नेताहरूको क्लब मात्रै नबनोस् एकीकृत वाम पार्टी

सैद्धान्तिक रूपमा कम्युनिस्ट विचारधारा अँगाल्ने पार्टीहरूको संख्या नेपालमा कति छ ? भन्ने उत्तर थाहा पाउन विशेष अनुसन्धान नै गर्नुपर्ने हुन्छ । २००६ सालमा राष्ट्रिय कांग्रेस परित्याग गरेर पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी गठन गरेयता ७६ वर्षको इतिहासमा पार्टी विभाजन र एकीकरणको फेहरिस्त निकै लामो छ । त्यसैको पछिल्लो कडीका रूपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा कम्युनिस्ट घटक एकीकरणको अन्तिम तयारीमा छन् । सँगै एकीकरणप्रति असन्तुष्ट नेताहरूले छुट्टै पार्टी खोल्न लागेका समाचार पनि छन् । यो समाचारले नेपालका कम्युनिस्ट नेताहरूमा एकअर्काको अस्तित्व स्विकार गर्न नसक्ने चरित्र उजागर गर्छ ।

बहुदलीय शासन व्यवस्थामा साझा विचार भएका व्याक्तिहरूले संगठन बनाएर पार्टी खोल्नु स्वाभाविक हो । विभिन्न विचार बोकेका सयौँ पार्टी मुलुकमा छन् । कम्युनिस्ट भनेको पनि एउटा सशक्त र कालजयी विचार तथा सिद्धान्त हो । यो सिद्धान्तका प्रतिपादक कार्ल माक्स हुन् भन्ने कुरामा कम्युनिस्ट विचार बोक्ने कसैलाई पनि द्विविधा छैन । तर, एउटै विचार बोक्नेहरू पनि विभाजित छन् । एउटै देशमा धेरै कम्युनिस्ट पार्टी क्रियाशील हुनु आफैँमा सैद्धान्तिक विचलन हो । विशेष परिस्थितिमा स्थापित हुन पुगेका कम्युनिस्ट पार्टीहरूबीच आपसमा एकीकरणको प्रयास हुनु सैद्धान्तिक चेत हो । त्यसैले पछिल्लो पटक हुन लागेको ८ वटा कम्युनिस्ट पार्टीबीचको एकता स्वागतयोग्य छ ।

जुन देशमा कम्युनिस्ट विचारधारा बोक्नेहरू एउटै संगठन तथा झन्डामुनि आवद्ध छन्, ती देशमा कम्युनिस्ट पार्टीले शासन सत्ता सञ्चालन गर्ने हैसियत बनाएको देखिन्छ । जुन देशमा च्याउसरी कम्युनिस्ट पार्टी छन्, त्यहाँको शासन सत्ता बुर्जुवा वर्गको हातमा छ । नेपालको सन्दर्भमा पनि सबै कम्युनिस्ट पार्टीले चुनावमा प्राप्त गर्ने मत एकैठाउँ राख्ने हो भने करिब ५० प्रतिशत नजिक हुन्छ । तर, यो ५० प्रतिशत मत कम्युनिस्ट नाम गरेका विभिन्न पार्टीमा बाँडिएकै कारण नेपालको कम्युनिस्ट आन्दोलन छरपष्ट बनेको छ । यो विकृतिको कारक भनेकै नेताहरू हुन् भन्ने कुरामा सन्देह छैन । ८ कम्युनिस्ट पार्टीबीच अहिले हुन लागेको एकीकरण विगतमा जस्तै फेरि विभाजनका लागि हो वा कम्युनिस्ट आन्दोलनलाई एकीकृत तथा ध्रुवीकृत गर्न हो ? भन्ने प्रश्नको उत्तर निकट भविष्यले दिने नै छ ।

७६ वर्षको तितो इतिहासले पनि राजनीतिक चेत भएका सबैको मनमा यो प्रश्न उठ्नु स्वाभाविक हो । किनकि यी ८ पार्टीले गत आइतबार गरेको १८ बुँदे सम्झौता हेर्दा कम्युनिस्ट आन्दोलनलाई व्यावहारिक रूपले सशक्त बनाउने लक्ष्यभन्दा पनि केवल सत्ता प्राप्ति वा निश्चित स्वार्थपूर्तिका लागि भएको प्रयास भएको आशंका पैदा हुन्छ । सत्ता प्राप्तिलाई केन्द्रमा राखेर गरिएको एकीकरण टिकाउ हुँदैन भन्ने कुरा पटक–पटक पुष्टि भइसकेको यथार्थलाई आत्मसात् गरेर नेताहरू अघि बढे यो एकीकरणले सकरात्मक परिणाम दिनेमा दुईमत छैन ।

यो एकीकरणमा सामेल ८ घटकमध्ये ४ घटकको पृष्ठभूमि एमाले हो, जो बहुदलीय जनवादबाट दीक्षित छन् । बाँकी ४ घटकको पृष्ठभूमि माओवादी हो, जो जनयुद्धबाट दीक्षित छन् । त्यसैले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहमतिले छिटफुटबाहेक धेरैजसो नेता समेटिने विश्वास गरिनु स्वाभाविकै हो । तर, नेताहरूको क्लबले मात्रै पार्टी जीवन्त रूपमा अघि बढ्न सक्दैन । कार्यकर्ता पार्टीका रक्तसञ्चार हुन्, जनसमर्थन पार्टीको आत्मा हो । तर, विगत केही दशकदेखि सत्तामै रमाएका प्रचण्ड होऊन् वा नेपाल, कसैले पनि जनताको तहमा प्रशिक्षण कार्यक्रम अघि बढाएका छैनन् । युवा पुस्ताको विकर्षण नेपालको कम्युनिस्ट आन्दोलनको पछिल्लो जल्दोबल्दो समस्या हो । भर्खरै भएको जेनजी विद्रोहले पनि यो कुरा पुष्टि गरेको छ । जबसम्म विगतमा जस्तै नवयुवा पुस्तालाई आकर्षित गर्ने अभियान चलाइँदैन, तबसम्म कम्युनिस्ट पार्टीमा क्रान्तिकारिताको आत्मा कमजोर हुँदै जान्छ । यो एकीकरण जेनजी विद्रोहको मर्म र भावनालाई आत्मसात् गर्ने गरी अघि बढ्यो भने मुलुकको हितमा हुनेछ ।

प्रतिक्रिया