मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने

काठमाडौँ । लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा बाल साहित्यकार विजयराज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको सोमबार साँझ सम्पन्न २४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट साहित्यकार न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा रामप्रसाद घिमिरे, अच्युत रेग्मी, सरला ओझा, वसन्त घिमिरे र खुसीराम डौलिया निर्वाचित भएका छन् । १ सदस्यपछि अध्यक्षले चयन गर्ने प्रतिष्ठानले जनाएको छ ।


२०५३ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा २७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी बर्सेनि १ साहित्यकारलाई १ लाखको नगद पुरस्कार प्रदान गर्दै आएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा नेपाली शिक्षा परिषद्का अध्यक्ष साहित्यकार रमा शर्माले लमजुङको मात्र नभई नेपालको साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताइन् । प्रतिष्ठानका पूर्वअध्यक्ष क्रमशः प्राडा कृष्णबहादुर थापा, डा.देवी सुवेदी, डा.मुकुन्द पथिक, डा.बमबहादुर थापा ‘जीताली’लगायतले समयको मागअनुसार मस्र्याङ्दी प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गर्दै लैजानुपर्ने बताएका थिए । कार्यक्रममा मस्र्याङ्दी प्रवाह बुलेटिन विमोचन गरिएको थियो ।

प्रतिक्रिया