गण्डकीमा प्रादेशिक ललितकला प्रदर्शनीको तयारी

पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगरपालिकाको आयोजनामा आगामी १५ देखि १९ माघसम्म ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ हुने भएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासहित गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा प्रदर्शनी हुने भएको हो ।

यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा गण्डकी प्रदेशका चित्रकला, मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिने बताए । ‘प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवं विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महŒवलाई उजागर गर्ने प्रदर्शनीको लक्ष्य हो’, उनले भने ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले गण्डकी प्रदेशका कलाकारको उत्सवका रूपमा प्रदर्शनी आयोजना गरिने बताए । गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले प्रदेश प्रदर्शनीको अवसर दिएकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गरे । गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रदर्शनीलाई ऐतिहासिक उत्सवका रूपमा मनाउने गरी तयारी भइरहेको बताउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफूहरूलाई प्रेरित गरेको बताए ।

प्रतिष्ठानले ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको साझा उद्देश्य नेपाली ललितकला क्षेत्रको विकासका लागि खोज–अनुसन्धान, प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी तथा कलाकारको जीवनस्तर उकास्नका लागि विविध गतिविधि गर्ने जनाएको छ । उसले नेपाली ललितकलालाई देश विदेशसम्म पु¥याउने, सम्मान, कदर एवं पुरस्कार प्रदान गर्ने, पुस्तकालय, ग्यालरी, संग्रहालय आदि स्थापना गर्ने, सिर्जनावृत्ति, छात्रवृत्ति, विद्वत्वृत्ति प्रदान गर्ने, नेपालका रैथाने शिल्पज्ञान तथा कलाको संरक्षण, प्रवद्र्धन तथा विकासलगायतका ललितकलाका विविध पक्षमा कार्य गर्ने जनाएको छ ।

प्रतिष्ठानका अनुसार यस्तै प्रदर्शनी कोसीमा २९ माघदेखि ४ फागुनसम्म, मधेसमा १६ देखि २० माघसम्म, बागमतीमा ८ देखि १२ फागुनसम्म, लुम्बिनीमा १७ देखि २१ माघसम्म, कर्णालीमा १९ देखि २३ माघसम्म र सुदूरपश्चिममा २१ देखि २५ माघसम्म हुनेछ ।

प्रतिक्रिया