भिडियो आर्ट इन्स्टलेसन कार्यशाला

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु भएको कार्यशालाको शुभारम्भ गर्दै कुलपति नारदमणि हार्तम्छालीले कार्यशालाको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका थिए । उनले कार्यशालामा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी कल्चरल गाइडलाइनका आधारमा कला सिर्जना हुनुपर्ने बताए ।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको कस्सेप्टका बारेमा ध्यान दिन आग्रह गरे । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए ।
कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले कार्यशालाको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुआत सन् १९८७ मा फस्र्ट एनिमेसन आर्ट वर्कसपसँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गरे । उनले कार्यशालामा सहभागी कलाकारहरूलाई कार्यशालासम्बन्धी प्राविधिक ज्ञान तथा कन्सेप्ट डेभलोपमेन्टलगायतका विषयमा जानकारी दिए ।
शुक्रबारसम्म चल्ने कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशिला मुक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया