श्रमिक संकट : राज्यको अदूरदर्शीताको परिणाम

एकातिर स्वदेशमा सञ्चालित उद्योगहरूले श्रमिकको अभाव देखाएर भारतीय श्रमिकहरूलाई काममा लगाएका छन् भने अर्कातिर दैनिक सरदर १ हजार २०० युवा रोजगारीको खोजीमा बिदेसिने गरेको तथ्यांक छ । त्यसो त श्रमिककै अभावमा धेरैजसो उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पछिल्लो राष्ट्रिय औद्योगिक सर्वेक्षणमा उल्लेख छ । नेपालका उद्योगहरूले कुल क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्न बाध्य हुनुका विविध कारणमध्ये श्रम शक्तिको अभावलाई मुख्य कारण मानिएको छ ।

उद्योग क्षेत्रमा श्रम शक्तिको अभाव हुने समस्या हरेक वर्ष बढ्दै गएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि औँल्याएको छ । देशमा औद्योगिक वातावरण वृद्धि हुनु त परै जाओस् भएका उद्योगहरूको उत्पादन क्षमतासमेत घट्दै जानु भनेको देश अधोगतिमा गइरहेको संकेत हो । यसै पनि मुलुकको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५ प्रतिशतको हाराहारीमा छ । मुलुकको आन्तरिक श्रम बजारमा कार्यरत करिब ७१ लाख श्रमिकमध्ये औद्योगिक क्षेत्रमा जम्मा ५ लाख छन् ।

५ लाखमध्ये पनि विदेशीहरूको हिस्सा के कति छ ? यसै भन्न सकिने अवस्था छैन । सामान्यतया स्वदेशमै रोजगारीको अवसर हुँदा हुँदै कोही पनि वैदेशिक रोजगारीमा जाँदैन । त्यसमा पनि मलेसिया, खाडी लगायतका देशहरूमा जानेहरूको कमाई खासै आकर्षक पनि देखिँदैन । त्यसैले नेपालीहरू रोजगारीका लागि खाडी जाने, नेपालमा रोजगारीका लागि भारतीय श्रमिक आउने, कतिपय उद्योगहरू श्रमिकको आभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्ने अवस्था सिर्जना हुनु भनेको राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा रहनेहरूको मुख्य कमजोरी हो ।

उद्योगको क्षेत्रमा मात्रै होइन, कृषि, निर्माण, व्यापार, सेवा लगायतका हरेक क्षेत्र स्वदेशी श्रमिकको अभावका कारण प्रभावित हुँदै गएको देखिन्छ । तोकिएको मितिमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुन नसक्नुमा श्रम शक्तिको अभाव मुख्य कारण रहेको निर्माण व्यवसायीको भनाइ असत्य होइन । कृषि, निर्माण, व्यापार लगायतका क्षेत्रमा पनि विदेशी श्रमिकहरूको उपस्थिति नांगो आँखाले देख्न सकिन्छ । यो नयाँ समस्या भने होइन ।

दशकौँ अघि उजागर भएको यो समस्या समाधानका लागि ठोस पहल हुन सकेन । सतही पहलले समस्या समाधान गरेन । यो समस्याको मूल कारण भनेको स्वदेशी श्रमिकको कमजोर उत्पादकत्व हो । नेपाली श्रमिकको भन्दा भारतीय तथा बंगलादेशी श्रमिकको उत्पादकत्व दोब्बर रहेको रोजगारदाताहरूको दावी हचुवा होइन ।

किनकि केही दशकअघि तयारी पोसाक निर्माणका सन्दर्भमा विश्व बैंकले गरेको सर्भेक्षणले पनि यो तथ्य उजागर गरेको थियो । दशकौँअघि यो तथ्य उजागर भइसक्दा पनि स्वदेशी जनशक्तिलाई अनुभव तथा सीप सिकाएर उसको उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यान गएको देखिँदैन ।

नेपालमा साना ठुला गरी करिब ६० हजार उद्योग छन्, तर प्रायः सबै कि त राजधानी काठमाडौँ केन्द्रित छन्, कि त तराईका सीमावर्ती सहरहरूमा छन् । तर रोजगारीको खोजीमा रहेका अधिकांश युवाहरू दूरदराजका गाउँमा छन् । उनीहरूले राजधानी काठमाडौँ वा तराईका सहरहरूमा गएर डेरामा बसेर काम गर्नुभन्दा खाडी तथा मलेसिया जान रोज्नुको कारण अनुचित छैन ।

नेपालगन्जका उद्योगहरूमा १० किलोमिटर टाढाबाट साइकल चढेर भारतीय श्रमिकहरू आउनु जति व्यावहारिक छ, त्यही उद्योगमा अछामको युवालाई रोजगारी गर्नु उति नै अव्यावहारिक छ । त्यसैले अछामका युवा रोजगारीका लागि हिमाचल वा खाडी पुग्छन्, रुपेडियाका युवाले नेपालगन्जका उद्योगमा घरपायक जागिर पाउँछन् ।

हिजोका दिनमा यातायात तथा सञ्चारको सुविधा नभएका कारण राजधानी तथा तराईका सीमावर्ती सहरमा उद्योगधन्दा केन्द्रित गर्नु वाध्यता थियो । तर आज मुलुकको सबै भूभागमा यातायात तथा सञ्चारको सुविधा पुगिसकेको छ । त्यसैले उद्योग धन्दाहरूलाई विकेन्द्रीकरण गर्ने हो भने युवा जनशक्ति विदेश भासिने, राजधानीका उद्योगहरूले श्रमिक संकट बेहोर्नुपर्ने तथा तराईका उद्योगहरूमा भारतीय श्रमिक भर्ना गर्नुपर्ने वाध्यता धेरैहदसम्म हट्न सक्छ ।

प्रतिक्रिया