अभिनेता विल स्मिथविरुद्ध यौन उत्पीडनको मुद्दा

लसएन्जल्स । हलिउड अभिनेता विल स्मिथमाथि एक भायोलिनवादकले यौन उत्पीडनको आरोप लगाउँदै मुद्दा दर्ता गराएका छन् । ब्रायन किंग जोसेफ नामका ती भायोलिनवादकले आफूमाथि यौन उत्पीडन गरेको उजुरी दर्ता गराउँदा आफूलाई कामबाट निकालेको समेत दाबी गरेका छन् । ब्रायनले विल र उनको कम्पनी ट्रेबोल स्टुडियोज मेनेजमेन्टमाथि गलत तरिकाले कामबाट निकालेको मुद्दा दर्ता गराएका हुन् । ब्रायनका अनुसार यो घटना गत वर्षको मार्चमा लसभेगासमा स्मिथको ‘बेस्ड अन ए ट्रु स्टोरी २०२५’ यात्रा ताका भएको हो ।

ब्रायनले विलमाथि ‘स्किारी व्यवहार’ र आफूमाथि ‘जानीजानी थप यौन शोषणका लागि तयार पारेको’ आरोपसमेत लगाएका छन् । गत ३१ डिसेम्बरमा लसएन्जल्सको अदालतमा दर्ता गरिएको नागरिक उजुरीअनुसार स्मिथको कम्पनीले ब्रायनको लागि एक होटलको कोठा बुक गराएको थियो । ब्रायन कोठामा फर्किंदा उनले कोठामा अरू कोही प्रवेश गरिसकेको थाहा पाएका थिए । कोठामा पसेको व्यक्तिले आफ्नो पछाडि एक यौनसँग सम्बन्धित सन्देश, वाइप्स, एक बियरको बोतल, अरू कसैको नामको एचआइभीको औषधि र कुनै अस्पतालको डिस्चार्ज कागजात छोडेको थियो । कोठामा ब्रायनले ‘ब्रायन म ५ः३० अगाडि नै फर्किन्छु, केवल हामी मात्र, स्टोन एफ’ लेखिएको पत्र फेला पारेका थिए ।

ब्रायनका अनुसार पत्र प्राप्त हुनासाथ उनले होटलको सुरक्षाकर्मी र टुर व्यवस्थापनलाई घटनाबारे जानकारी गराएका थिए । तर व्यवस्थापनले उनीमाथि नै झुटो बोलेको आरोप लगाउँदै उनलाई नै दोषी ठहराएको थियो । यद्यपि टुर व्यवस्थापनले भने टुर अर्कै दिशामा गइरहेको उनलाई बताएको थियो । ब्रायनका अनुसार व्यवस्थापनले उनलाई आफ्नो थानमा अर्को एक भायोलोनिस्टलाई राखिने जानकारी गराएको थियो ।

उजुरीमा विलले नोभेम्बर २०२४ मा ब्रायनलाई सेन डिएगोमा एक शोका लागि भाडामा लिएका थिए र त्यसपछि आफ्नो टुरमा सहभागी हुन र आफ्नो एलबममा बाजा बजाउनका लागि निम्तो दिएको उल्लेख छ । उनले होटलका सुरक्षाकर्मी, विलका प्रतिनिधिलाई आफूमाथि भएको दुव्यर्वहारबारे जानकारी दिँदै गैरआकस्मिक प्रहरी लाइनमा रिपोर्ट दर्ता गराए । उनले रिपोर्ट गरेको केही दिनपछि व्यवस्थापन टिमका एक सदस्यले घटनाले ‘लज्जित’ भएको र ‘कामबाट बर्खास्ती गरिँदै छ’ भन्ने जानकारी दिएको बताएका छन् ।

ब्रायनले नोभेम्बर २०२४ मा विललाई भेटेपछि नै आफूमाथि उनले ‘हेरचाह’को बहानामा यातना दिन थालेको र त्यसको उद्देश्य केबल यौन शोषण मात्र रहेको दाबी गरेका छन् । किनकि टुरको अघिल्लोे महिनादेखि नै स्मिथ बढी समय एक्लै बिताउन थालेका थिए । ब्रायनले आफूलाई अभिनेताले एकपटक ‘आफ्नो बर्खास्तीले आर्थिक नोक्सानी भएको’ बताएको उल्लेख गरेका छन् ।

ब्रायनका अनुसार उनले प्रतिशोध, गलत बर्खास्ती र यौन उत्पीडनका लागि मुद्दा दर्ता गराएका छन् । उनको क्षतिपूर्तिबारे भने अदालतको न्यायाधीशले निर्णय गर्नेछन् । विलको टिमले भने यो घटनाका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया