
जनयुद्धका बेला दसैँ आएको र गएको पत्तै हुँदैनथ्यो : पम्फा भुसाल, उपाध्यक्ष, नेकपा (माओवादी केन्द्र)

केटाकेटीमा स्कुल कलेज पढ्दा दसैँमा घर जाने परिवारसँग मनाउने भन्ने हुन्थ्यो । रमाइलो लाग्थ्यो, बुबाआमा हुनुहुन्थ्यो । बुबाआमाको हातको टीका लगाइन्थ्यो । मामाघर गइन्थ्यो दक्षिणा पाइन्थ्यो । त्यो बेलाको दसैँको रौनक नै फरक थियो । अहिले पहिलाको जस्तो अझ केटाकेटी हुँदाको जस्तो रौनक छैन । बुबाआमा नभएपछि दसैँको महत्व पनि घट्दो रहेछ । चाडवाड आयो भनेर खासै तयारी गर्ने चलन छैन ।
समय बित्दै गयो जनयुद्धका बेला दसैँ आएको र गएको पनि पत्तो पाइएन । कहिले आयो, कहिले गयो, थाहै हुँदैनथ्यो । शान्ति प्रक्रियामा आएपछि, बुबाआमा हुनुहुन्थ्यो, पहिलो वर्ष दसैँ मनाउन गएँ । अहिले बुबाआमा हुनुहुन्न । दसँैको त्यति महत्व पनि छैन । दिदीबहिनी र भाइ जम्मा हुन्छौँ । कहिले कसकोमा कहिले कसकोमा आलोपालो खाना खान्छौँ । टीका लगाउँछौँ । दसँै भनेर विशेष केही हुँदैन । मैले दसैँको जमरा अहिलेसम्म राखेको छैन ।
पूजापाठ केही पनि गर्दिनँ । टीका त कार्यक्रमहरूमा पनि लगाइने भएकाले सामान्य रूपमा लगाउँछौँ । परम्परागत ढंगबाट पहिला पनि दसैँ भनेर केही गरिएन अहिले पनि गरिन्न । अहिले यो वर्ष त झन् मुलुक यस्तो विषम अवस्थामा छ । धेरै मान्छेको ज्यान गएको छ । धेरैको परिवार शोकमा छन् । मान्छेले यस्तो अवस्थामा दसैँ मनाउलान् पो कसरी भन्ने लागेको छ । देशभर विध्वंस भएको छ । कसैको मन रमाइलो छैन । यस्तो बेलाका दसैँ रमाइलो होला भन्ने लाग्दैन ।
दसैँ खुम्चिदै गइरहेको छ : डा. समीरमणि दीक्षित

केटाकेटी हुँदा दसैँ धेरै रमाइलो हुन्थ्यो । खुब चंगा उडाइन्थ्यो । मेरो त जन्मदिन पनि दसैँको १० दिन अगाडि महालक्ष्मी पूजाको भोलिपल्ट पर्ने भएकाले पनि मलाई दसैँ धेरै रमाइलो लाग्थ्यो । अहिले पहिलाको जस्तो चंगा उडाउने गरेको पनि देखिन्न । साथीहरूका बीचमा एकअर्काको चंगा लडाउने गरिन्थ्यो । अहिले त चंगा लडाउने साथी पनि छैनन् । एक्लै लडाउने कुरा भएन । चंगा नउडाएपछि दसैँ आएजस्तै लाग्दैन ।
पहिला दसैँमा घरमा खसी काट्ने आफन्तलाई बोलाएर खाने खुवाउने गरिन्थ्यो । आफन्तका बीचमा भेटघाट रमाइलो हुन्थ्यो । दसैँ आयो भनेपछि माहोल नै अर्कै हुन्थ्यो । परिवार पनि धेरै हुन्थे । दसैँमा आफन्तकोमा टीका लगाउन जान भ्याइनभ्याइ हुन्थ्यो । दक्षिणा पाइन्थ्यो, त्यो बेला पाउने दक्षिणाको खुब महŒव हुन्थ्यो । पहिला टीका लगाएर दक्षिणा पाइन्थ्यो रमाइलो लाग्थ्यो । अहिले आफ्नै पैसा जान्छ ।
हामीलाई खुब रमाइलो लाग्थ्यो घरमा खसी ढाल्ने रे भनेपछि दंग हुन्थ्यौँ । विभिन्न परिकारका खाना बन्थ्यो । अहिले घरमा खसी काट्न छोडियो । बाहिरबाट मासु ल्याएर खाइन्छ । दसैँ जस्तै लाग्दैन । अर्को कुरा अहिले धेरैका आफन्त विदेशमा छन् । नेपालमा भएकाहरू पनि दसैँ मनाउन विदेश जान पनि थालिसके । मेरा धेरै आफन्त विदेशमा छन्, उतै दसैँ मनाउँछन् । पहिलाको तुलनामा दसैँ खुम्चिँदै गइरहेको जस्तो लाग्छ । अर्थात् चाडवाड समयअनुसार रूपान्तरण भएको जस्तो लाग्छ । लाउने खाने, शैली पनि फेरिएको छ ।
मासु चिउरा खान दसैँ कुर्न नपर्ने भयो : ईश्वरी पौडेल, गृहणी

दसैँ आयो भनेपछि घटस्थापनासँगै नयाँ लुगा पाइन्छ भन्ने लाग्थ्यो । हाम्रो त घर रसुवा भएकाले चाइनाको बोर्डरबाट च्यांग्रा आउँथ्यो । च्यांग्रा आउने दिन बिहान घाँस काटेर बोर्डरमा गएर दिनभरी भातै नखाएर बस्थ्यौँ । त्यति बेलाको माहौल नै अर्कै हुन्थ्यो । नयाँ लुगा र चप्पल लगाउन पाइन्छ भनेर दंग पथ्र्यौं । अहिले त च्यांग्रा पनि कमै मात्रामा देखिन थाल्यो ।
खल्तीभरी चिउरा हालेर पिङ खेल्न जान्थ्यौँ । बच्चा बच्चा जम्मा भएर पिङ हाल्थ्यौँ ।
अहिले त पिङ देख्न पनि मुस्किल छ । दसैँ, दसैँजस्तै लाग्दैन । टीका लगाएर पाएको दक्षिणा साथीभाइ बसेर गन्थ्यौँ, कसको कति भयो भन्ने हुन्थ्यो । अहिलेका बच्चालाई पैसा लिन दसैँको दक्षिणा कुर्नु पर्दैन । घरमा दिनदिनै मासु र चिउरा हुन थाल्यो । अहिलेको दसैँ भनेको आफन्त बसेर रातो टीका लगाउने र फोटो खिच्ने मात्रै हुन्छ ।
अहिले दसैँ आएको हो र भन्ने लाग्छ । घटस्थापनापछि घर सिंगार्ने होडबाजी हुन्थ्यो । कसको घर राम्रो भन्दै हेरिन्थ्यो । घरमा रंग लगाउँथ्यौँ । रातो माटो, कमेरो खोज्न जान्थ्यौँ । अहिलेको दसैँ के दसैँ ! हामीले नयाँ लुगा लगाउन दसैँ नै कुर्नुपथ्र्यो, त्यो पनि दसैँको लुगा भनेर स्कुल ड्रेस किनिदिन्थे अनि स्कुल जाने, दसैँ मान्ने र मामाघर जाने एउटै लुगा हुन्थ्यो ।
टिपिकल नेपाली खाना खाने चलन हराएको छ : चन्द्र अधिकारी, प्रहरी निरीक्षक

हामी सानो छँदा दसैँ आएपछि धेरै रमाइलो हुन्थ्यो । दसैँ आएपछि खसी काट्ने भनेपछि हामी दंग पथ्र्यौं । नवमीमा सेलरोटी पाक्थ्यो । सेल खान पाउँदा धेरै रमाइलो लाग्थ्यो । नयाँ लुगा, जुत्ता लगाउन पाइन्छ भनेर खुसी हुन्थ्यौँ । हामी सानो हुँदा मिठो खान र नयाँ लुगा लगाउन चाडवाड नै आउनु पथ्र्यो र पनि चाडवाडको महत्व थियो । घरमा पाहुना आउँथे, आफन्त भेट्न पाएर रमाइलो लाग्थ्यो । अहिले त मिठो खान र राम्रो लगाउन चाडवाड कुर्न नपर्ने भएकाले पनि महत्व घटेको हो कि !
गाउँका सबैजना मिलेर पिङ हाल्थ्यौँ ।
सबै मिलेर काम गर्दा छुट्टै प्रकारको रमाइलो हुन्थ्यो । पिङ बनाउन गाउँका सबैको घरघरबाट बाबियो उठाउने चलन थियो । गाउँको माझमा पिपलको रुख थियो । त्यसमा पिङ हालेर खेलिन्थ्यो, गाउँका सबै भेला भएर विभिन्न खेल खेलाएर रमाइलो गरिन्थ्यो । कलेज पढ्दा पनि गाउँमा गएर, सबै मिलेर विभिन्न कार्यक्रम गथ्र्यौँ । त्यो बेलाको जस्तो दसैँको रौनक र रमाइलो अहिले कल्पना गर्नै सकिन्न । अहिले त सबैको जीवनशैली सहरीया भएको छ ।
एकले अर्कोलाई मतलब नगर्ने, सबै आफ्नै जीवन काममा व्यस्त हुने । सँगै भएर पनि एकको बारेमा अर्कोलाई थाहा नै नहुने । सबै मोबाइलमा व्यस्त हुने अवस्था छ । एउटै परिवारको पनि ५ जनासँगै बसे पनि सबै मोबाइलमा व्यस्त हुने अवस्था छ । खाना पनि सबैको एउटै रोजाइको नहुने । चाडवाड भनेपछि मादक पदार्थ सेवन गर्नैपर्ने सोचाइ बढेको छ ।
पहिलाको जस्तो चाडवाडमा टिपिकल नेपाली खान खाने चलन हराएको छ । पहिला जस्तो आफन्तबाट टीका लगाएर आशीर्वाद लिन पनि गाह्रो मान्न थालेका छन् । पहिलाजस्तो दसैँमा गाउँ जानेको संख्या घट्दै छ । पहिला त आफन्त सबैकोमा टीका लगाएर आर्शीवाद लिन जानै पर्ने हुन्थ्यो । अहिले त टाढा छ, खर्च बढी हुन्छ भनेर जान गाह्रो मान्ने पनि देखिन्छ ।
मामाघर नजिक भएको भए अलिक बढी पैसा कमाइन्थ्यो कि ! : दीपक विष्ट, खेलाडी

