गर्लान् र प्रकाश सपुत, रिमाले लेखे भने कति रियाक्ट गर्लान् । वेटर, फ्रन्टडेस्कवाला फेस होला, तर पकाउने त कुक चाहिन्छ नि !,’ उनी भन्छन् ।
नायिका अधिकारी आफूले कलाकारका रूपमा नेपालका विभिन्न ठाउँ पुगेको अनुभवले पनि राजनीतिक यात्रामा फाइदा पुग्ने बताउँछिन् । ‘देशका कुनाकाप्चा पुगेर, त्यहाँका मानिसको भोगाइ, दुःखलाई नजिकबाट बुझ्न र अनुभव गर्न पाएँ । त्यो मेरा लागि शिक्षा भयो । मैले सगरमाथा चढेँ, ट्रेकिङ गरेँ । सबै कुरा हेर्दा र बुझ्दा राजनीतिक गतिविधि केन्द्रमै हुन्छ । बाहिर बसेका मानिसको केन्द्रप्रतिको दृष्टिकोण बुझ्दा सरकार र जनता कति टाढा छन् भन्ने कुराले मलाई जहिल्यै झकझकाइरह्यो,’ निशा भन्छिन्, ‘यति सानो देशमा सरकार यति टाढा छ त ! जस्तो लाग्थ्यो । हाम्रो संरचना गाउँपालिका, वडा, जिल्लासम्म पुग्नेछ । पार्टीगत रूपमा पनि वडामा रोजगारी भन्ने कुरा महत्वकांक्षी नारा हो । यी कुरासँगै समृद्धि, विकास, समताको कुरा नै अगाडि आउँछ । मैले देखेको भोगेको प्रश्नको उत्तर खोज्न पनि राजनीतिमा आउने वातावरण बन्यो ।’
प्रतिक्रिया