काठमाडौँ । हिमालयन लिटरेचर फेस्टिभल र राइटर्स वर्कसपले नेपालमा पहिलो ‘कविता फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महोत्सव आगामी वर्षको १५ देखि २२ जेठसम्म काठमाडौँमा आयोजना छ । आयोजकले विश्वभरका फिल्म निर्माता र निर्देशक, लेखक र कलाकारलाई सशक्त साहित्यिक वा काव्यिक आधार भएका फिल्म महोत्सवमा पठाउन आह्वान गरेका छन् ।
महोत्सव निर्देशक सृजना भण्डारीले छोटा कविता फिल्म, साहित्यिक रूपान्तरण तथा रूपान्तरित पटकथा, कवि तथा लेखकमा आधारित जीवनी वा वृत्तचित्र, साहित्यिक वा काव्यिक परम्परामा आधारित फिल्मलाई महोत्सवमा समावेश गरिने बताइन् ।
महोत्सवमा कविता, गद्य, फिल्म, प्रदर्शन कला र दृश्य कलाबीचमा समन्वय गर्ने तथा अन्तरविधागत र प्रयोगात्मक कृतिलाई पनि प्रोत्साहन गरिने आयोजकले जनाएका छन् । महोत्सवको जुरी मण्डलमा आयरल्यान्डका फिल्म निर्देशक पिटर सेल्सबरी, हलिउडका संगीतकार चाड क्यानन तथा बेलायतका निर्देशक स्टिफन बोकास छन् । महोत्सवमा समावेश भएकामध्ये सर्वोत्कृष्ट घोषित फिल्मले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया