
काभ्रे । बेथानचोक गाउँपालिका–४ सोली थुम्कामा निर्मित सिद्धेश्वर महादेव मन्दिर शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले मन्दिरको औपचारिक उद्घाटन गर्दै स्थानीय धर्म, संस्कृति र सम्पदाको संरक्षणमा गाउँपालिकाको निरन्तर प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत १२ लाख रुपैयाँ लागतमा बनेको मन्दिरमा १ लाख १६ हजार रुपैयाँ मूल्यको चतुर्मुख शिवलिंग स्थापना गरिएको छ । उक्त शिवलिंग स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
सम्पदा संरक्षणमा सामूहिक हातेमालो आवश्यक
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले गाउँपालिकाले बनाएका सम्पदा जोगाउन स्थानीयको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै सम्पदा संरक्षण र संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे ।
वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले विपत्तिपछि बेथानचोक फेरि उठ्दै गएको उल्लेख गर्दै विकास निर्माणको गति अझ तीव्र हुने विश्वास व्यक्त गरे ।
वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर तामाङले बहुजाति–बहुभाषीको बसोबास रहेको यस क्षेत्रमा मठ–मन्दिर र गुम्बाको उल्लेख्य संख्या भएकोले धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको बताए । असार महिनामा आएको बाढीपहिरोले वडा नं. ४ लाई ठूलो क्षति पुर्याए पनि जनताले महसुस गर्ने गरी विकासका काम अघि बढाउने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा वडा सदस्य दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दीपक प्रसाद हुमागाईं, दलीय प्रतिनिधि प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया