सार्वजनिक संस्थान सुधार्ने सरकारको नयाँ नीति स्वागतयोग्य

सरकारी स्वामित्वमा स्थापना भएका संस्थानहरूको सञ्चालन विधि पुनरवलोकन गर्ने प्रयास स्वरूप मन्त्रिपरिषद्को गत १२ असोजको बैठकले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ पारित गरेको छ । हालका अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको आयोगले राज्यको अनुत्पादक खर्च घटाउने सन्दर्भमा केही महिनाअघि दिएको सुझावका आधारमा पूर्ववर्ती सरकारले तयार गरेको यो नीतिलाई अहिलेको मन्त्रिपरिषद्ले सामान्य हेरफेरका साथ स्वीकृत गरेको हो । यो नीतिअनुसार सार्वजनिक संस्थाहरू अब क्रमशः कम्पनीमा रूपान्तरण हुनेछन्, यस्ता कम्पनी सञ्चालनमा सरकारको प्रत्यक्ष सहभागिता कम गर्दै लगिनेछ । साथै अत्यावश्यकीय सेवा प्रदायकबाहेक अन्य कम्पनीहरूको सेयर तथा सञ्चालनमा निजी क्षेत्रको भूमिका वृद्धि गर्दै लगिनेछ ।

त्यसैगरी निरन्तर घाटामा गएका कारण बन्द भएका कतिपय संस्थानलाई निजीकरण गर्ने गृहकार्यलाई निरन्तरता दिइएको छ । प्रतिवेदन सरसर्ती हेर्दा बस्तुपरक देखिए पनि कार्यान्वयनका सन्दर्भमा भने विश्वास गर्न सकिने अवस्था छैन । नीति नयाँ भए पनि नीतिमा उल्लेख गरिएको अवधारणा भने ४ दशक पुरानो हो । २०४२ सालमै तत्कालीन अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले अघि सारेको अवधारणामा समेत यस्ता प्रावधानहरू उल्लेख थिए ।

अवधारणा बस्तुपरक भए पनि कार्यान्वयनको ढाँचा हचुवा र फितलो हुनु मुख्य चुनौती हो । समस्या कानुन तथा नीतिको भन्दा पनि कार्यान्वयन तहमा रहनेहरूको बेइमानीका कारण सिर्जना भएको हो । सरकारी संस्थानहरू कुन चरणसम्म मुनाफामा थिए ? कुन चरणपछि घाटामा जान थालेका हुन् भन्ने प्रश्नको उत्तरले राजनीतिक हस्तक्षेपको महारोगलाई पुष्टि गर्छ । तर सरकारी संस्थानहरूमा हुने राजनीतिक हस्तक्षेपलाई कसरी निमिट्यान्न पार्ने भन्ने ठोस योजना अहिलेसम्म आउन सकेको छैन । हालै ल्याइएको नयाँ नीतिमा पनि त्यस्तो ठोस योजना छैन ।

सरकारी स्वामित्वमा रहेका ४५ वटामध्ये निरन्तर घाटामा गएका १५ वटा संस्थानहरू यथास्थितिमा सञ्चालन गर्नु देशका लागि घातकसिद्ध छ भन्ने कुरामा कसैको पनि विमति नहोला । कुनै बेला पर्याप्त मुनाफामा चलेका यी संस्थानहरू राज्यका लागि आर्थिक बोझ बन्नुको मुख्य कारण भ्रष्टाचार हो । हुन त सरकारी स्वामित्वमा सञ्चालित प्रायः सबै संस्थानहरूमा भ्रष्टाचार व्याप्त छ । तर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु नपरेको र बजारमा एकाधिकार कायम रहेका कारण २८ वटा संस्थानहरू मुनाफामा रहेका हुन् ।

जुन जुन संस्थाहरू निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगे, ती संस्था सञ्चालनका लागि राज्यको व्ययभार बढेको हो । समान बस्तु उत्पादन गर्ने निजी संस्था प्रचुर मुनाफामा जानु तर सरकारी संस्था घाटामा जानुको कारण भ्रष्टाचारको अलवा व्यवस्थापनको निर्णायक अक्षमता हो भन्ने यथार्थप्रति सायद अहिलेसम्मका कुनै पनि अर्थमन्त्री अनविज्ञ छैनन् । सरकारी संस्थानहरूले आवश्यक बस्तु खरिद तथा उत्पादित बस्तु विक्रीका लागि अपनाउनुपर्ने कानुनी प्रक्रिया ज्यादै लम्बेतान र जोखिमपूर्ण हुनु पनि घाटामा जानुको कारण हो । यो गाँठो जबसम्म फुकाउन सकिन्न तबसम्म अन्य प्रयासहरू निरर्थक हुनेछन् ।

समस्या जहाँ हो, उपचार त्यहीँबाट सुरू गर्नुपर्छ । सरकारी स्वामित्वका संस्थानका व्यवस्थापकहरूको निर्णायक क्षमता निजी कम्पनीका व्यवस्थापकसरह बनाउने प्रयास सफल हुन नसकेकै कारण २०४६ सालको परिवर्तनपछि धमाधम निजीकरण प्रक्रिया थालनी गरिएको यथार्थलाई बिर्सनु हुन्न । साथै निजीकरण गरिएका कम्पनीहरू अस्तित्वविहीन हुँदै गएको यथार्थलाई पनि बिर्सनुहुन्न । गरिब जनताले तिरेको करबाट सिमेन्ट उद्योगका कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता भनेको राष्ट्रिय लज्जाको विषय हो । जुन बस्तु उत्पादनमा निजी क्षेत्र आकर्षित भई सस्तो मूल्यमा आपूर्ति गरेर देशलाई आत्मनिर्भर बनाइसकेको छ, ती बस्तु उत्पादन गर्ने सरकारी उद्योगहरू राज्यले घाटामा सञ्चालन गरिरहनुको औचित्य छैन । त्यसैले सरकारले ल्याएको नयाँ नीतिमा संस्थानहरूलाई वर्गीकरणसहित कम्पनीमा रूपान्तरण गर्ने भनिएको हो ।

वर्गीकरण गर्ने सरकारको निर्णय स्वागतयोग्य छ । सहरको ठुलो रकम दैनिक रूपमा ग्रामीण किसानकहाँ पुर्याइरहेको दुग्ध विकास संस्थानको घाटा र हेटौँडा तथा उदयपुर सिमेन्ट उद्योगको घाटालाई एउटै डालोमा नराख्ने सरकारको कदम औचित्यपूर्ण छ । व्यवस्थापनमा इच्छाशक्ति भएको सक्षम र इमानदार व्यक्तिलाई पुर्याउनु र उसलाई बिनासरकारी हस्तक्षेप काम गर्ने वातावरण तयार गर्नु नै सरकारी संस्थानहरूलाई पुनः लयमा फर्काउने भरपर्दो उपाय हो । जुन कुरा विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कुलमान घिसिङले प्रमाणित गरिसकेका छन् । अहिले ल्याइएको नयाँ नीतिमा उल्लेख गरिएको सक्षम व्यक्तिलाई व्यवस्थापनको जिम्मेवारी दिने र सरकारी हस्तक्षेप कम गर्ने प्रावधान सबैभन्दा बढी स्वागतयोग्य छ । सरकारले यो प्रावधानलाई तत्काल कार्यान्वयन गरोस् ।

प्रतिक्रिया