प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गरेका छन् ।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेको हो ।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ । प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुन् ।

त्यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराएकी थिइन् । देशभरको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उनले गरिन् ।

प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उनले जानकारी गराइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरुसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया