
काठमाडौँ । प्राडा बाबुराम शर्मा पोखरेलका २ कृतिहरू ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ सार्वजनिक भएका छन् । ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’को नेपाली भाषामा अनुवादसहित तथा ‘स्तुति पुष्पाञ्जली’ संशोधनसहित दोस्रो संस्करण सार्वजनिक गरिएको हो । डा.पोखरेल नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक हुन् । डा.पोखरेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं चिकित्सक दिनेशचन्द्र पोखरेलले पुस्तक प्रकाशन गरेका हुन् ।
राजधानीमा हालै एक कार्यक्रमबीच प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा जीवेन्द्रदेव गिरी, प्रा.नीलमणि ढुंगाना, प्रा.केदार न्यौपाने र डा.दिनेशचन्द्र पोखरेलले पुस्तक सार्वजनिक गरे । डा.पोखरेलले संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई प्रा.ढुंगानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशन गरेका हुन् । डा.ढुंगानाले पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार श्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्ड रहेकोमध्ये एक खण्ड हिमवतखण्ड रहेको बताए । प्राडा त्रिपाठीले हिमवतखण्डमा मूलरूपमा नेपाल खण्ड पाइने उल्लेख गरे ।
प्राडा उपाध्यायले प्राडा पोखरेल पुराण इतिहासको स्तम्भ भएको बताए । पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोखरेलका पुत्र डा.पोखरेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशन गर्ने बताए ।
प्रतिक्रिया