समाज र विज्ञानलाई आपसमा जोड्ने दसैँ

काठमाडौँ । सोह्र श्राद्धको समाप्ति र घटस्थापनाको सुरुआतसँगै यो वर्षको दसैँ सबैको घरमा भित्रिइसकेको छ । शिक्षा, रोजगारीलगायत कामले गर्दा घरदेखि टाढा पुगेका नेपाली समुदाय यतिबेला कोही घर पुगिसकेका, कोही बाटैमा छन् त कोही जाने सुरसार गर्दै छन् । १५ दिनसम्म मनाइने दसैँ कोजाग्रत पूर्णिमाको दिन समापन हुन्छ । यो समयावधि शोक र सूतक परेकाबाहेक परिवारका लागि उल्लास, खुसी, रमाइलो, भेटघाट, आशीर्वाद दिनेलिने विशेष दिन बन्छन् ।

दसैँ दैवी शक्तिबाट आसुरी शक्तिको पराजयका रूपमा मनाउने गरिन्छ । खास गरी देवी दुर्गासँगको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा ९ दिनसम्म अर्थात् नवरात्रभर दुर्गाका विभिन्न रूपको पूजा गर्ने गरिन्छ । जसअन्तर्गत दसैँको पहिलो दिन सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गरेर घटस्थापना गरिन्छ । सुख–समृद्धि र ऐश्वर्यदायक तथा मंगलकारी मान्यताअनुरुप घटको पूजा गर्नुले घरको सबै विपद्दायक तरंगहरू नष्ट भएर सुख, शान्ति र समृद्धि आउने धार्मिक विश्वास छ । दसैँको पहिलो दिन दुर्गाको शैलपुत्री स्वरूपको पूजाआराधना गरिन्छ ।

दसैँले एकअर्काप्रति सम्मान, श्रद्धाभक्ति देखाउने उदारता र दैवी शक्तिमाथिको आस्था र विश्वास बोकेको छ । टीका र जमरा लगाउनु अनि नवरात्रि मनाउनुले नै यो साधनाको पर्व हो भन्ने पुष्टि गर्छ

दोस्रो दिन भक्तहरूलाई सिद्ध र अनन्त फल दिने देवीका रूपमा देवी बह्मचारिणीको पूजा गरिन्छ । तेस्रो दिन अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने दुर्गा चन्द्रघण्टाको पूजा गरिन्छ । चौथो दिन मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डा, पाँचौँ दिन ज्ञान र विद्वताका लागि देवी स्कन्दमाता, छैटौँ दिन गुप्त रहस्यकी प्रतीक कात्यायनी देवी, सातौँ दिन उग्र स्वरूपकी सुख दायिनी देवी, आठौँ दिन सौन्दर्य र करुणामयी देवी महागौरी र नवौँ दिन सिद्धिधात्रीको पूजा गरिन्छ ।


उल्लास, मिलन, भेटघाट र मनोरञ्जनको पर्व


दसैँको सुन्दरता भनेकै खुसी, उल्लास, मिलन, भेटघाट र मनोरञ्जन हो । शिक्षण संस्था, निजी तथा सरकारी÷सार्वजनिक कार्यालय बिदा हुने भएकाले आमनागरिक दसैँ मनाउन घरघर पुग्छन् । रोजगारीका लागि विदेश गएका नेपालीहरू पनि दसैँ मनाउनकै लागि घर आइपुग्छन् । वैदेशिक रोजगारीका कारण रित्तिँदै गएका गाउँघर यो पर्वको आगमनसँगै केही समयका लागि भए पनि उल्लासमय बन्छन् । संस्कृतिविद् डा. गोविन्द टण्डन बडादसैँ अथवा विजयादशमीलाई नेपाली समुदायलाई जोड्ने पर्वका रूपमा चित्रण गर्छन् ।

उनी अनेकतामा एकताको आशा सबैले गरिरहेको अवस्थामा त्यो आशाको परिपूर्ति गर्ने माध्यम चाडपर्व नै रहेको बताउँछन् । ‘कुनै पनि राजनीतिवाद वा प्रतिवादबाट भन्दा पनि यसलाई हामीले संस्कृतिमा जोड्छौँ, धार्मिक आस्थामा जोड्छौँ । त्यसमाथि विजयादशमी वा बडादसैँ आफैँमा महत्वपूर्ण पर्व हो । यसमा आफ्नै मौलिकता छ, एकताको माध्यम छ र सामाजिक सद्भाव छ,’ उनी भन्छन्, ‘दसैँले एकअर्काप्रति सम्मान, श्रद्धाभक्ति देखाउने उदारता र दैवी शक्तिमाथिको आस्था र विश्वास बोकेको छ । टीका र जमरा लगाउनु अनि नवरात्री मनाउनुले नै यो साधनाको पर्व हो भन्ने पुष्टि गर्छ । कोही ठुलाबडा नातेदारसँग रिसइबी छ भने त्यो भूलेर ठुलाबडाको हातबाट टीका लगाउने चलनले पनि दसैँको महत्वलाई उजागर गरेको छ ।’

डा. टण्डनको अनुभवमा चाडबाडमा गरिने साधना भनेको ईश्वरप्रतिको भक्ति देखाउँदै सौर्य, शक्ति, उर्जा लिने माध्यम हो । ‘दसैँ कसैका लागि दशा र कसैलाई पर्व बनेको छ । हुनेखानेका लागि असाध्यै राम्रो छ, नहुनेका लागि दशा पनि बनेको छ । हामी दसैँका नाममा अथवा धर्मका नाममा पशुपन्छीलाई सिध्याइदिन्छौँ । आफ्नो खुसीका लागि पशुपन्छीलाई सिध्याउनु गलत काम पनि हो,’ उनी भन्छन् । संस्कृतिविज्ञ वीणा पौडेल पनि दसैँको प्रमुख पक्ष भनेकै सामाजिक पक्ष रहेको बताउँछिन् । उनको बुझाइमा दसैँ धार्मिक भएको भए विश्वभर यसरी फैलिँदैनथ्यो ।

‘सामाजिक पक्ष एकदमै महत्वपूर्ण भएकाले बाबुआमा, अग्रज अथवा राष्ट्र प्रमुखलाई मानेर हामी दसैँ मनाउँछौँ । अन्याय गर्ने, अत्याचार गर्ने, तोडफोड गर्ने मान्छेलाई कसैले मन पराउँदैन । जो सद्भाव गर्छ, जसले केही राम्रो काम गरेको छ । उसले नै हार्दिकताका साथ यो पर्व मनाउँछन् । यसमा रगतको नाता पनि जोडिनुपर्दैन ।

किनकि रगत नजोडिएको व्यक्ति र समुदायले पनि एकअर्कासँग खुसी साट्दै उल्लासपूर्वक मनाउँछन्,’ उनी भन्छिन् । दसैँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व बनिसकेको पौडेलको बुझाइ छ । एकअर्कासँग भेटघाट, भलाकुसारीको माध्यम पनि दसैँ बनेकाले अन्तर्राष्ट्रिय रूपमा पनि यस पर्वले दरिलो उपस्थिति जनाइसकेको पौडेलको अनुभव छ ।

वैज्ञानिक पक्ष

दसैँको पहिलो दिन अर्थात् घटस्थापनामा शक्तिपीठ तथा घरघरमा राखिने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायुको प्रतीक मानिन्छ । जमरालाई आयुर्वेदसँग पनि जोडिएको छ । बिहान शारीरिक व्यायाम गरेपछि जौ र गहुँको जमराबाट बनेको जुस पिउँदा रोगसँग लड्ने क्षमताको वृद्धि हुने र धेरै रोग निकोसमेत हुने शास्त्रमा उल्लेख छ । जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गडबडी, थाइरोइड, नसासम्बन्धी रोग, क्यान्सर, डाइबिटिजलगायतको निवारणमा सहयोग पुग्ने गरेको विज्ञहरूको बुझाइ छ । डा. टण्डन जमरामा राखिने जौलाई भगवद्गीतासँग जोड्छन् ।

‘जमरा जौबाट तयार हुन्छ । जौ प्राचीन समयदेखि नै पूजा वा पर्वमा अनिवार्य नै छ । भगवान श्रीकृष्णले भगवद्गीतामा अन्नहरूमा म जौ हुँ भन्नुभएको छ । जौको महत्व धेरै भएकाले यसबाट जमरा बनाइन्छ । जौ आयुर्वेदिक पनि हो । यसको गुणलाई जानियो भने त्यसको सौन्दर्य अरूमा पाइँदैन । त्यसैले घटस्थापनादेखि नै जौलाई पूजाअर्चना गरिन्छ, त्यो साधना पनि हो,’ उनी भनछन्डा ।

टण्डन जौलाई अन्य अन्नजस्तो बाहिर नराखिने बताउँछन् । ‘दसैँका बेला लगाइने जमराको पहेलो रंगको जुन सौन्दर्य छ, त्यसको महŒव नै अर्को छ । जमरा लगाउनु भनेको प्रकृतिलाई नेपालीहरूले कसरी उठान गरिरहेका छन् र कस्तो सौन्दर्यमा देखिन चाहन्छन् भन्ने कुरा प्रष्ट्याउँछ,’ उनी भन्छन् । संस्कृतिविद् पौडेल आयुर्वेदभन्दा एलोप्याथीले समाजमा प्रभुत्व जमाइरहँदा अहिले आयुर्वेद रिभाइभ भइरहेको बताउँछिन् ।

‘आयुर्वेद धेरै ठुलो चिज हो । यसले अन्न कसरी खाने, कसरी उमार्ने भन्ने सिकाउँछ । यसले अन्नलाई खान मात्र नभई कसरी सम्मान गर्ने भन्ने कुरा पनि सिकाउँछ । जमरामा जौको बियाँ मात्र देखिन्छ, त्यो होइन । त्यसमा देवत्व छ । त्यो प्रयोग भइसकेपछि त्यसलाई रसको रूपमा खाने, काँचो खाने, पकाएर खानेलगायत विविध विधान छन् । जमराले हाम्रा रोग निवारण गर्छ,’ उनी भन्छिन् ।

फरक रङका अक्षताको अर्थ

अक्षता अर्थात् क्षति नभएको । दसैँमा प्रायः नटुक्रिएको चामलको टीका लगाउनुपर्छ भन्ने परम्परागत मान्यता छ । परापूर्वकालमा धानबाट चामल निकाल्दा नटुक्रियोस् भनेर चन्दन घोट्ने काठले घोटेर चोखै सग्लो चामल निकालिने भए पनि अहिले भने खाने प्रयोजनका लागि ढिकी र मिलमा कुटाइएको चामलबाटै अक्षता बनाउने गरिन्छ ।

वर्तमान समयमा चामल टुक्रिएको अथवा नटुक्रिएको भन्ने हेरिँदैन । हिन्दु धर्मावलम्बीहरूले रातो र बौद्ध, किराँत धर्मावलम्बीहरूले सेतो टीका लगाउने मान्यता छ । तर, पछिल्ला दशकहरूमा भने बौद्ध, किराँत धर्मावलम्बीहरूले रातो टीका पनि लगाउने गरेका छन् । रातो रङ उत्तेजक, शृंगारका लागि उपयुक्त, सौभाग्यसँगै क्रान्तिकारीको प्रतीकका रूपमा पनि लिइने भएकाले रातो टीका लगाउने प्रचलन बढेको विज्ञहरूको बुझाइ छ ।

डा. टण्डन दसैँको समयमा अक्षताको माध्यमबाट अन्न नाश हुने गरेको आवाज उठे पनि त्यो नकारात्मक धारणा रहेको बताउँछन् । ‘अरू बेला खाना फाल्दा वास्ता गर्दैनौँ । हाम्रो शास्त्रले केही खाँदा एक अन्न गेडो पनि नफाल्नु भन्छ । किनभने एक अन्नका लागि पनि मान्छेले मिहिनेत गरिरहेको हुन्छ ।

अन्न भनेको ब्रह्मा हो । त्यसैले त्यो अन्नलाई नफाल, तिम्रो मिहिनेत र भगवानको कृपाले पाएको हो भनिन्छ,’ उनी भन्छन्, ‘हाम्रा पुर्खाहरू धेरै वैज्ञानिक र बौद्धिक हुनुहुँदोरहेछ । चामललाई अक्षताका रूपमा लगाउँदा धेरै खर्च हुन्छ भनेर हातले मुछेर थोरै चामल निधारमा लगाइदिनुहुन्छ । आलोचकले आलोचना गरेजस्तो धेरै अन्न पनि त नाश हुँदैन ।’

प्रतिक्रिया