
काठमाडौँ महानगरपालिकाद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न अवरोध भएकोले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोरमैला घर/कम्पाउन्डमै राख्नु हुन अनुरोध छ ।’ यद्यपि बन्चरेडाँडा ल्यान्डफिल साइटमा के कारण अवरोध भयो भन्ने कुरा महानगरले खुलाएको छैन । तर मेयर बालेन शाहका समर्थकहरूले स्थानीय बासिन्दालाई राजनीतिक दलहरूले उचालेर समस्या सिर्जना गरेको आरोप लगाएका छन् ।
यता स्थानीय बासिन्दाहरूले २०७९ जेठ २६ मा भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा काठमाडौँ महानगरपालिकाले बेइमानी गरेको आरोप लगाएका छन् । यी आरोप प्रत्यारोपले फोहोरमाथिको राजनीति झन्झन् मौलाउँदै गएको पुष्टि हुन्छ । राजनीतिक दलका नेताहरूले लामो समयदेखि फोहोरमाथि राजनीति गर्दै आएको महसुसका साथ जनताले गत स्थानीय आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार शाहलाई जिताएका थिए ।
‘फोहोरमाथि राजनीति नगर्ने बरु फोहोरलाई मोहरमा परिणत गर्ने’ मुख्य एजेन्डाका साथ होमिएका शाहले चुनाव जित्नासाथ देखाएको तदरुकता प्रशंसनीय थियो । हप्तौँसम्म विसर्जन हुन नसकेको फोहोरको समस्यालाई कार्यभार सम्हालेको १ महिनाभित्रै समाधान गर्नु मेयर शाहको सफलता थियो । तर यो सफलता दीर्घकालीन हुन सकेन । चुनावमा आफैँले गरेका वाचा तथा ल्यान्डफिल साइटका स्थानीय बासिन्दासँग गरिएका १८ बुँदे सम्झौता मेयर शाहले बिर्संदै जानुको परिणाम पनि हो यो । जो निर्वाचित भएर आए पनि फोहोरमाथि जारी यो राजनीतिका कारण राजधानी काठमाडौँ उपत्यकावासीको पीडा सानो छैन ।
फोहोर विसर्जनवापत काठमाडौँ महानगरबासीले तिर्नुपर्ने महसुल निकै चर्को छ । प्रतिघर कम्तिमा मासिक ३५० रुपैयाँ महसुल उठाइन्छ ।
काठमाडौँ महानगरपालिकाभित्र मात्रै करिब २ लाख ५० हजार घर रहेको अनुमानित आँकडालाई हिसाब गर्ने हो भने पनि मासिक १० करोड रुपैयाँको हाराहारीमा रकम संकलन हुन्छ । यसैगरी होटल–रेस्टुरेन्ट, स्कुल कलेज, अस्पताल लगायतका संस्थाबाट पनि मासिक १ हजारदेखि ४० हजार रुपैयाँसम्म महसुल उठाउँदा संकलन हुने रकम पनि सानो छैन । यता सरसफाइ तथा फोहोर संकलन वापत काठमाडौँ उपत्यकाभित्रका पालिकाहरूले खर्च गर्ने बजेटको परिमाण पनि निकै ठुलो छ ।
उपत्यकाभित्रकै भक्तपुर नगरपालिका तथा बाहिरका कैयौँ पालिकाहरूले फोहोर व्यवस्थापनबाटै उल्लेख्य आम्दानी गर्न थालेका छन् । तर, काठमाडौँ महानगरपालिकाको हकमा वार्षिक अर्बौं रुपैयाँ खर्च हुँदा पनि न महानगरवासीले राहत पाएका छन्, न त फोहोर विसर्जन गर्ने स्थानका बासिन्दा सन्तुष्ट छन् । यसको मुख्य कारण फोहोर संकलनका नाममा हुने गरेको चरम भ्रष्टाचार हो । यो भ्रष्टाचारलाई मेयर शाहले समेत चिर्न नसक्नुको परिणाम हो ।
काठमाडौँ महानगर क्षेत्रभित्रको सरसफाइका मामिलामा गत स्थानीय निर्वाचनयता केही न केही सुधार आएको पक्कै हो । बन्चरेडाँडा ल्यान्डफिल साइटका बासिन्दाहरू लामो समयसम्म धैर्य गरेर बसेकैले महानगर क्षेत्रको सरसफाइमा सुधार आएको छ । तर यो अवधिमा विकल्प खोज्न नसक्नु महानगरपालिकाको कमजोरी हो । हुन त यो मालिमामा काठमाडौँ महानगरपालिकालाई मात्रै दोष दिनु न्यायसंगत हुँदैन । किनकि उपत्यकाका दर्जनौँ पालिकाका अतिरिक्त काभ्रेका केही पालिकाहरूको समेत फोहोर बन्चरेडाँडा पठाइन्छ । बन्चरेडाँडा ल्यान्डफिल साइट संघीय सरकारको समेत सरोकारको विषय हो । त्यसैगरी काठमाडौँ उपत्यकाका ३ जिल्लाका अतिरिक्त काभ्रेपलान्चोक, नुवाकोट तथा धादिङ जिल्लाका कतिपय निर्वाचन क्षेत्रबाट चुनाव जितेका दर्जनौँ सांसदहरूको समेत सरोकारको मुद्दा हो यो ।
आजभन्दा ३३ वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल र काठमाडौँका मेयर पिएल सिंहले हेलिकोप्टर चढेर ल्यान्डफिल साइटका लागि पहिचान गरेको यो स्थानको विकल्प खोज्न ढिलाइ भइसकेको छ । काठमाडौँ सहर विस्तार भई घडेरीका रूपमा बिक्री हुन थालिसकेको यो क्षेत्रका स्थानीय बासिन्दाको चित्त बुझाउने प्रयासमा साधन र स्रोतलाई निरर्थक खर्च गर्नुभन्दा यथाशीघ्र विकल्प खोज्नु नै बुद्धिमानी हुनेछ । ल्यान्डफिल साइट हट्नासाथ आफ्नो क्षेत्रको घडेरीको मूल्य ४ गुणा बढ्ने स्थानीयबासीको बुझाइको परिणाम यो अवरोध हो १८ बुँदे सम्झौता कार्यान्वयनको माग १ हिसाबले निहुँ मात्रै हो । यो अवरोधको अन्तर्य बुझ्न ढिलाई गर्नु भनेको समयको बरबादी मात्रै हो । सरकारले यथाशीघ्र विकल्प खोजोस् ।
प्रतिक्रिया