धनुषाको ब्रिकेट उद्योगमा ग्यास लिक भई आगलागी हुँदा तीन कामदार गम्भीर घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भई आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

राजेश अग्रवालद्वारा सञ्चालित ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उद्योग) भित्र कामदार बस्ने कोठामा बिहीबार बिहान करिब ७ बजे खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनी बस्ने २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन् । उनीहरू तीनै जनाको शरीरका विभिन्न भाग जलेको छ ।

घाइतेहरूको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो । अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया