
काठमाडौँ । लतिलकला क्याम्पस भोटाहिटीमा ललितकलामा स्नातक अध्ययन गरेका विद्यार्थीहरूले राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा कला प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा ब्याच २०७७ का विद्यार्थीका ३२ जना विद्यार्थीहरूले दर्जनौँ कलाहरू प्रस्तुत गरेका हुन् । कुनै विद्यार्थीका भने ५ वटाभन्दा बढी कलाहरू पनि प्रदर्शनीमा राखिएका थिए ।
यहाँ विद्यार्थीमा भएका धेरैखालका सीप ज्ञान र आइडियालाई ‘सेन्थेसिस’ शीर्षकमा आयोजना गरिएको कला प्रदर्शनीमा प्रस्तुत गरिएको छ । यो प्रदर्शनी विद्यार्थीहरूको सामूहिक सिर्जनाको संग्रह हो । भिक्षु अनन्तो बुढा मगरले टेराकोटा, ह्वाइट सिमेन्ट र सेरामिक्समा छुट्टाछुट्टै कला प्रस्तुत गरेका छन् ।
बुद्ध दर्शनलाई केन्द्रमा राखेर उनले विभिन्न सन्देशमूलक कला सिर्जना गरेका छन् । मानिस दुःखी हुँदाको अवस्थालाई कलामार्फत उनले देखाएका छन् । उनले ध्यान मुद्रा, आमा र बच्चाको मायालाई प्रस्तुत गरेका छन् । आत्मिक तथा मानसिक भाव उनको कलामा देखिन्छ । विद्यार्थीहरूले समसामयिक विषयका साथै दैनिक जनजीवन, सम्पदा, संस्कृति र प्रकृतिसँग सम्बन्धित कला समावेश छ ।
नेपाल ललितकला क्याम्पसका प्रमुख डा.यमप्रसाद शर्माले विद्यार्थीहरूको आन्तरिक र बाह्य भावलाई प्रस्तुत गरेको र यसले विद्यार्थीले आफ्नो प्रतिभा देखाएका बताए । उनले आन्तरिक र बाह्य कुराको आन्दोलनलाई विद्यार्थीले कलामार्फत प्रस्तुत गरेका बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले विद्यार्थीहरूको कला उत्कृष्ट रहेको प्रतिक्रिया दिँदै प्रदर्शनीले उनीहरूलाई प्रोत्साहन मिलेको बताए । विद्यार्थीहरूले अध्ययनमा आफूले सिकेका सीपलाई यहाँ प्रस्तुत गरेका र उनीहरूका कला समग्रमा व्यावसायिक जस्तै देखिएको बताए ।
प्रतिक्रिया