मैले टिकटकलाई गम्भीर रूपमा कहिल्यै लिइनँ

भाइरल गोर्खेका सौगात भन्छन् :

काठमाडौँ । अभिनेता सौगात मल्लले जीवनमा कहिल्यै टिकटक चलाएनन् । उनी आफू टिकटक नचलाउने भएर पनि अरूको टिकटकमा उनको उपस्थिति प्रायः शून्य नै हुन्छ । यिनै सौगात आगामी १ माघबाट रिलिज हुने फिल्म ‘भाइरल गोर्खे’मा ‘गोर्खे चरित्र’मा देखिँदै छन् । फिल्ममा सौगातले अभिनेता शिव श्रेष्ठको चरित्रलाई प्रस्तुत गरेका छन् । जो शिवकै चरित्रमार्फत टिकटकमा भाइरल भएको हुन्छ । ‘म सानैदेखि विभिन्न कलाकारको अभिनय गर्न मनपराउँथे । यो फिल्मको तयारी गर्न म १२ दिनअघि नै सुटिङस्थल लमजुङ पुगेको थिएँ । जहाँ मैले शिव दाइको विभिन्न चरित्रको अभ्यास गरेको थिएँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो चरित्र गाईगोरु, भैँसी, बाख्रा चराउने गोठालोको छ । उसलाई शिव श्रेष्ठ मनपर्छ र शिव दाइकै जस्तो कपडा लगाएर टिकटक बनाउँछ । ऊ भाइरललाई ‘भाइरस’ भन्छ ।’

सौगातले फिल्मले सामाजिक सञ्जालका कारण मान्छे कसरी भाइरल हुन्छ भन्ने कुरा देखाउने खुलाए । ‘भाइरस भन्ने गोर्खेको भाइरलसम्मको यात्रा र त्यहाँसम्म पुगिसकेपछि उसको अर्को दुःखलाई फिल्ममा देखाइएको छ । फिल्ममा हाँसो र मनमा छुने खालका दृश्यहरू पनि छन्,’ सौगात भन्छन्, ‘टिकटककै विषयमा फिल्म बनेको भए सायद म गर्दिन थिएँ होला । मैले टिकटकलाई गम्भीर रूपमा कहिल्यै लिइनँ र लिएको पनि छैन । त्यसकारण मैले टिकटक चलाइनँ । मैले यो फिल्ममा अभिनय गरेपछि मात्र टिकटक के हो भन्ने थाहा पाएँ ।’ फिल्मले एउटा पात्रको व्यवहार, पीडा, दुःखको परिस्थितिमा पनि कसरी काम गरिरहेको छ भन्ने देखाएकाले आफ्नो चरित्रमा काम गर्न मजा आएको उनको भनाइ थियो ।

फिल्ममा सौगातको अपोजिटमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन् । उनी फिल्ममा ‘मिस गीताञ्जली’को चरित्रमा छिन् । सृष्टिले फिल्मले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावहरूलाई देखाइने बताइन् । ‘एउटा मान्छे भाइरल हुनका लािग के के गर्छ भन्ने कुरा फिल्ममा छ । मानिसको वास्तविक जीवनमा टिकटकको प्रभाव जस्तो छ, फिल्मले पनि त्यही विषयवस्तुलाई समेटेको छ’, उनी भन्छिन्, ‘कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरिएकाले पनि दर्शकले मनपराउनेमा ढुक्क छौँ ।’

फिल्मका निर्माता अमित श्रेष्ठले आफू र निर्देशक निगम श्रेष्ठ अभिनेता शिव श्रेष्ठको फ्यान भएकाले उनकै चरित्रलाई फिल्ममा लिइएको बताए । ‘मैले पहिलोपटक हेरेको नेपाली फिल्म चिनो हो । निगम र म शिव दाइको काम र अभिनय कलाबाट एकदमै प्रभावित थियौँ’, अमित भन्छन्, ‘उहाँको क्यारेक्टरलाई लिएर काम गर्न पाउँदा हामीलाई खुसी लाग्यो । किनकि यो हाम्रो लागि एउटा चुनौती पनि थियो । यो चरित्र निभाउन सौगातबाहेक अन्य विकल्प देखिएन ।’
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, मिस पबीको पनि अभिनय छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह–निर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्मातामा निर्वाण फिल्म स्कुल र केदार श्रेष्ठ छन् ।

प्रतिक्रिया