क्रिकेटले खोलेको सम्भावनाको ढोका

अन्य खेलको तुलनामा नेपालमा क्रिकेटको व्यावसायिक इतिहास खासै लामो छैन, यद्यपि संस्थागत प्रयास सुरु भएको छोटो अवधिमै क्रिकेट खेलमा अन्तर्राष्ट्रिय पहिचान बनाउन नेपाली खेलाडीहरू सफल देखिएका छन् । खेलकुद क्षेत्रमा राज्यले अपेक्षित प्राथमिकता नदिँदा नदिँदै पनि नेपाली क्रिकेट खेलाडीहरूले सफलता पाउनुमा पहिलो कारण उनीहरू स्वयंको रुची तथा इच्छा शक्ति हो ।

दोस्रो कारण क्रिकेट खेलप्रतिको जन आकर्षण र प्रेमीहरूको संख्या बढ्दै जानु हो । किनकि ठ्याक्कै क्रिकेट खेल नखेलिए पनि क्रिकेटसँग मिल्दाजुल्दा, डन्डी–बियो, गिर लगायतका रैथाने खेलहरू नेपाली समाजको खेल जगतका अभिन्न अंगजस्तै बन्दै आएका थिए ।

दूर–दराजका गाउँबस्तीहरूमा डन्डी–बियो, गिर लगायतका रैथाने खेलहरू लोकप्रिय थिए भने राणाशासनको मध्यसमय ताका दरबार तथा सहरियाहरूले क्रिकेट खेल भित्र्याएको इतिहास छ । इतिहास हेर्दा बेलायत पढेर फर्केका राणाका छोराहरूले विसं १९७० सालमै क्रिकेट खेल भित्र्याएको देखिन्छ, तर त्यो क्रिकेट खेल आमसर्वसाधारणसम्म पुग्न भने थप ६० वर्ष लाग्यो ।

क्रिकेट खेल आमनेपालीसम्म पुगेको २०४० सालपछि मानिन्छ । भरतीय टेलिभिजन च्यानलहरू नेपालमै हेर्न थालिएसँगै क्रिकेट प्रेमीहरूको संख्या बढ्दै गएको हो । तर क्रिकेटले अन्य खेलजस्तै व्यावसायिक रूप लिनका लागि भने निकै ठुला उतारचढाव बेहोर्नुपरेको देखिन्छ ।

लामो समयसम्म सामान्य घरेलु खेलमा सीमित नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउने अवसर पाएको २०५२ सालमा मलेसियामा आयोजित एसिसी ट्रफीदेखि हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएको यो ३० वर्षको अवधिमा केही अपवादबाहेक कहिल्यै पछि फर्कन नपर्नु भनेको नेपाली क्रिकेट जगतको सफलता हो ।

नेपालले सन् २०२३ को एसिया कपजस्तो महत्वपूर्ण क्षेत्रीय प्रतियोगितामा पहिलोपटक उपस्थिति जनाएर भारत, पाकिस्तानजस्ता बलिया प्रतिस्पर्धीहरूको सामना गर्ने अवसर पाइसकेको छ । साथै नेपालले आउँदो वर्ष हुने टी–२० विश्वकपमा खेल्ने सुनिश्चित भइसकेको छ । नेपालले यसअघि पनि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलको थियो ।

सन् २०१४ समूह चरणका २ खेल जिते पनि तेस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । सो पराजयका कारण नेट रनरेटमा पछि परेपछि समूह चरणमै सीमित हुनुपरेको थियो । यस्तै, २०२४ मा उच्च प्रदर्शन गरे पनि कुनै खेल जित्न सकेको भने थिएन । यसपटक भने नेपालले ठुलै अपेक्षा गरेको छ । आवश्यक पूर्वतयारी पनि विगतका तुलनामा सन्तोषजनक देखिन्छ ।

त्रिवि क्रिकेट रंगशाला सुविधा सम्पन्न बन्नु र यही रंगशालामा १ देखि २७ मंसिरसम्मका लागि नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुनु आफँैमा एउटा उपलव्धि मात्रै होइन यसलाई टी–२० विश्वकप प्रतियोगितामा सफलता हासिल गर्ने प्रयासका रूपमा लिनुपर्छ । किनकि प्रतियोगितामा भाग लिन आउने विश्वप्रसिद्ध खेलाडीहरूबाट हाम्रा खेलाडीहरूले धेरै कुरा सिक्ने मौका मात्रै पाउने छैनन्, उनीहरूमा थप ‘आत्मविश्वास’ समेत विकास हुनेछ ।

नेपाली क्रिकेट खेलाडीहरूको बढ्दो सफलता तथा यो खेलप्रतिको बढ्दो जनआकर्षणबाट राज्यको नीति निर्माण तहमा रहनेहरूले पाठ सिक्न ढिलाइ भइसकेको छ । खेलकुद क्षेत्र मनोरन्जनको माध्यम मात्रै नभएर देशको प्रतिष्ठा तथा आय आर्जनको समेत महत्वपूर्ण पाटो हो भन्ने कुरा क्रिकेट खेलले प्रमाणित गरिसकेको छ । क्रिकेट क्षेत्रमा गरिने लगानी पुँजीमा परिणत हुने संभावना व्यवहारतः पुष्टि भइसकेको यो अवस्थामा सरकारले गम्भीरतापूर्वक चासो लिनुपर्छ ।

क्रिकेट खेलका लागि विभिन्न संघ, संस्था, जनस्तर तथा स्थानीय सरकारमार्फत अहिलेसम्म जे जति पूर्वाधार निर्माण भएका छन्, ती स्तुत्य छन्, तर काम चलाउ मात्रै छन् । टी–२० तथा एकदिवसीय विश्वकपमा उपाधि हासिल गर्न सक्षम खेलाडी उत्पादनका लागि दीर्घकालीन सोच बनाउनु जरुरी छ । किनकि विश्वकपमा उपाधि हासिल गर्दा अन्तर्राष्ट्रिय जगतमा देशको शाख यति वृद्धि हुन्छ कि, त्यसलाई आर्थिक रूपमा तुलना नै गर्न सकिन्न ।

त्यसैले क्रिकेट खेल प्रवद्र्धनका लागि हरेक स्थानीय तहमा व्यावसायिक खेलाडी उत्पादन गर्न रंगशाला सहितको संरचना तथा हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरियो भने एकातिर नेपाली युवाहरू स्वस्थ्य तथा अनुशासित हुने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगारी पाउने, अर्कातिर क्रिकेट पर्यटनबाटै मुलुकले आय आर्जनसमेत गर्ने संभावना देखिएको छ । त्यसो त खेलकुद विकासका लागि सरकारी प्रयास मात्रै पर्याप्त हुँदैन, यसमा निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्छ भन्ने कुरा व्यवाहरतः पुष्टि भइसकेको यथार्थलाई पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया