
काठमाडौँ । दसैँमा के छ ? प्रश्न सुन्दा जति गहन लाग्छ, यसको उत्तर भने सहज छ । अर्थात् दसैँमा सद्भाव, मिलन, आशीर्वाद, भलाकुसारी अनि माया छ । वर्षमा एक पटक आउने विजयादशमी अथवा बडादसैँ नेपाली समुदायका लागि हर्षको उत्सव हो । शोकमा परेका परिवारले भलै टीका र जमरा नलगाए पनि मिष्ठान्न भोजन गरेर दसैँ मनाउँछन् ।
शोकमा नपरेका परिवारको दसैँ भने बृहत् नै हुन्छ । गाउँ अहिले गाउँ छैन । अर्थात् युवा पुस्ता बिदेसिएको छ, गाउँ बुढापाकाले धानेका छन् । गाउँमा बाटो पुग्यो, बाटोसँगै सवारीसाधन पुगे, इन्टरनेट पुग्यो, प्रविधि पुग्यो । तर, यी सुविधा उपयोग गर्ने जनशक्तिको अभाव खट्किरहेको छ । अर्थात् दसैँ दसैँजस्तो छैन ।

देशको अर्थतन्त्र रेमिट्यान्सले धानिरहँदा चाडपर्व त्यसबाट अछुतो छैन । अझ गाउँको दसैँको आर्थिक पाटो रेमिट्यान्ससँगै जोडिएको छ । प्रायः प्रत्येक घरका युवा बिदेसिएका छन् । उनीहरूले पठाएको पैसाबाटै चाडबाडको ‘जुगाड’ हुन्छ । आर्थिक जुगाडसँगै भित्रिएको प्रविधि र खाद्यान्नले दसैँको मौलिकता बिस्तारै संकटमा पर्दै गएको छ ।
हरायो साधना
बडादसैँ धर्मसँग जोडिएको पर्व पनि हो । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाएर दसैँ मनाउने प्रचलन छ । धार्मिक मान्यतासँग दसैँको महŒव जोडिए पनि पछिल्ला दशकमा यसको साधना पक्ष हराउँदै गएकामा संस्कृतिविज्ञहरूको चिन्ता छ । संस्कृतिविद् डा. गोविन्द टण्डन पछिल्ला पुस्तामा साधना हराउँदै गएकाले दसैँको मौलिकता गुम्दै गएकामा चिन्तित छन् ।
‘साधनाको पक्ष हराएन भने देशमा अध्यात्मवाद, नैतिकता र एकले अर्काप्रति माया गर्ने भाव रहन्छ । गत २४ भदौमा भएको जेनजी आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनी हेर्दा आध्यात्मिक पक्ष कमजोर भएर गइरहेको छ । नैतिकता र पवित्रतालाई जोगाउन हाम्रा शास्त्रले, ऋषिमुनिहरूले असल बन्न सिकाए । अहिले त अरूलाई चोर भन्दाभन्दै आफू पनि चोर बन्न थाले । हाम्रो मुख्य अध्यात्म र नैतिकता यसरी धराशायी भएर गइरहेको छ कि जसकारण साधना हरायो,’ उनी भन्छन् ।
डा. टण्डन धर्म र अध्यात्मलाई प्रोत्साहन नदिएर साधना हराएको बताउँछन् ।
‘बाहिरी पक्ष र देखावटी कुरालाई हामीले प्रोत्साहन दियौँ । भित्री अन्तरआत्मालाई प्रोत्साहन दिएनौँ । हाम्रो जीवनसँग धर्म अध्यात्म जोडिएको छ, नैतिक मूल्य मान्यता र मान्छेको चरित्र जोडिएको छ । तर, त्यसलाई पालना गर्नतर्फ अग्रसर भएनौँ । यसले ठुलो संकट पैदा भएको छ,’ डा. टण्डन भन्छन्, ‘यो संकटबाट उत्रिन चाडपर्वका सांस्कृतिक र राम्रा पक्षहरूलाई जोगाएर, बढाएर राख्नुपर्ने अवस्था छ । त्यो नजोगाउँदा नै हाम्रा सम्पदा, संरचना ध्वस्त भए । यो विध्वंश हेर्दा हामीमा बाहिरबाट नेपालीपन देखिए पनि भित्रचाहिँ नेपालीपन रहेनछ भन्ने थाहा भयो ।’
संस्कृतिविद् वीणा पौडेल समयअनुसार जुनसुकै चिजमा परिवर्तन भइरहे जस्तै बडादसैँमा पनि परिवर्तन हुँदै गएको दाबी गर्छिन् । पछिल्ला पुस्तामा धर्मशास्त्रको ज्ञानको अभावले पनि समस्या देखिएको उनको बुझाइ छ । ‘पछिल्लो पुस्तामा कति चिजहरू शास्त्रसँग सम्बन्धित, शास्त्रले निर्देशन गरेका कुराहरू, कुन पर्व केका लागि हो भन्ने ज्ञानको अभाव भयो । किनभने यी सबै पर्व धार्मिक र सामाजिक हुन् । यी कुरा वर्तमान पुस्तालाई गौण बन्यो,’ उनी भन्छिन्, ‘किनभने कुनै पनि चाडपर्वमा उत्सवपछिको कृतज्ञता, आफन्तसँगको रमाइलो भेटघाट, मनोरञ्जन सबै कुरा जोडिएको हुन्छ । अहिले नाटक र नाचगानलाई मनोरञ्जन मान्न थालियो । कृतज्ञता, भेटघाटभन्दा मनोरञ्जन बढी हावी भयो । जसकारण पनि दसैँको मौलिकता बिस्तारै गुम्दै गयो ।’
