नयाँ दल दर्ता र मतदाताको संख्याले दिएको सन्देश

जेनजी आन्दोलनपछि नयाँ दल दर्ता गर्ने लहर र रहर उत्साहजनक देखिए पनि नयाँ मतदाताको संख्या भने अपेक्षा गरिएजस्तो वृद्धि हुने संकेत देखिएको छैन । यद्यपि नयाँ दल दर्ता र मतदाता नामावलीमा नाम समावेश गर्ने म्याद अझै ३ दिन बाँकी छ ।

निर्वाचनको मिति घोषणा भइसकेपछि नयाँ दल दर्ता तथा मतदाता नामावली अद्यावधिक गर्न मिल्ने कानुनी व्यवस्था नभए पनि अहिले विशेष परिस्थितिमा निर्वाचन हुन लागेका कारण सरकारले अध्यादेशमार्फत यो कानुनी गाँठो फुकाएको हो । अध्यादेशद्वारा यो कानुनी गाँठो फुकाउनुको एक मात्रै उद्देश्य जेनजी आन्दोलनकारीका माग मतपत्रको माध्यमबाट सम्बोधनका लागि मार्गप्रशस्त गर्नु हो ।

जुन शक्तिको आन्दोलनले मुलुकमा परिवर्तन ल्यायो, त्यो शक्तिको सहभागिताविना आमनिर्वाचन गराउनु निरर्थक हुने भएकोले नै दल दर्ताका लागि र मतदाता नामावली अद्यावधिकका लागि साविकको कानुन अध्यादेशद्वारा संशोधन गरेर अवशर दिनु सरकारको स्वागतयोग्य कदम हो । यो अवसरलाई जेनजी आन्दोलनकारीले हदैसम्म सदुपयोग गरुन् भन्ने आमजनधारणा रहेको देखिन्छ ।

तर यो अवसरको सदुपयोग गर्दै दल दर्ताका क्रममा देखिएर लहर तथा रहर आमजनधारणा अनुकूल देखिँदैन । बुधबारसम्ममा २० वटा नयाँ दल दर्ताको निवेदन परिसकेको निर्वाचन आयोगको भनाइ छ भने करिब आधा दर्जन नयाँ दलहरू दर्ताको तरखरमा रहेको समाचार मिडियामा आएका छन् ।

दल दर्ताका लागि देखिएको यो उत्साहलाई बहुदलीय लोकतन्त्रको मर्म तथा भावनाको दृष्टिकोणले नकरात्मक भन्न मिल्दैन, तर आन्दोलनकारी शक्ति एउटै छातामुनि बस्न नसकेर यति धेरै दल दर्ता हुने परिस्थिति उत्पन्न भएको हो भने नवयुवाहरूको बलिदान खेर जाने सम्भावना बढ्छ ।

हुन त यो अवधिमा दर्ता भएका तथा हुने क्रममा रहेका करिब २ दर्जन पार्टीहरूमध्ये कुन–कुुन जेनजी आन्दोलनकारी मध्येका हुन्, कुन–कुन यथास्थितिवादी तथा थप परिवर्तनकारी शक्ति हुन् भन्ने अन्योल अझै केही साता कायमै हुनेछ ।

तर प्रायः सबै नयाँ दलहरूले आफूलाई वास्तविक जेनजीको प्रतिनिधित्वकर्ता दाबी गरेका कारण परिवर्तनका पक्षधर मतदाता अन्योलमा पर्ने र भोट धेरै पार्टीमा छरिन गई यथास्थितिवादी शक्तिले चुनाव जित्ने सम्भावना बढ्न सक्छ । त्यसो त बाँकी ४ दिनको अवधिमा कुनै चमत्कार भयो भने बेग्लै कुरा हो, होइन भने यो २६ दिनको अवधिलाई हेर्दा नयाँ मतदाताको संख्या वृद्धि उत्साहजनक देखिएको छैन ।

१८ वर्ष उमेर नपुगेका कारण अघिल्लो आमनिर्वाचनमा भाग लिने अवसर नपाएका करिब ९ लाख नागरिकको यसपटक १८ वर्ष उमेर पुग्ने र त्यही अनुपातमा नयाँ मतदाता थपिने अनुमान स्वभाविक हो । एकातिर असली जेनजीको प्रतिनिधि दावी गर्ने नयाँ पार्टीहरूको संख्या अनपेक्षित बढी देखिँदा र नयाँ मतदाताको संख्यावृद्धि अपेक्षित नदेखिँदा मुलकको राजनीति यथास्थितिबाट माथि उठ्न नसक्ने हो कि भन्ने आशंका सिर्जना भएको छ ।

नयाँ दल दर्ता तथा मतदाता नामावली अद्यावधिकका क्रममा देखिएको संकेतले जेनजीको रगत खेर जाने अनुमान स्वभाविकै भए पनि समय अझै बाँकी छ । अहिलेसम्मको अनुभव अनुसार दर्ता भएका सबै दलहरू अनिवार्य रूपमा चुनावमा भाग लिन्छन् भन्ने हुँदैन । उदाहरणका लागि गत स्थानीय तथा आमनिर्वाचनमा मुलुकमा विद्यमान करिब १२० मध्ये ५९ दलले मात्रै भाग लिएका थिए ।

यसपटक फागुन २१ गते निर्धारित आमनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको तालिका मंसिर १ देखि १० गतेसम्मका लागि तोकिएको छ । कात्तिक ३० गतेभित्र दर्ता भएका दलहरूमध्येबाटै फेरि निर्वाचन प्रयोेजनका लागि दर्ता हुँदा संख्या घट्न सक्छ । जेनजीको पक्षधर दाबी गर्ने दलहरूले यो १० दिनको समयलाई सदुपयोग गर्न सक्ने अपेक्षा अझै जीवित छ ।

त्यसो त निर्वाचनमा भाग लिने क्रममा पनि तालमेल गर्ने या साझा चुनाव चिन्ह लिने मौका पनि जीवितै छ । यसैगरी आफूलाई विकल्पको दाबी गर्दै धेरै नयाँ दलहरू चुनावी मैदानमा उत्रिए पनि परिवर्तनको पक्षधर जनमत तीमध्ये निश्चित पार्टीको पक्षमा उभिएको पनि विगतले देखाएको छ ।

अहिलेसम्म जे भयो भयो, अब चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने क्रममा जेनजी पक्षधरहरूले आत्मसमीक्षा गर्दै परिवर्तनकारी शक्ति एक ठाउँमा उभिनुपर्ने जनआकांक्षालाई संवोधन गर्नुपर्छ । आन्दोलन के का लागि भएको हो र नयाँ दल दर्ताको अवशर केका लागि दिइएको हो भन्ने प्रश्नलाई नजरअन्दाज गरेर चुनावमा जाँदा जनताले दण्डित गर्नेछन् भन्ने हेक्का सबैले राखुन् ।

प्रतिक्रिया