गोबर गणेशको शीर्ष गीत

काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत ‘गोबर गणेश’ सार्वजनिक भएको छ । गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर तथा बाबुल गिरीको शब्द र संगीत छ । गीतमा सबै कुरामा उपर्युक्त व्यक्ति पढाइमा भने कमजोर हुँदा त्यसले पार्ने असरलाई देखाइएको छ ।

फिल्मका निर्देशकसमेत रहेका गायक मरिचमानले पढाइ कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट्याउने खुलाए । ‘सबै कुरामा अब्बल हुँदा पनि पढाइ मात्रै कमजोर भएपछि त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतमा देखाइएको छ’, उनले भने ।

गम्भीर विष्टको कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्मालाई गीतको भिडियोमा देख्न सकिन्छ । आगामी १ माघमा रिलिज हुने फिल्म यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।

प्रतिक्रिया