फेरियो शैली
गाउँघरमा दसैँ भन्नासाथ बाटोघाटोको सरसफाइ, रोटेपिङ, विभिन्न खेल पहिलो प्राथमिकतामा पर्छन् । गाउँघरमा किसानले धान काटेर बाली भित्र्याएपछिको फुर्सदमा दसैँ मनाइन्छ । तर, अहिले गाउँघरमा युवा जनशक्तिकै अभाव छ । ‘हिजोजस्तो रोटेपिङ र विभिन्न किसिमका खेल खेल्न गाउँघरमा मान्छे पनि छैनन् । दसैँ भन्नासाथ घर सफा गर्ने, कोठा सजाउने, बाटोघाटो सफा गर्ने, हरेक कुरा हुन्थ्यो । अहिले त्यो छैन । हरेक कुरामा परिवर्तन त चाहिन्छ नै, तर परिवर्तनका नाममा विकृति नफैलियोस् भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ,’ डा. टण्डन भन्छन् ।
डिजिटल प्रभाव
विश्व डिजिटाइज भइसकेको छ । अझ भनौँ एआईमैत्री बनिसकेको छ । आफूले दिएको कमान्डअनुसार एआईले नै सबै काम गरिदिन्छ । अहिले यही प्रविधि र डिजिटल माध्यमले पनि दसैँको मौलिकतालाई बिस्तारै क्षयीकरण गर्न थालेको छ । तर डा. टण्डन प्रविधि र डिजिटल प्लेटफर्मका कारण दसैँको मौलिकता हरायो भन्ने कुरालाई नकार्न नसकिने स्वीकार्छन् । ‘युवा पुस्ताका लागि विभिन्न डिजिटल प्लेटफर्म होला । दिदीबहिनीका लागि युट्युबमा हेरेर सेल बनाउने, प्रोग्रामिङ गर्ने, सामग्री बनाउने भन्ने होला ।
सामाजिक सञ्जालमा एकैचोटि यति धेरै एप्स र सुविधा राखिएका छन् कि कसैलाई केही किनमेल गर्नुप¥यो भने मोबाइलबाटै छानेर अर्डर गरेर बस्छन् । फेसबुक, भाइबर, ह्वाट्सएपबाट संसारका जहाँ पनि तुरुन्तै जोडिन सकिन्छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालको सदुपयोगबाट हाम्रा चाडपर्वको महŒव दर्साउने, राष्ट्रप्रेम जगाउने, पारिवारिक माया मोह विभिन्न विषयलाई उजागर गर्न सकिन्छ । विदेशमा बस्ने नेपाली समुदायलाई गच्छेअनुसार चाडपर्व मनाउन प्रोत्साहन त गर्न सकिन्छ, तर प्रतिस्पर्धाका कारण त्यो सम्भव देखिँदैन ।’
संस्कृतिविद् पौडेल डिजिटल प्रभावका कारण विशेषतः युवा पुस्तामा खोज र अनुसन्धानको कमी हुँदै गएको बताउँछिन् । उनका अनुसार आफूभन्दा अग्रजले धर्म, संस्कृति, शास्त्रका बारेमा केही तर्क गरेमा त्यसको अन्तर्य नबुझी प्रतिक्रिया दिने युवा पुस्ताको बानीले समस्या निम्तिएको छ । ‘जहाँ जे भेटिन्छ अथवा बाहिर जे देखिन्छ, त्यहीअनुसार व्यवहार गर्ने चलन छ । अहिले दसैँबारे थाहा पाउन शास्त्र अध्ययन गर्नुको साटो टेलिभिजनमा सिरियल र फिल्म हेर्ने चलन छ । विभिन्न गीत बनेका छन्, त्यसैका आधारमा धारणा राख्छन् । उनीहरूमा गहिरो अध्ययन हुँदैन,’ उनी भन्छिन् ।
अग्रजका कुरा नसुन्ने प्रवृत्ति
संस्कृतिविद् पौडेल आफ्ना अग्रजको कुरा नसुन्ने प्रवृत्तिले पनि चाडपर्वको मौलिकता र त्यसप्रतिको आस्था घट्दै गएको गुनासो गर्छिन् । ‘अहिलेको डिजिटाइज्ड पुस्ताका मान्छेहरू लामो बोलेको सुन्न चाहँदैनन् । १–२ मिनेट बोलेपछि झर्को लाग्न थाल्छ । कसैले बोल्यो भने त्यो विषयसँग ऊ कति नजिक छ भनेर त्यसको अनुमान लगाउन सक्दैन । जसले जे बोल्यो, त्यही ‘सही’ ठान्छ । ‘सही’ ठानेर हिँड्ने प्रवृत्तिले समस्या ल्याइदियो,’ उनी भन्छिन् ।
प्रतिक्रिया