
मुम्बई । अभिनेत्री कृति सेननले बलिउडमा आफ्नो करियरको ११ वर्ष पूरा गरेकी छन् । यो ११ वर्षमा कृति कैयौँ ठुला फिल्मको हिस्सा मात्र रहिनन्, हिट फिल्म पनि उत्तिकै दिइन् । उनको पछिल्लो फिल्म ‘तेरे इश्क मे’ ले पनि बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मसँगै उनको अभिनयको तारिफ भइरहेको छ ।
कृति नयाँवर्ष २०२६ को आगमनसँगै नयाँ फिल्म ‘ककटेल २’ लिएर दर्शकमाझ आउँदै छिन् । यो उनको २०औँ फिल्म हो । उनले सञ्चारमाध्यमसँग ‘ककटेल–२’का बारे कुराकानी गर्दै फिल्मको सफलताले आफूमाथि दबाब दिन्छ या दिँदैन भन्नेबारे बोलेकी छन् ।
एउटा फिल्मको सफलताले अर्को फिल्मको सफल हुन्छ या हुँदैन भन्ने दबाब निर्माता र निर्देशकलाई भन्दा कलाकारलाई बढी हुन्छ । तर कृतिले भने आफूले कुनै पनि दबाब नलिने बताइन् । ‘म यस्तो दबाब लिन्नँ । हरेक फिल्म फरक हुन्छन् । तपाईं हरेक फिल्मले उस्तै दर्शकहरूलाई आकर्षित गर्न सक्छ भन्ने आशा गर्नसक्नुहुन्न’, उनले भनेकी छन् ।
उनले फिल्म ‘ककटेल–२’का दर्शक ‘तेरे इश्क मे’का दर्शकभन्दा फरक हुने बताइन् । ‘तपाईंले मिहिनेत र पूर्ण इमानदारीका साथ काम गर्नुपर्छ । तपाईंलाई हरेक फिल्ममा सर्वश्रेष्ठ काम दिनुपर्ने दायित्व हुन्छ । यसबाहेक बाँकी कुरा हाम्रो हातमा हुँदैन, किनकि बक्सअफिसमा फिल्मको सफलता प्रभावित हुने कुनै अन्य कारण पनि हुन्छन् । यसकारण म यो कुरामा दबाब लिन चाहन्नँ । म आफ्ना निर्मातामाथि पनि दबाब दिन्नँ । म यो प्रक्रियाबाट आनन्द लिन्छु, त्यसकारण पनि म उत्साहित छु’, उनले भनेकी छन् ।
कृतिले फिल्म ‘ककटेल २’ सही समयमा बनेको बताएकी छन् । ‘मलाई यो कुराको ठुलो चाहना थियो । म एक रोमान्टिक कमेडीको त्यो युवा, सहरीया र रमाइलो संसारमा पाइला राख्न चाहन्थेँ । यो अवश्य पनि सिक्वेल हो । तर मलाई लाग्छ कि यो फरक परिवेशको सिक्वेल हो ।
कथा पूर्णरूपमा फरक छ, पात्र फरक छन् र यसको पृष्ठभूमि पनि फरक छ’, उनले भनेकी छन् । कृति पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘तेरे इश्क में’मा देखिएकी थिइन् । यो फिल्ममा उनीसँगै धनुषको प्रमुख भूमिकामा अभिनय थियो । यो एक भावुक प्रेमकथा हो, जसमा कृतिले मुक्ति नामको पात्र निभाएकी छन् ।
होमी अदजानियाद्वारा निर्देशित फिल्म ‘ककटेल–२’मा कृतिसँगै शाहिद कपूर र रश्मिका मन्दाना प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१२ मा रिलिज फिल्म ‘ककटेल’को सिक्वेल हो । यो फिल्ममा सैफल अली खान, दीपिका पादुकोण र डायना पेन्टीको अभिनय थियो ।
प्रतिक्रिया