अग्रज कलाकार एससी सुमन नेपाली कलाक्षेत्रमा परिचित नाम हो । मिथिला कलामा विशिष्ट पहिचान बनाएका सुमनले मौलिक पहिचान बोकेको मिथिला लोककलालाई विश्व स्तरमा चिनाउन विगत चार दशकदेखि निरन्तर लागिरहेका छन् । विश्वका विभिन्न मुलुकमा एकल तथा सामूहिक प्रदर्शनीमा गरेका सुमनको अहिले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २३औँ एकल प्रदर्शनी चलिरहेको छ । मिथिला शैलीमा नेपालको विविधतालाई क्यानभासमा उतारेका उनका कलाले नेपाली सुगन्धलाई कलात्मक रुपमा उनेको पाइन्छ । विशेषगरी तराईं मधेश, पहाड र हिमालको प्रकृति, संस्कृति र सामाजिक परिवेशलाई उनले कलामार्फत अभिव्यक्त गरेका छन् । मिथिला संस्कृतिको सौन्दर्य चेतसँगै समाज रुपान्तरणका नवीन सोचलाई उनले आफ्ना कृतिमा उतारेका छन् । ‘मिथिला कसमस–७’ शीर्षकमा भइरहेको कला प्रदर्शनीको सन्दर्भ पारेर कलाकार सुमनसँग गरिएको संक्षिप्त कुराकानी :

० लामो समयपछि एकल प्रदर्शनी गर्नुभएको छ । यस प्रदर्शनीमा कस्ता कलाकृति राख्नुभएको छ ?
हजुर, लामो समय ब्यतित भएको छ । कोभिड पछिको यो नेपालमा प्रदर्शनी गरिएको एकल प्रदर्शनी हो । योबिचमा केही विदेशमा एकल तथा सामूहिक प्रदर्शनीहरुमा व्यस्त भए । केही देशभित्र पनि कलाका सार्थक काम गर्दा लामो समय व्यतीत भएको थाहा भएन छ । पक्कै पनि लामोपछि एकल प्रदर्शनी गर्नु मेरो लागि अब केवल कलाकृतिहरू देखाउने अवसर मात्र होइन, तीन दशकभन्दा बढी समयको साधना, अनुभूति र आत्मसंवादलाई सार्वजनिक रूपमा साझा गर्ने क्षण भएको छ । यो प्रदर्शनी ‘मिथिला कसमस–७ जर्नी अफ अ पिलग्रिम’ मा मैले राखेका कृतिहरू कुनै एक विषय वा शैलीमा सीमित छैनन् । यी कृतिहरू मिथिला संस्कृतिको ब्रह्माण्डभित्र मैले गरेको यात्राका दृश्यहरू हुन् ।
यसो भन्नु पर्दा, यस प्रदर्शनीमा धार्मिक आख्यान, पौराणिक कथा, लोकविश्वास, प्रकृति, मानव जीवन, तीर्थ, उत्सव र ध्यानात्मक संरचनामा आधारित चित्रहरू समावेश गरेको छु । जसमा रामायण, कृष्णलीला, सीताको जीवन, कल्पवृक्ष, लोक कथा सहलेस, साथै उपत्यकाको कथाभित्र स्वयम्भू, बौद्धनाथ पशुपति उत्पत्तिको कथाजस्ता पवित्र स्थलहरूलाई मिथिला शैलीमा उतारिएका कृतिहरू यस प्रदर्शनीको मेरुदण्ड हुन् । यी सबै चित्रहरू केवल दृश्य सौन्दर्य होइनन्, साधनाका चरणहरू हुन्, जसमा जीवन छ ।
० मिथिला कसमस–७ प्रदर्शनीको मूल भावका बारेमा बताइदिनुस् ।
‘मिथिला कसमस–७ को मूलभाव यात्रा हो । मेरो विचारमा जसलाई आत्मिक, सांस्कृतिक र दार्शनिक यात्रा भन्न सकिन्छ । यहाँ ‘कसमस’ भनेको केवल आकाशीय ब्रह्माण्ड होइन, मिथिलाको सांस्कृतिक ब्रह्माण्ड हो । म स्वयंलाई यस प्रदर्शनीमा तीर्थयात्रीका रूपमा प्रस्तुत गरेको छु ।
मिथिलाको मिथक, देवता, लोककथा, स्त्री चेतना, प्रकृति र मानव जीवनका तहहरूभित्र यात्रा गर्दै मैले अनुभूत गरेको सत्यतालाई क्यानभासमा उतारेको छु । यो प्रदर्शनीले केही प्रश्न सोध्छ—हामी को हौँ, हाम्रो जरा कहाँ छ, र आधुनिकताले हामीलाई कता लैजाँदैछ ? यही प्रश्नहरूको खोज नै यसको मूलभाव हो भनी भन्न सकिन्छ ।