मेरो मामाघर घरबाट टाढा थियो । यसैले, बाल्यकालमा मलाई दसैँ मनाउन कञ्चनपुरस्थित घरबाट डडेल्धुरा जान गाह्रो थियो । मलाई ४–५ वर्षको उमेरदेखि दसैँ मनाएको याद छ, तर चाडपर्वमा मामाघर गएको सम्झना भने छैन । दसैँमा मामाघर नगए पनि मलाई घरमा हजुरबा र ठुलाबुबाहरूले टीका लगाइदिएर १–१ रुपैयाँ दिएको अझै मानसपटमा ताजा छ ।
यदि, त्यो बेला मामाघर जान पाएको भए दसैँमा अझ धेरै पैसा कमाइन्थ्यो कि भन्ने मलाई अहिले पनि लाग्छ । त्यो बेला अहिलेजस्तो सडक सञ्जाल जोडिएको थिएन । माघाघर टाढा थियो, यसर्थ दसैँमा जान सम्भव थिएन । त्यसैले, घरमै पाएको १ रुपैयाँले चित्त बुझाउनु पथ्र्यो । त्यो समयमा २–४ रुपैयाँ नै ठुलो पैसा थियो । त्यसले त्यो बेला ६ महिनासम्म मिठाइ–चकलेट खान पुग्ने गरेको थियो । मलाई त्यो बेला सधैँभरि दसैँ आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।
किनकि, दसैँमा मात्र नयाँ लुगा लाउन पाइन्यो, मिठो खान पाइन्थ्यो । हरेक दिन खसी–बोकाको मासु खान पाइन्थ्यो । म जन्मिएको गाउँ कञ्चनपुरको रैकवार बिचुवा (हाल कृष्णपुर नगरपालिका) हो । त्यहाँ थारू समुदायको बाक्लो उपस्थिति छ । उनीहरूले दसैँको समयमा लिंगे पिङ लगाउँथे । म पनि खेल्न जान्थे । म साथीसँग मिलेर कागजको चंगा बनाएर उडाउँथेँ ।
मेरो किशोरावस्थाको दसैँ पनि रमाइलो गरी नै बित्यो । १५ देखि १८ वर्षसम्मको समयमा ममा निश्चित साथीहरूको समूह बन्यो । महेन्द्रनगरमा आइएस्सी पढ्दाताका त मेरो ‘ग्याङ’ नै थियो ।
म त्यही समूहसहित धनगढीसम्म पुग्थे । त्यहाँ खसी बाजी राखेर भलिबल प्रतियोगिता गरिन्थ्यो । हाम्रो टिम पनि त्यसमा सहभागी हुने गथ्र्यो । सो बेला हामी दसैँको समयमा भारतसँगको सीमाना गड्डाचौकीदेखि टनकपुरसम्म पुग्ने गथ्र्यौँ । म जब १९ वर्षको भएँ तेक्वान्दोमा लागेँ । २० वर्षको उमेरमा २०५३ सालमा काठमाडौँ आएँ । राष्ट्रिय खेलाडी बने । सो समयमा दसैँकै बेला अन्तर्राष्ट्रिय प्रतियोगिता पर्ने गथ्र्यो ।
मसँग प्रतियोगितामा सहभागी भएकै कारण ५–७ वटा दसैँ नमनाएको निरश अनुभव पनि छ । खेलभरि त मतलब हुँदैनथ्यो । तर, खेल सकिएपछि भने दसैँ र घरको एकदमै याद आउँथ्यो । त्यो बेलाका दसैँ केबल क्यालेन्डरमा बिते ।
अहिले समयले कोल्टे फेरिसकेको छ । म अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को राष्ट्रिय टिम तयारीको निर्देशक छु । २ छोराको पिता बनेको मलाई अहिले दसैँ बाल्यकालमा जस्तो रमाइलो लाग्न छोडेको छ । अहिले व्यावहारिक बोझले गर्दा होला, दसैँ बाल्यकालको जस्तो रमाइलो त कहाँ हुन्छ र ! यद्यपि, दसैँ नेपालीहरू महान् चाड हो । आफ्नो गच्छेअनुसार मनाउनै पर्छ ।
प्रतिक्रिया