
बाल्यकालमा दसैँ रमाइलो नै हुन्थ्यो । घरमा खसी काट्थे । मकैको ढोडको आगो बालेर खसी भुत्ल्याउन पानी तताउँथ्यौं । मासु काटेपछि पोलेको कान खान पाइन्छ भनेर बसिन्थ्यो । त्यो बेला लुगा धेरै हुँदैनथ्यो । नयाँ लुगा लगाउन भनेपछि दसैँ नै आउनुपथ्र्यो । दसैँमा पनि टीकाको दिन मात्र नयाँ लुगा लगाउन पाउँथ्यौँ ।
नयाँ कपडाको बासना असाध्यै सुगन्धित लाग्थ्यो । दसैँअघि परिवारले किनिदिएको सेतो जुत्ता प्वाल परेर औँला निस्किसकेको हुन्थ्यो । जुत्ता धेरै भए २ जोर मात्र हुन्थ्यो । दसैँ कहिले आउला र मासु चिउरा खान पाइएला भन्ने हुन्थ्यो । त्यो बेला बच्चाहरूले लगाउने चिनियाँ जुत्ता निकै हिट थियो । हामी त्यहीँ जुत्ता लगाउँथ्यौँ । अहिले पनि यदाकदा त्यस्तो जुत्ता देख्छु ।
त्यतिबेला ब्रान्डेड, फेन्सी लुगा लगाउने चलन थिएन । लुगा किनेर सुचिकारमा लगेर सिलाउन दिनुपथ्र्यो । सुचिकार चिनेकै मान्छे भएकाले उसले शरीरको नाप लिन्थ्यो । अनि कहिले तयार हुन्छ भने ढुकेर बस्थ्यौँ । अलिक पछिचाहिँ जिन्सको पेन्ट आउन थाल्यो । अरूले जस्तो लुगा अथवा पेन्ट लगाउँथे, हामी पनि त्यस्तै लुगा र पेन्ट लगाउँथ्यौँ । त्यो बेला नेसनल ट्रेडिङ लिमिटेड थियो । उसैले बेच्नका लागि लुगा ल्याउँथ्यो ।
मेरा आमाबुबाचाहिँ सानैमा बित्नुभएकोले दिदीहरूले नै कपडा छान्नुहुन्थ्यो । त्यो बेला घरको सबै मान्छेलाई कपडा पसलमा लगेर थानको कपडा किन्थ्यो । सबैले त्यही एकै रंगको थानको कपडा लगाउँथ्यौँ । नौरथा लागेपछि काठमाडौँको सबै मन्दिरहरू पुगिन्थ्यो । बिहान उठेर ३–४ घण्टा साथीहरूसँग हिँडिन्थ्यो ।
उबेला दसैँमा मात्र धेरै मासु खान पाइन्थ्यो । अरू बेला महिनाको १–२ पटक खसीको मासु खाइन्थ्यो । दसैँ सुरु भएपछि ‘अब धेरै दिन मासु खान पाइन्छ’ भन्ने हुन्थ्यो । घरमा पकुवा मासु पकाएर राखिन्थ्यो । अनि बिहानै उठेर गएर निकालेर एउटा क्वाप्प खाइन्थ्यो । त्यसको स्वाद नै एकदमै फरक र मिठो हुन्थ्यो ।
त्यतिबेला अहिलेजस्तो सेलिब्रेसन गर्ने स्रोत साधन थिएन । त्यसबेला बिछट्टै रमाइलो हुन्थ्यो । अहिले त खानकै लागि दसैँ कुुुुर्नुपर्दैन । जहिले पनि खान पाइन्छ । त्यतिबेलाको वातावरण नै रमाइलो हुन्थ्यो । काठमाडौँमा बिहान ११ बजेसम्म नै हुस्सु लाग्थ्यो । हुस्सु हेरेर नै दसैँ आउन लाग्यो भन्ने थाहा हुन्थ्यो । बच्चा बेलाको दसैँको रमाइलोको माहोल हामीले टेलिफिल्म ‘दसैँ’मा देखाएका थियौँ । टेलिफिल्ममा त्यो बेलाको काठमाडौँ र त्यसभित्रको मार्मिकपन छ ।
हाम्रो मूल घर काभ्रे भए पनि दसैँचाहिँ काठमाडौँमा नै मनाउँथ्यौँ । काभ्रेबाट टीका लगाउन काठमाडौँमा आफन्त आउनुहुन्थ्यो । हाम्रो बसाइँ आधा काभ्रे, आधा काठमाडौँ हुन्थ्यो । अहिले आफ्नो मनले टीका लगाउने हो, आफूले टीका लगाइदिने हो । अहिले सानो र ठुलो जात नभनी समान रूपमा हरेक उत्सव मनाउँछौँ । दसैँ, तिहार, छठ, ल्होसार होस् या हरेक पर्व, जुन भौगोलिक हिसाबले फरकफरक रीतिरिवाजका छन्, ती पर्वहरू जोकोही नेपालीले मनाइरहेका छौँ ।
अहिले सबैले एकअर्काका संस्कृतिलाई सम्मान गरेको राम्रो पक्ष लाग्छ । अहिले दसैँको मौलिकता हराएको देख्दा दुःख लाग्छ । परिवार पनि विभाजित भयो । धरैजसो युवाहरू विदेशमा छन् । विदेशमा बस्ने युवाले पनि दसैँ त मनाउँछन्, तर उनीहरूको कुन बेला छुट्टी पर्छ, त्यही बेला मनाउने हो ।
प्रतिक्रिया