० मिथिला कसमस शृङ्खला नै किन ?
म मैथिल हुँ, मलाई गर्व छ, मिथिला मेरो जन्मभूमि मात्र होइन, मेरो चेतनाको आधार हो । मिथिला संस्कृतिमा मैले जीवन बुझ्ने दृष्टि पाएँ । त्यसैले मिथिला केवल विषय होइन, मेरो माध्यम पनि हो । मलाई सम्झना छ, सिद्धार्थ आर्ट ग्यालरीमा मेरो पहिलो प्रदर्शनी द मिथिला कसमस सन् २००७ मा भएको थियो । मेरो यो २३सौँ एकल प्रदर्शनी हो । सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस शृङ्खला मैले सुरु गर्दा मेरो उद्देश्य मिथिला चित्रकलालाई सजावटी लोककलाबाट बाहिर ल्याएर दार्शनिक र समकालीन विमर्शको केन्द्रमा राख्नु थियो ।
यो शृङ्खलामार्फत म देखाउन चाहन्छु, मिथिला मात्र सीमित भूगोल होइन, यो एउटा चेतना हो, जुन समय, समाज र सभ्यतासँग संवाद गर्न सक्षम छ । त्यसैले म बारम्बार यही शृङ्खलामा फर्कन्छु, किनकि यो मेरो आत्मिक यात्राको निरन्तरता हो र एउटा कलाकारको लागि सहज होइन, चुनौती पनि हो ।

० मिथिला संस्कृतिको वैभवलाई यहाँका कलाले कसरी उधिनेको छ ?
मिथिला संस्कृतिको वैभव यसको बहुआयामिकतामा छ । यहाँ धर्म, लोकजीवन, स्त्री चेतना, प्रकृति र उत्सव एकैसाथ बाँचिरहेका छन् । मेरा चित्रहरूमा यी सबै पक्षहरू प्रतीक, रङ र संरचनामार्फत अभिव्यक्त भएका छन् ।
राम–कृष्ण कथा, देवी कथा, समुद्र मन्थन, कल्पवृक्ष, अरिपन, पशुपन्छी, फूल र श्लोकहरू मिथिलाको जीवनदर्शनका सङ्केत हुन् । मैले यी तत्त्वहरूलाई केवल परम्परागत शैलीमा होइन, समकालीन संवेदनासँग जोडेर प्रस्तुत गरेको छु । यसरी मेरा कृतिहरूले मिथिला संस्कृतिको वैभवलाई पुनःउधिनेका छन् ।

