स्वःस्फुर्त रूपमा एचआइभी परीक्षण गर्ने स्थिति बनाउन जरुरी

‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व एड्स दिवस सोमबार मनाइएको छ । ३८औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आइतबार पत्रकार सम्मेलनमार्फत् प्रस्तुत गरेको आँकडा हाम्रो मुलुकका लागि खासै भयावह छैन । सन् २००० मा ५ हजार १०० जना नयाँ संक्रमित फेला परेकोमा सन् २०२४ मा ६१४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमणदर यति धेरै घट्नु भनेको निश्चय पनि सकरात्मक संकेत हो । तथापि सन् २०२३ मा भने ४५७ जना मात्रै नयाँ संक्रमित फेला परेका थिए, तर सन् २०२४ मा बढेको देखिएको छ ।

खास गरी सन् २०२३ को तुलनामा २०२४ मा नयाँ संक्रमितको संख्या बढ्नुको कारणका विषयमा सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ । त्यसैगरी कुल संक्रमितमध्ये ७७ प्रतिशत मात्रै स्वास्थ्य संस्थाको सम्पर्क तथा निगरानीमा आएको तथ्यांकलाई पनि गम्भीर रूपमा लिनु जरुरी छ । बाँकी २३ प्रतिशत संक्रमितहरूले अरूलाई फैलाउने जोखिम बढाइरहेका त छैनन् भन्ने प्रश्न निकै विचारणीय छ । एकातिर स्वस्फुर्त रूपमा एचआइभी परीक्षण गर्ने स्थिति बनिनसकेका कारण वास्तविक संक्रमितको संख्या एकिन गर्न ठुलो चुनौती भइरहेको छ भने अर्कातिर पत्ता लागेका सबै संक्रमितलाई स्वास्थ्य संस्थाको सम्पर्क तथा निगरानीमा राख्न नसक्दा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको क्षमतामाथि पनि प्रश्न उठेको छ ।

जुनबेला एचआइभी पत्ता लाग्यो, त्यो बेला निकै भयावह रूपमा चित्रण गरियो । मानव शरीरमा एचआइभीको प्रवेश तथा त्यसले निम्त्याउने एड्स रोगको विषयमा सन् १९८४ मा वैज्ञानिकहरूले उजागर गर्दै गर्दा विश्वभर ठुलो तरंग उत्पन्न भएको थियो । कतै एचआइभी तथा एड्सका कारण मानव सभ्यता नै संकटमा पर्ने त होइन भन्ने चिन्ता स्वभाविकै थियो । किनकि औषधि नै नभएको र औषधि बनाउनसमेत नसकिने रोग देखा पर्नु सामान्य अवस्था होइन । तर पछिल्ला दशकहरूमा एचआइभीका सन्दर्भमा नयाँ तथ्य तथा उपचारका विधि फेला परिसकेका छन् । संक्रमणमुक्त बनाउने औषधि फेला नपरे पनि एचआइभीको असर दु्रत विस्तार हुन रोक्ने औषधि तथा विधिहरू प्रयोगमा आइसकेका छन् । एचआइभी संक्रमित व्यक्ति पनि सामान्य जीवनयापनका साथ थप ३०–३५ वर्ष बाँचेका उदाहरणहरू प्रशस्त छन् । त्यसैले एचआइभी संक्रमण हुनासाथ विगतमा जस्तो सबै कुरा सकियो भनेर निराश हुनुपर्ने अवस्था अब छैन । यति हुँदाहुँदै पनि एचआइभी संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोण यथावत रहेका कारण चुनौति न्यूनीकरण हुन सकेको छैन । यसका लागि ३ वटै तहका सरकारी निकायबीच एकीकृत प्रयासको खाँचो छ ।

स्थापनाको ३२ वर्षको अवधिमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले निर्वाह गरेको भूमिका सराहनीय हुँदाहुँदै पनि केन्द्रको प्रयासले मात्रै ढुक्क हुन सक्ने अवस्था नदेखिनुको मुख्य कारण भनेको एचआइभी संक्रमितका सन्दर्भमा हाम्रो समाजले अपनाउँदै आएको भयावह दृष्टिकोण हो । किनकि पहिचान हुनासाथ संक्रमितले समाजमा समान्य जीवनयापन गर्न सक्ने अवस्था अझै छैन । संक्रमितसँग असुरक्षित यौन सम्पर्क तथा संक्रमितको रगतसँग सम्पर्क भएका सामान तत्काल असंक्रमितको रगतसँग सम्पर्क भएको अवस्थामा बाहेक सामान्यतया यो रोग सर्दैन भन्ने तथ्यलाई प्रभावकारी रूपमा प्रचार प्रसार गर्न नसक्दा पनि यो समस्या उत्पन्न भएको हो । हुन त संक्रमण वृद्धिदर अबको केही वर्षभित्र शून्यमा पु¥याउने प्रतिवद्धताअनुसार प्रयास भइरहेको केन्द्रले जनाएको छ । तर जबसम्म एचआइभी संक्रमितप्रति समाजको दृष्टिकोण सामान्य बन्दैन, संक्रमितहरूले खुलेर समाजमा बाँच्न सक्ने अवस्था बन्दैन, तबसम्म स्वस्फुर्त रूपमा परीक्षण गर्ने सिलसिला सुरु हुँदैन ।

स्वस्फुर्त रूपमा परीक्षण गर्न उत्प्रेरित नभएसम्म संक्रमण वृद्धिदर शून्यमा झार्ने सरकारको प्रयत्न सफल हुने सम्भावना रहन्न । यसका लागि लागुऔषधको प्रयोग नियन्त्रण गर्ने निकायलाई पनि त्यतिकै सक्रिय बनाउनु जरुरी छ । त्यसो त पति–पत्नीबाहेक अरूसँग यौन सम्पर्क गर्नु अनुचित हो, संयोगवस यस्तो परिस्थिति आइपरेमा कन्डमको प्रयोग गर्नुपर्छ भन्ने प्रचारप्रसारलाई पनि उत्तिकै प्रभावकारी रूपमा अघि बढाउने जरुरी छ ।

प्रतिक्रिया