जेनिफरको आक्रोश : तिमीहरू पनि नग्न हुन्थ्यौ

लसएन्जल्स । हलिउड गायिका जेनिफर लोपेज यतिबेला चर्चामा छिन् । हालै लस भेगासको सिजर्स प्यालेसमा ‘अप अल नाइट लाइभ’ शो गरेकी ५६ वर्षीया जेनिफर बोल्डनेस र आत्मविश्वासका लागि फ्यानमाझ परिचित छिन् । यद्यपि उनले कैयौँपटक आलोचकको उत्तिकै सामना गरेकी छन् ।

हालै मात्र आफ्नो फेसन रोजाइ र पहिरनको बारेमा सामाजिक सञ्जालमा गरिएको नकारात्मक प्रतिक्रियाप्रति जेनिफरले डटेर उत्तर दिएकी छन् । उनले आफू अनलाइन ट्रोलिङबाट कुनै पनि अवस्थामा प्रभावित नहुने प्रमाणित गरेकी छन् । उनले लसभेगासको शोमा गीत गाइरहँदा बीचमा रोकेर आलोचकलाई जबाफ फर्काएकी थिइन् । अधिकांश आलोचकले उनको पहिरनमा प्रश्न उठाइरहँदा उनले त्यसका जबाफ दिएकी हुन् । अधिकांश आलोचकले जेनिफरलाई ‘किन यस्तो पहिरन लगाउँछिन् ?’, ‘उनी आफ्नो उमेरको हिसाबको पहिरन किन लगाउँदिनन् ?’, ‘उनी किन जहिल्यै नग्न हुन्छिन् ?’लगायतका प्रश्न सोधिरहन्छन् ।

यी सबै प्रश्नको एकसाथ आत्मविश्वासी उत्तर दिएर दर्शकको मन जितेकी छन् । ‘र म भन्छु, ‘यति तिमीहरूसँग यस्तै शरीर थियो भने, तिमीहरू पनि नग्न हुन्थ्यौ’, उनले भनेकी छन् । उनले यसो भनिरहँदा शोमा उपस्थित दर्शकले ताली र हुटिङले उनलाई साथ दिएका थिए । यसपछि उनले आफ्ना हिट गीत सुनाइन् ।
आफ्नो सिग्नेचर शैलीलाई पछ्याउँदै जेनिफरले कैयौँ बोल्ड र ग्ल्यामर पहिरन लगाएकी थिइन् । जेनिफरले फेसन ट्रोलरलाई सम्बोधन मात्र गरिनन्, आफूमाथि पनि मजाक गरिन् । आफ्नो पछिल्लो लस भेगास रेसिडेन्सी ‘अल आइ ह्याभ’(२०१६ देखि २०१८ जुनसम्म चलेको थियो) सम्झँदै निजी जीवनका बारेमा हल्काफुल्का कुरा गरिन् । ‘त्यो आँखा झिम्क्याएर गयो होइन र ? जो १० वर्षअघि ओपनिङ नाइटमा थिए । त्यो समयमा मेरो केबल २ विवाह मात्र भएको थियो’, उनले यसो भनिरहँदा दर्शकहरू हाँसेका थिए ।

उनले आफूले कहिलेकाहीँ कतिवटा विवाह गरेको भन्ने कुरा बिर्सने गरेको पनि खुलाइन् । ‘यो सबै सकियो, अब ठिक छ । राम्रो कुरा यो हो कि म सिकिरहेकी छु र आफूलाई विकास गरिरहेकी छु । अहिले म खुसीको युगमा छु’, उनले भनिन् ।

जेनिफरले अभिनेता तथा निर्माता बेन एफ्लेकसँग आधिकारिक रूपमा सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् । यो जोडीले जुलाई २०२२ मा विवाह गरेका थिए । तर जेनिफरले अगस्ट, २०२४ मा सम्बन्धविच्छेदको निवेदन अदालतमा दिएकी थिइन् । अदालतमा बुझाइको कागजात अनुसार सम्बन्धविच्छेदको निवेदन दिनु १ वर्षअघिसम्म उनीहरू अलगै बस्दै आएका थिए ।

जेनिफर र एफ्लेकको सम्बन्ध सन् २००० बाट सुरु भएको थियो । उनीहरू पहिलोपटक भेट गरे, प्रेममा रमाए, इन्गेजमेन्ट गरे र पुनः अलग भए । यसपछि सन् २०२२ मा उनीहरू पुनः प्रेममा परे । बेन जेनिफरका चौथो श्रीमान हुन् ।

प्रतिक्रिया