० विषयको विविधता र चिन्तनलाई मिथिला शैलीमा बनाउनुभएको छ । के यसले मिथिला शैलीको मूलप्रवाहलाई संबोधन गरेको छ त ?
हुनत् यो प्रश्न जटिल छ । यो प्रश्नको जवाफ कला समीक्षक, कला चिन्तक, कलाप्रेमी र अवलोकनकर्ताहरुले दिए राम्रो । तर मेरो व्यक्तिगत अवधारणामा मिथिला शैली कहिल्यै स्थिर थिएन । परम्परागत रूपमा पनि यो समय र संस्कार अनुसार रूपान्तरण हुँदै आएको छ । मैले विषयमा विविधता ल्याउँदा यसको मूलआत्मालाई छोएको छु कि छैन भन्ने प्रश्न महत्वपूर्ण हो ।
मेरो बुझाइमा, मिथिला शैलीको मूलप्रवाह भनेको प्रतीकात्मकता, कथात्मकता र आध्यात्मिक चेतना हो । मैले जुनसुकै विषय उठाए पनि, चाहे आधुनिक समाज होस् वा अन्य भूगोल, यी मूल तत्त्वहरूलाई जोगाएको छु । त्यसैले यो प्रयोग विचलन होइन, विस्तार हो, भन्न सकिन्छ ।
० सामाजिक रुपान्तरणमा कलाको भूमिका कस्तो हुनुपर्छ ?
कला केवल सौन्दर्यको साधन होइन, चेतनाको माध्यम हो । सामाजिक रुपान्तरणमा कलाले प्रश्न सोध्नुपर्छ, स्मृति जगाउनुपर्छ र संवाद सिर्जना गर्नुपर्छ । कला उपदेश होइन, अनुभूति हो ।
जब दर्शकले चित्र हेरेर आफूलाई प्रश्न गर्न थाल्छ, त्यहीँबाट रुपान्तरण सुरु हुन्छ । लोककला झन् शक्तिशाली हुन्छ, किनकि यो जनजीवनसँग गहिरो सम्बन्धित हुन्छ । त्यसैले कलाकारको जिम्मेवारी सौन्दर्यसँगै जिम्मेवारी पनि हो ।

० यहाँले रचना गर्नुभएका कलाका विषयले समाजका कुन पक्षलाई बढी चित्रण गरेको छ ?
मेरो कलाले समाजको आध्यात्मिक र सांस्कृतिक पक्षलाई बढी चित्रण गरेको छ । आधुनिक समाज भौतिकतामा दौडिरहँदा हामीले बिर्सँदै गएको आस्था, प्रकृतिसँगको सम्बन्ध, स्त्री चेतना र सामूहिक स्मृतिलाई मैले चित्रमा फर्काउन खोजेको छु ।
साथै, मेरा कृतिहरूले समाजको नश्वरता, उत्सव, पीडा र आशालाई पनि समेट्छन् । सहलेस फूलवारीजस्ता प्रतीकहरूले जीवनको क्षणिकता र सौन्दर्य दुवै देखाउँछन् ।
० मिथिला क्षेत्रबाहेक यहाँले अन्य भूगोल, संस्कृति, पुरातत्त्व, इतिहास आदि विषयलाई समेत कलात्मक रुपमा उतार्नुको उद्देश्य के हो ?
मेरो उद्देश्य मिथिलालाई अन्य संस्कृतिसँग संवाद गराउनु हो । स्वयम्भू, पशुपति, बौद्धनाथजस्ता स्थलहरू, गोदना शैलीमा भनिएका बौद्ध कथा, मिथिला शैलीमा उतार्नु भनेको मिथिलालाई सीमित भूगोलबाट बाहिर ल्याउनु हो । यसले देखाउँछ, मिथिला कला नेपाली सांस्कृतिक पहिचानसँग जोडिन सक्छ, विश्वसँग बोल्न सक्छ । यो आत्मविश्वासको अभ्यास हो ।

० अन्त्यमा
म एउटा निरन्तर साधक हुँ । मिथिला चित्रकला मेरो साधना हो, मेरो पहिचान हो । यदि मेरा कृतिहरूले कसैलाई आफ्नो जरा सम्झन, आफ्नो संस्कृति बुझ्न वा जीवनप्रति नयाँ दृष्टि दिन सक्छन् भने, त्यही नै मेरो सफलता हो । तपाईं पनि मेरो यो यात्रामा सहभागी हुनुहोस् । मेरो यो यात्राको साक्षी बन्नुस् जसमा मिथिलाको माटो, रङ र कथाबाट जन्मिएको मेरो कलायात्रा समयसँगै यात्रा गरिरहोस्, यही मेरो अन्तिम चाहना हो ।

प्रतिक्रिया