अध्ययनसँगै अभिनयमा अस्मिता

काठमाडौँ । स्याङ्जाकी मोडल तथा नृत्यांगना अस्मिता राना पछिल्लो दशकमा नेपाली म्युजिक भिडियो र टेलिफिल्मको अभिनयमा व्यस्त कलाकारमा पर्छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा पिता चित्रबहादुर राना र माता योमाया थापाकी छोरी अस्मिताले हालसम्म १०० भन्दा बढी म्युजिक भिडियो र केही टेलिफिल्ममा अभिनय गरिसकेकी छन् । उनीसँग स्वदेशदेखि विदेशका विभिन्न नृत्य प्रतियोगितामा निर्णायकसँगै मेला–महोत्सवसँगै कोरिया, दुबई, युके, कतार, ओमानलगायत करिब १० वटा मुलुकमा प्रस्तुतिको अनुभव छ ।

अस्मिताले हालै त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । ‘नृत्य र मोडलिङमा व्यस्त हुँदाहुँदै पनि पढाइलाई कहिल्यै पछि पारिनँ’, उनी भन्छिन्, ‘परीक्षाकै समयमा विदेशको सांगीतिक यात्रा पूरा गरेर एयरपोर्टबाटै सिधै परीक्षा हल पुगेर परीक्षा पनि दिएकी छु । म विदेश जाँदा कलेजको पुस्तक बोकेरै हिँड्छु । म रातिको समय पढाइलाई छुट्याउँछु र सुटिङ तालिका कक्षासँग नजुध्ने गरी मिलाउने गर्छु ।’


उनले पढाइकै लागि थुप्रै सांगीतिक कार्यक्रम छोडेकी छन् । उनले म्युजिक भिडियोको सुटिङ, रिहर्सल र कार्यक्रमका बीच कक्षामा नियमित उपस्थितिका लागि आफ्नो कार्यतालिकासमेत बनाएकी थिइन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति तथा नेपाल मगर सांस्कृतिक संघकी सदस्यसमेत हुन् । उनले विभिन्न अवार्ड पनि जितेकी छन् ।

प्रतिक्रिया